जंकफुडको उपभाेग : कति लाभ, कति हानि ?

कोटेश्वर, काठमाडौं बस्ने मीरा बस्नेत उनका १० वर्षे छोरालाई खाजाका रूपमा दिनहुँजसो नै चाउचाउ खुवाउँछिन् । काममा व्यस्त हुने भएकाले उनी अरु खाजा बनाइदिन भ्याउँदिनन् । त्यसैले छोरालाई खाजा खुवाउन चाउचाउ नै पहिलो रोजाइमा पर्छ । मीराले भन्छिन्– ‘काममा जानुपर्छ, खाजा बनाइदिनै भ्याउँदिन अनि चाउचाउ नखुवाएर के गर्नु ?’

मीरा मात्रै होइन, बबरमहलकी रेखा भट्टराईको पनि समस्या उस्तै छ । उनी पनि आफ्ना छोराछोरीलाई दैनिकजसो चाउचाउलगायतका जङ्क फुड नै खान दिन्छिन् । छोराछोरीलाई पनि घरमा बनाएका खाजाभन्दा चाउचाउ, बिस्कुटजस्ता रेडिमेड खाजा नै मन पर्छन् ।

मीरा र रेखाका बालबच्चा मात्र होइन, सहरी क्षेत्रमा बस्ने धेरै बालबालिका नियमितजसो जङ्कफुड नै खाजा खान्छन् । सहरमा मात्र होइन, गाउँघरमा समेत आजकाल व्यावासयिक रूपमा उत्पादन गरिएका रेडिमेड खाद्य पदार्थ जताततै र प्रशस्तै पाइन्छन् । यस्ता खाद्य पदार्थ बालबालिकाकै लागि भनेर विशेषरूपमा उत्पादन गरिएको भने कहीं–कतै पाइँदैन ।

त्यसैले बालबालिकामा कुपोषणको समस्या निम्तन सक्नेतर्फ सचेत गराउँछन् पोषणविदहरू । पर्याप्त मात्रामा पोषणयुक्त खानपानको अभावमा बालबालिका कुपोषणको शिकार हुने गरेको ‘बलियो नेपाल’ पोषण अभियानका प्रमुख कार्यकारी अधिकृत एवं पोषणविद डा. अतुल उपाध्याय बताउँछन् ।

जङ्क फुडमा सूक्ष्म पोषण–तत्त्व नपाइने भएकाले बालबालिकामा कुपोषणको समस्या दिनानुदिन बढ्न थालेको उनको तर्क छ । पोषणविद्का अनुसार चाउचाउ, चिप्सजस्ता जङ्क फुडमा क्यालोरी पाइन्छ तर आवश्यक सूक्ष्म पोषण–तत्त्वको अभावका कारण बालबालिकाले यस्ता खानेकुरा कम खानु नै उचित हुन्छ ।

बालबालिकामा दैनिक आवश्यक क्यालोरीमध्ये बजारमा पाइने यस्ता रेडिमेड खाद्य पदार्थबाट करिव २५ प्रतिशत क्यालोरी मात्रै पाइने गरेको पोषणविद्को भनाइ छ । विशेषज्ञका अनुसार व्यावसायिकरूपमा यसरी उत्पादन गरिएका जङ्क फुड दैनिक खाने बालबालिकामा होचोपनाको समस्या बढी देखिन्छ । सूक्ष्म पोषण–तत्त्वकै अभावका कारण यस्ता खाद्य पदार्थले कुपोषण बढाउने सम्भावना प्रबल छ ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आयोडिन, आइरन, भिटामिन ‘ए’, क्याल्सियमजस्ता सूक्ष्म पौष्टिक तत्त्व चाहिन्छ । तर, प्याकिङ गरिएका जङ्क फुडमा यस्ता पौष्टिक तत्त्व नहुने पोषणविद् भुपाल बानियाँ बताउँछन् । बालबालिकाले नियमित रूपमा यस्ता खाद्य पदार्थ खानाले उमेर बढ्दै जाँदा विभिन्न रोग लाग्नुका साथै हृदयाघातको समेत सम्भावना हुन्छ ।

