• सिरिया संकट : ‘हिंसापीडितलाई खाँचो मानवीय सहायता’

    एजेन्सी । |

    लामो समयदेखि हिंसा जारी सिरियाका हिंसापीडितलाई जाडो नजिकँदै गर्दा थप मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । यसअघि पनि राष्ट्रसंघले सिरियाको उत्तर–पश्चिमी क्षेत्रका लाखौं नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको बताएको थियो ।

    सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले बताए । सिरियाको उत्तर–पश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीको खाँचो रहेको पनि गिरिफिथले जनाएका हुन् ।

    उनले जाडो याममा यहाँका थप नागरिक संकटमा पर्नसक्ने भन्दै मानवीय सहायताको खाँचो रहेको बताए । यसअघि राष्ट्रसंघले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।

    मानवीय सहायता प्रमुख गिरिफिथले यहाँ एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताए । ती नागरिक सिरियामा करिब एक दशकको समयमा द्वन्द्वको चपेटामा परेका छन् । सिरियामा अहिले आर्थिक संकट थपिएकोले सिरियाका नागरिक खाना र बासकै समस्यामा परेका बताइएको छ ।

    ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्र पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्‍याउन सकिरहेको छैन । सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । हिंसाको चपेटामा परेको लाखौं नागरिक विस्थापित हुनपुगेका सिरियामा चार लाखभन्दा बढीले गृहयुद्धमा ज्यान गुमाइसकेका छन् ।