• प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधन

    ११ देखि १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली, २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार

    जनजिब्रो संवाददाता |

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ । राजधानीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान ८ः३३ बजे उनको निधन भएको हो ।

    ‘कार्डियक अरेस्ट’ का कारण सीताको निधन भएको अस्पतालले जनाएको छ । दुर्लभ रोग मानिने पीएसपीबाट लामो समयदेखि उनी पीडित रहँदै आएकी थिइन् । स्नायु प्रणालीमा असर गर्ने यस रोगका कारण सीता हिँडडुल गर्न समेत असमर्थ हुँदै आएकी थिइन् ।

    नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ देखि १ बजेसम्म कोटेश्वरको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।