यस्ता छन् समस्या

नेपालको सन्दर्भमा खाद्य पदार्थको अभावका कारण कुपोषणको समस्या हुने समस्या एकातिर छ भने अर्कोतर्फ भएका खाद्य पदार्थ पनि राम्रोसँग बनाएर बालबालिकालाई खुवाउन नजान्दा बालबालिका कुपोषणको मारमा पर्ने गरेको डा. उपाध्याय बताउँछन् ।

गाउँ–सहर दुवै क्षेत्रका बालबालिकामा कुपोषणको समस्या देखिएको पोषणविद् बताउँछन् । काठमाडौं उपत्यकाका ७ सय ५० बालबालिकामा गरिएको अध्ययनमा दुईतिहाई बालबालिकाले रेडिमेड खाद्य पदार्थ खाने गरेको पाइएको डा. उपाध्यायले बताए । सामान्यतः गाउँघरमा हुर्किएका बालबालिका दुब्लो र होचो हुने (कुपोषणको समस्या) र सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा मोटोपनको समस्या बढी देखिएको पोषणविद् बानियाँ बताउँछन् ।

सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा जङक फुड खानाले यस्तो समस्या बढी भएको देखिन्छ । दैनिक बढी मात्रामा क्यालोरियुक्त खाद्य पदार्थ खानाले बालबालिकाको उमेर बढ्दै जाँदा सुगर, रक्तचापजस्ता समस्या निम्तन सक्नेतर्फ पोषणविद् सचेत गराउँछन् ।

‘हरेक बार खाना चार भन्ने नारा, नारामा मात्रै सीमित देखिन्छ,’ डा. उपाध्यायले भने– ‘जनचेतनाकोे अभावमा यो नारा प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।’ सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर बालबालिकामा हुने कुपोषणको समस्यालाई कम गर्न सक्ने उनी बताउँछन् ।

अभिभावक नै बालबालिकाको स्वास्थ्यमा बढी सचेत हुनुपर्ने पोषणविद्को सुझाव छ । छिटो–मिठोका लागि गुणस्तर नै नहेरी बालबालिकालाई खाद्य पदार्थ खुवाउनु नहुने उनीहरूको भनाइ छ ।

आमा नै हुनुपर्छ सचेत

गर्भवती महिलाले पोषणयुक्त खानपानमा जोड दिनुपर्ने पोषणविद्को सुझाव छ । गर्भवती अवस्थामा महिला कुपोषित भएको खण्डमा त्यस्ती महिलाबाट जन्मिएका बच्चा पनि कुपोषित हुने सम्भावना प्रबल भएकाले पोषणयुक्त खानपानमा ध्यान दिनु अत्यावश्यक हुन्छ । अर्को वङ्श समेत कुपोषित हुने भएकाले पोषणयुक्त खानपानमा सचेत हुन गर्भवती महिलालाई पोषणविद् बानियाँको सुझाव छ ।

नेपालका गण्डकी, वागमतीजस्ता प्रदेशमा ३० प्रतिशतको हाराहारीमा बालबालिका कुपोषणको समस्यामा परेका छन् । त्यसैगरी, औसत ३६ प्रतिशत बालबालिका कुपोषणको समस्यामा रहेको पोषणविद् बताउँछन् । नेपालका करिव ४० प्रतिशत घरमा कुनै न कुनै हिसाबले पोषणको अभाव भएको पाइएको पोषणविद्को भनाइ छ ।

यसरी हुन्छ खानपान सन्तुलित

बालबालिकालाई माछा–मासु, भात–दाल, गेडागुडी र हरिया सागपात तथा फलफूल सन्तुलितरूपमा खुवाउन बानियाँको सुझाव छ । तौल कम भएका बालबालिकाले माछा–मासु र दूध–दही, घ्यु सन्तुलितरूपमा खानुपर्छ । तौलको कमी र पुड्कोपनको समस्या भएकाले भिटामिन तथा खनिज पदार्थ सन्तुलितरूपमा खानुपर्ने पोषणविद्को सुझाव छ ।

पोषणविद्का अनुसार बालबालिकामा उमेर अनुसारको उचाइ हुनु आवश्यक छ । उमेरअनुसार उचाइ नभएका बालबालिकालाई पछि पोषणयुक्त खानपान गराएर पोषणको परिपूर्ति गरी उचाई बढाउन मुश्किल पर्छ । उमेर अनुसारको मोटाइ नभएका बालबालिका पौष्टिक तत्त्व भएका खानपान गराउँदा मोटोघाटो बन्न सहजता हुन्छ ।

स्वस्थ रहनका लागि विशेषगरी आमा र बालबालिकाले पोषणयुक्त खानपान गर्नुपर्छ, माछा–मासु खानुपर्छ । सन्तुलितरूपमा अण्डा तथा माछा–मासु नखाँदा कुपोषणको सम्भावना हुने भएकाले सन्तुलितरूपमा यस्ता खाद्य पदार्थ खान चिकित्सकको सुझाव छ ।

बालबालिकालाई खानपान गराउने तरिका

डा. उपाध्यायका अनुसार ६ महिनासम्मका शिशुले आमाको दूध खाए पुग्छ । आमाको दूध स्वस्थकर र पोषणयुक्त हुन्छ । ६ महिनाभन्दा साना शिशुलाई आमाको दूधबाहेक गाईको दूध, ल्याक्टोजिनजस्ता बाह्य खाद्य पदार्थ सकेसम्म नखुवाउनु नै उचित हुने पोषणविद्को सुझाव छ ।

शिशु ६ महिनाको भएपछि ९ महिनासम्म दैनिक तीन पटक खानपान गराउनुपर्छ; स्तनपान त छुटाउनै हुँदैन । ९ देखि १२ महिनासम्मका शिशुलाई दैनिक चार पटक खानपान गराउनुपर्ने हुन्छ । सामान्यतः १२ देखि २४ महिनाका शिशुलाई दैनिकरूपमा तीन पटक खाना र दुई पटक खाजा खुवाउन पोषणविद्को सल्लाह छ ।

‘ठूला’ दल : महिला उपस्थिति दयनीय

आन्दोलनका बेला महिला नेतृत्व विकासको नारा लगाएर नथाक्ने राजनीतिक नेपालमा ठूला भनिएका राजनीति दलको व्यवहारमा भने कहीँकतै लागू हुन सकेको देखिँदैन । दलीय राजनीतिमा होस् वा सरकार निर्माणका बेला होस् महिला नेतृत्व विकासको विषय नारामा मात्रै सीमित भएको देखिन्छ । हाल भएका/भैरहेका ठूला दल प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको अधिवेशनले पनि सोही कुराको पुष्टि गरेको छ । संविधानमै ३३ प्रतिशन महिलाको अधिकार सुनिश्चित गरेको भए पनि दलहरूले त्यतातर्फ पटक्कै चासो दिएको पाइँदैन ।

कांग्रेसको पालिका अधिवेशन भएजति स्थानलाई हेर्दा महिला नेतृत्व तुलनात्मक रूपले शून्यप्रायः नै देखिन्छ । कांग्रेस बाग्लुङले दशवटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको र एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा नल्याउ नसकेको प्रतिनिधिमूलक उदाहरणलाई लिन सकिन्छ । दलहरूले नै आफ्नै पार्टी संरचनामा महिलाको नेतृत्व पुर्‍याउने चाहना नराखेकाले पनि संविधानले प्रत्याभूत गरेको कोटा समेत पुग्न सकेको छैन ।

मुलुकभर जारी नेकपा एमालेको पालिका अधिवेशनमा पनि सबै स्थानीय तहको प्रमुख नेतृत्वमा महिला ल्याउन सकेको देखिँदैन । कांग्रेस र एमाले दुवैले दलका विधानमा उल्लेखित ३० देखि ४० प्रतिशत महिला हुनुपर्ने भए पनि आफ्नै विद्यान विपरीत नेतृत्व चयन गरिरहेका छन् ।

‘महिला प्रमुख हुन विधानमानै तोकिनुपर्ने हो र ? खै त नेतृत्वको सोच ?’ एमाले बागलुङकी क्रियाशील नेतृ ममतादेवी शर्माले सामाजिक सञ्जालमा प्रविष्ट गरेको विचारले प्रस्ट हुन्छ महिला नेतृत्वमा आउन चाहन्छन् तर वातावरण छैन् । अखिल नेपाल महिला संघ बागलुङकी संयोजक सावित्रा रानाले महिला नेतृत्वमा आउने वातावरण नै तयार नभएको बताइन् । नेतृत्वमा ल्याउनका लागि पहिलेदेखि नै महिलाका लागि राजनीतिमा सहज वातावरण बनाउनुपर्ने उनको तर्क थियो ।

नेतृत्व पाइएन भन्ने मात्रै होइन त्यो खालको वातावरण पनि बनाउन आवश्यक रहेको भुक्तभोगी महिलाहरू बताउँछन् । राजनीतिमा आफूले जसरी पूरा समय महिलाले दिने र लाग्ने वातावरण बनाउन राजनीतिकमै सक्रिय व्यक्तिहरू समेत अग्रसर हुन नसक्दा महिलाहरूले सधैं ओझेलमा पर्नु परको उनीहरूको गुनासो छ । महिलाको नेतृत्वमा उपस्थितिको विषयमा पुरुषले पनि आवाज उठाउनु आवश्यक छ । मञ्चमा गुलिया र चिल्ला भाषण गरेर मात्र होइन दलका सहकर्मी पुरुषहरूले भालेजातिको अहंकारलाई त्याग गरेर महिलालाई समान प्रतिपर्धी बनाउन तत्पर हुनुपर्ने देखिन्छ भने महिलाहरूले पनि कसैको आड–भरोसा र दयामा होइन मुख्य पदको दाबेदार भएर अधिकार खोज्ने हिम्मत गर्नुपर्छ ।

कसैको अनुहार हेरेर र यसो कोटा पुर्‍याउने भन्दा पनि समान हैसियतको प्रतिस्पर्धीको रूप दलहरूले नै महिला नेतृत्वको विकास गराउन नसक्दा संविधानतः स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यात्मक व्यवस्थालाई लागू गर्न असमर्थ देखिएका हुन् । पुराना र आफूलाई ठूला भनाउने काँग्रेस र एमालेको स्थानीय अधिवेशनमा समेत कागजमा एकथरी, मैदानमा अर्कोथरी उम्मेदवार खडा गरिएका पार्टी मिलेर चुनावी मैदानमा जाँदा उम्मेदवारी कायम रहेका महिलालाई मत नमागेको र कानूनी अड्चन नआउनेगरी उम्मेदवारी फिर्तादेखिसम्मका भएपछि लामो संघर्षपछि प्राप्त ३३ प्रतिशत अधिकार समेत कानूनमै मात्र सीमित बन्ने भएको हो ।

वडा र पालिका अधिवेशनमा मात्रै होइन पदाधिकारीमा समेत महिला शून्यप्राय भएपछि महिलाले नेतृत्व नपाएको असन्तुष्टि यत्रतत्र पोखिए पनि जाने ठाउँ नभएको सम्बन्धीत दलका महिलाहरूको गुनासो छ ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११–१३ मा काठमाडौंमा

पुस ११ देखि १३ गतेसम्म काठमाडौं नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन हुने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सो पार्टीको पछिल्लो स्थायी समितिको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई÷दुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।

सोही बैठकले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीस्वरुप पार्टीले सांगठनिक कामलाई तीव्रता दिएको छ ।

‘माओवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयमा बाहिर सार्वजनिक भएजस्तो आफ्नो दलले उक्त विषयमा राष्ट्रिय सहमति कायम नभइकन र सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ’– बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता महराले भने ।

सोही बैठकले सांगठिन विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए । प्रदेश पदाधिकारीको टुंगो लगाउने विषयमा पनि छलफल गरिएको महराले जनाए । यस्तै सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यसँग परामर्श गरेर पदाधिकारी टुंग्याउने निर्णय गरेको पनि प्रवक्ता महराले बताए ।

चुनावको हतारो ओलीलाई नै अझै ?

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष खड्गप्रसाद ओली बारम्बार जनमत प्राप्त गर्ने र जनतामा जाने कुरा दोहोर्‍याइरहन्छन् । आफू छिटोभन्दा छिटो चुनावमा जान चाहेको तर अरुहरू भने डराइरहेको उनको जिकिर छ । दिनहुँ कयौं पटक चुनाव–चुनाव भन्दै मन्त्र जपिरहे तापनि अब हुने चुनावमा सबैभन्दा ठूलो घाटा भने उनै ओली र उनको पार्टीलाई हुने कुरा निश्चित छ ।

यो यथार्थता बुझेका ओली वास्तवमा र यथार्थतामा भने आगामी चुनाव सकेसम्म पछि धकेल्न चाहन्छन् । किनभने, यतिबेला ओली नेतृत्वकै पार्टी अर्थात् नेकपा (एमाले) संसद्को सबैभन्दा ठूलो दलका रूपमा हाजिर छ । अब जुनसुकै मितिमा अर्थात् ढिलो–छिटो जहिले चुनाव भए तापनि सो चुनावले ‘ठूलो दलको पगरी’ ओलीबाट थुतेर अर्कै कसैलाई पहिर्‍याइदिने हो । दुई ठूला ‘वाम’ दलबीचको गठबन्धनको आडमा प्राप्त गरेको ठूलो दलको हैसियतलाई चरम दुरुपयोग गरेर र आफ्नो नालायकी एवम् अक्षमता प्रस्तुत गरेर एमाले अध्यक्ष ओलीले आफू र आफ्नो पार्टीप्रति विगतमा कायम रहेको जनसहानुभूति, अपेक्षा, भरोसा र विश्वास टुटाइसकेका छन् । अझ ठूलो कुरा त उनको पार्टी नै दुई फ्याक भएर फुटिसकेको छ । यस्तो स्थितिमा हुने चुनावबाट एमाले पहिलो वा ठूलो दल बन्ने कुरा कसैले पनि कल्पना गर्न सक्दैन । आफ्नो पंक्तिलाई भ्रममा राखेर न्युट्रल मासलाई प्रभावित तुल्याउँदै धेरथोर अस्तित्व जोगाउने मनशायका साथ ‘ताजा जनादेश हासिल गरेर मूल ढोकाबाटै सिंहदरबार भित्रने’ अफवाह फैलाइरहनु बेग्लै कुरा हो ।

बरु प्रतिनिधिसभा र प्रदेशसभाको यही कार्यकाल जति दिन थप लम्बिन्छ, ओली र एमालेको ‘ठूलो पार्टी’ को हौवा उति नै दिन लम्बिन्छ । यस अर्थमा ओली तत्काल चुनाव किमार्थ चाहँदैनन्; त्यो त उनको दोष, अवगाल, आरोप र मिथ्या प्रचारबाजी अर्काका थाप्लामाथि थोपर्ने बहाना मात्र हो । अझ तत्कालै चुनाव हुने हो भने ओलीलाई विस्थापित गर्ने सिलसिलामा बनेको पाँचदलीय गठबन्धन बलियो नै रहेकाले एमालेलाई झन् ठूलो नोक्सान हुने छ । बरु चुनाव अलि पछि नै हुने भएमाचाहिँ गठबन्धनभित्र खटपट बढ्न, तिक्तता जन्मन–हुर्कन र गठबन्धन टुट्न समेत सक्ने सम्भावना रहन्छ । गठबन्धन टुटेको स्थितिमा चुनाव भयो भने ठूलो दल बन्न नसके तापनि ओली नेतृत्वको एमाले धेरथोर ‘लाज ढाक्न’ समर्थ हुने स्थिति बन्न सक्दछ ।

यस हिसाबले भित्री अन्तर्यमा पुगेर विश्लेषण गर्दा छिटो चुनाव चाहिएको ओली र एमालेलाई होइन; ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको गठबन्धनलाई चाहिँ हो । तर, वर्तमान संविधानले नै प्रतिनिधिसभा र प्रदेशसभा पूरा कार्यकाल चल्नुपर्ने, अवधि बाँकी छँदै विघटन गर्न नमिल्ने व्यवस्था गरेको र सर्वोच्च अदालत समेतले दुई–दुई पटक सोहीअनुरूप व्याख्या समेत गरिसकेकाले निर्धारित मितिअघि चुनाव हुने कुनै सम्भावना देखिँदैन ।

‘स्थिर सरकारका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’ : डा. भट्टराई

जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकाको घैरुङमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर चाहिँ बन्न नसक्ने बताएका हुन् ।

‘संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन,’ उनको भनाइ छ– ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृृद्धि पनि हुँदैन ।’

माओवादीलगायतका दलहरूले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै डा. भट्टराईले अहिलेको संविधान पूर्ण नभएको दावी गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन । संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ ।’

वर्तमान नेपालको संघीयता आफूहरूले खोजेको जस्तो संघीयता नभएको उनको भनाइ थियो– ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, संघीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमांकन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र संघीयता होइन ।’

यस्तै अर्को प्रसंगमा हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभई पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने डा. भट्टराईको भनाइ थियो । ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔं, माओवादीको हिजोको विचारले मात्र पुग्दैन’ उनले भने– ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो ।’

‘खुद्रा छैन’ भन्दै बढी भाडा असुल्दै

वाग्मती प्रदेश सरकारले कात्तिक १ देखि लागू हुनेगरी निर्धारण गरेको न्यूनतम भाडादर कार्यान्वयन गराउनेतर्फ सरकारी अनुगमन हुन नसक्दा यातायात व्यवसायी र कर्मचारीको मिलोमतोमा मनपरी चलिरहेको यात्रुको गुनासो छ । तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको बताए पनि उनीहरूले खुद्रा छैन भन्दै यात्रुलाई ठग्ने क्रम नरोकिएको यात्रुहरूको गुनासो छ ।

पछिल्लो पटक सरकारले न्यूनतम भाडा १८ रुपैयाँ निधारण गरेपछि यातायात कर्मचारीहरूलाई खुद्रा छैन भनेर २९ रुपैयाँ असुल्न सजिलो परेको यात्रुहरूको गुनासो छ । महाशाखाका सहायक प्रवक्ता सन्तोष रोक्काले जानकारी दिएको जानकारीअनुसार २३ रुपैयाँ भाडा तोकिएका स्थानमा पनि खुद्रा छैन भन्दै सार्वजनिक यातयातका परिचालकले २५ रुपैयाँ लिने गरेको भेटिएको हो । प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा वृद्धि गर्ने निर्णय गरेपनि सार्वजनिक यातायात चार किमी दूरिमै २५ भाडा लिने गरेको यात्रुको गुनासो छ । चार किमीमा १८ भाडा सरकारले तोकेको छ ।

बढी भाडा लिएको पुष्टि हुने भएपछि यसअघि देखि नै स्थानीय मार्गमा सार्वजनिक यातायातले टिकट नदिने गर्दै आएका छन् । साझा यातायातले भने काठमाडौं उपत्यकाभित्र पनि टिकट दिने गर्दै आएको छ । तोकिएको दरभन्दा बढी भाडा लिएको गुनासो बढे पनि सरकारीस्तरबाट कुनै चासो देखिएको छैन ।

यातायात व्यवस्था विभागमा अनुगमनका लागि छुट्टै गाडी र कर्मचारीको व्यवस्था भए पनि व्यवसायीसँगको मिलेमतोमा केही नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउँछन् । वाग्मती र प्रदेश नं १ सरकारले ढल्ने निश्चित भएपछि पछिल्लो पटक यातायात व्यवसायीको प्रभावमा भाडा वृद्धि गरेर यात्रुलाई दुःख दिने काम गरेको पोखरेलको भनाइ छ । सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने जनचासोको विषय उक्त निर्णय सच्याउनु पर्नेमा नयाँ सरकारको कुनै ध्यान जान नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

संघीय सरकारले ढल्ने निश्चित भएसँगै गत असार २७ गते लामो दूरीका सवारीको भाडा बढाउने निर्णय त्यसको दुई दिनपछि असार २९ गते बनेको पाँच दलीय गठबन्धनको नयाँ सरकारले नसच्याउँदा सर्वसाधारण यात्रु मर्कामा परिरहेको यात्रुहरूको गुनासो यत्रतत्र सुनिन थालेको छ ।

उता महाशाखाले भने तोकिए भन्दा बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको बताउँदै आएको छ । महाशाखाले पछिल्लो केही दिनयता दैनिकजसो १०–१५ वटा बढी भाडा लिने गरेको सार्वजनिक यातायातलाई कारबाही गरिरहेको बताएको छ । उपत्यकाभर जुनसुकै स्थानमा भए पनि बढी भाडा लिने सवारीको नम्बर महाशाखाको टोल फ्रि नं १०३ मा टिपाए कारबाही हुने पनि सहायक प्रवक्ता रोक्काले जनाए ।

‘अर्ली इलेक्सनको कुनै सम्भावना छैन’

सत्ताधारी दल नेपाली कांगेसका नेता प्रकाशमान सिंहले दुई÷दुई पटक विघटन शिकार भएको संसद अदालतले पुर्नस्थापना गरिदिएको भन्दै तुरुन्तै चुनावको सम्भावना नरहेको दावी गरेका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा बोल्दै गणेशमानकै छोरा समेत रहेका सिंहले संसद र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका हुन् ।

‘सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ’ भन्दै उनले पाँच दलीय गठबन्धन समन्वय समिति समेत आवश्यक नभएको दावी गरे । सिंहले गठबन्धन सरकारको मुख्य काम संविधानलाई सही दिशामा ल्याएर तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्नु रहेको पनि बताए ।

नेपाली राजनीतिका ६ दशक लामो भूमिका रहेका स्व. गणेशमानले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि महत्वपूर्ण रहेको चर्चा गर्दै सिंहले देशमा प्रजातन्त्र स्थापनाका लागि ठूलो योगदान दिएको बताए ।

पेटमा बोसो जम्नबाट बच्नोस् यसरी

रोग सङ्क्रमणको महामारीका बेला प्रायः घरमै बस्नुपर्ने भएकाले यस्तो बेला व्यायामको कमी हुनु स्वाभाविकै हो । व्यायामको कमीका कारण ज्यान भद्धा हुन सक्छ । ज्यानै भद्धा हुँदा पेट पनि भद्धा नहुने कुरै भएन । यस्तो समयमा घरबाहिर गएर व्यायाम गर्न पनि अनेकौं असहजता हुन्छन् । त्यसैले घरमै सहज तरिकाले व्यायाम गर्नु आवश्यक हुन्छ र यसो गर्न सकिन्छ ।

शरीरका विभिन्न अङ्ग तथा भागको जसरी नै पेटको पनि व्यायाम गर्न सकिन्छ । विभिन्न टेक्निक अपनाएर पेटको व्यायाम गर्नाले पेट भद्धा हुनबाट बच्न सकिन्छ । यस्ता व्यायाम गर्नाले पेटलाई स्वस्थ, फूर्तिलो तथा मजबुत राख्न मद्धत मिल्छ ।

खुट्टा चलाउने

पेटको व्यायाम गर्दा सुतेर सुरु गर्नु उचित हुन्छ । उत्तानो सुतेपछि खुट्टा हल्का गरी टाउकोतर्फ उचालिन्छ । खुट्टाले टाउकामा छुने कोशिश गरिन्छ । यो विधिमा सुतेर नै साइकल चलाए जसरी गोलाकाररूपमा खुट्टा चलाइन्छ । दुवै खुट्टालाई सँगसँगै वा पालैपालो विपरीत ढङ्गले तल–माथि गरिन्छ । साइकल चलाए जसरी नै दुवै खुट्टालाई एकै ठाउँमा जोडेर दुवै घुँडा छातीतिर लाँदै छोड्दै गरिन्छ । सुतेकै अवस्थामा खुट्टालाई कैंची आकारमा विपरीत दिशातर्फ दायाँ–बायाँ गरिन्छ । यस्ता किसिमका प्रत्येक व्यायाम ७–८ पटक गर्नु उचित हुन्छ ।

सुतेर गरिने यस्तो व्यायामले पेटमा चाप पारेर बोसो पग्लन सहज गराउँछ । यस्तो व्यायामको प्रतिफलस्वरूप पेटमा बोसोको मात्रा कम हुँदा माङ्शपेशी मजबुत भई पाचन प्रक्रियामा समेत सहजता हुन्छ, जसका कारण ग्याष्ट्रिकलगायतका पेटसम्बन्धी समस्याबाट बच्न मद्धत मिल्छ ।

शरीर मर्काउने

विभिन्न आसनमा बसेर व्यायाम गरी पेट घटाउन सकिन्छ । पलेंटी मारेर बसी कम्मर, पेट तथा हात हल्का गरी बटारेर मर्काउनाले पेटमा चाप परी पेट साइजमा आउँछ, जसले पेट भद्धा हुनबाट बच्न सकिन्छ । बसेकै अवस्थामा लामो सास लिँदै बिस्तारै छोड्नाले पनि पेटमा दवाब पुगी अनावश्यकरूपमा रहेको बोसोको मात्रा कम भई पेट ‘स्लिम’ हुन सहयोग मिल्छ ।

यो विधिमा बसेर नै देब्रे हातलाई कुमको पछाडि लगी दाहिने हातलाई ढाडबाट पछाडि हुँदै कुमबाट पछाडि लगिएको हातको औंलालाई छुने कोशिश गरिन्छ । सुरुमा सुस्त गरेर बानी परिसकेपछि चाँडो–चाँडो पनि गरिन्छ । पछाडि हात लाने व्यायाम दुवै हातले पालैपालो गर्न सकिन्छ ।

यस्तो व्यायाम गर्दा श्वास–प्रश्वासमा भने सहजता हुनुपर्छ; कुनै असहजता भए तुरुन्तै छाड्नुपर्छ । सास लिँदै सहजरूपमा छाड्नाले पनि पेटको व्यायाम पुग्छ । यस्तो व्यायाम करिव १० मिनेट गर्नु उचित हुन्छ ।

उभिँदै निहुरिँदै

यो विधिमा सिधा उभिएर बिस्तारै निहुरिँदै कुप्रो परेर दुवै हातले दुवै घुँडामा छुने कोशिश गर्दै हात सिधा उँभो लगिन्छ । अगाडि जसरी निहुरियो, पछाडि पनि त्यसैगरी सकेजति हात लगिन्छ । उभिएर पेटलाई पालैपालो दायाँ–बायाँ बटार्दै कम्मर मर्काइन्छ ।

यस्तो व्यायामले पेटमा दबाव परी माङ्शपेशी मजबुत हुन सहयोग मिल्छ, जसका कारण पेट सन्तुलित अवस्थामा आउन सहज हुन्छ । यस्तो व्यायाम बिहान र बेलुका गर्नु उचित हुन्छ ।
सन्तुलित खानपानशैली

व्यायाम गरिसकेपछि खानपानमा विशेष ध्यान दिनुपर्छ । व्यायाम गर्ने व्यक्तिले ओखर, काजु, बदामजस्ता पोषणयुक्त पदार्थ खानु राम्रो हुन्छ । दैनिक खानपान पनि सन्तुलित हुनु आवश्यक हुन्छ । हरियो सागसब्जी तथा पहेंला फलफूल र झोलिलो तथा पोषणयुक्त खानपान
गर्नुपर्छ ।