नयाँ अर्थमन्त्री पौडेलका के–के छन् चुनौती ?

२०७२ मा संविधान जारी भएपछि भारतीय नाकाबन्दीका दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो र खड्ग ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले । विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था दशक यताकै सबैभन्दा बढी थलिएको परिस्थितिमा राम्रो छवि बनाएर निस्किए पौडेल ।

ओलीकै सरकारमा ५ वर्षपछि पौडेलले पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । तर, महामारीले अर्थतन्त्र धराशायी भएको पहिलेझैंकै चुनौतीपूर्ण कालखण्डमा । कोभिड– १९ ले दुई दशक यताकै खराब अर्थव्यवस्था सम्हाल्नुपर्ने जिम्मेवारी पौडेलको काँधमा आइलागेको छ । शैक्षिक योग्यता, आर्थिक क्षेत्रको विज्ञताजस्ता विषयलाई देखाउँदै उतिबेला धेरैले उनीमाथि अर्थ मन्त्रालय हाँक्न नसक्ने आशंका गरेका थिए । परिणाम ठीक उल्टो आयो । भूकम्पपछि ०.२ प्रतिशतमा झरेको आर्थिक वृद्धिदरलाई उनले ७.७४ प्रतिशतमा पुर्‍याएका थिए ।

पौडेल राजनीतिक समीकरण मिलाउन निकै सिपालु नेताका रूपमा चिनिन्छन् । रूपन्देहीमा तत्कालीन एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई हराएपछि उनी चर्चामा आएका थिए । नेकपामा महासचिवजस्तो उच्च पदमा रहेका पौडेललाई राजनीतिक सहजीकरणमा खासै समस्या पर्दैन । यसअघि संकटकै समयमा अर्थमन्त्री भइसकेको अनुभव र सिकाइले पनि उनलाई साथ दिनेछ ।

पूर्ववर्ती अर्थमन्त्रीहरूले गरेका गल्ती सच्याउनु नै नवनियुक्त अर्थमन्त्रीको चुनौती रहेको पूर्वअर्थमन्त्री डा. रामशरण महत बताउँछन् । उनले भने– ‘मितव्ययिताको नारा दिएको सरकारले फजुल खर्च रोक्न सकिरहेको छैन, बजेट खर्च निराशाजनक छ, पौडेलजीले यसलाई सुधारेर मुलुकको अर्थतन्त्रलाई सहीरूपमा लैजानुपर्छ ।’

जथाभावी भइरहेको प्रशासनिक खर्च कटौतीमा अर्थमन्त्री निर्मम हुनु जरुरी रहेको महतको भनाइ छ । आर्थिक संकटका बेला सार्वजिक खर्च पुनरावलोकन आयोगले दिएका सुझाव अक्षरशः पालना गर्न अर्थमन्त्री हिचकिचाउनु हुँदैन । ‘स्थानीय तहले गर्ने कतिपय काममा संघीय सरकारबाट हस्तक्षेप हुँदा शक्तिसन्तुलनमा असर परेको छ, यसलाई पनि अर्थमन्त्रीले मिलाउन सक्नुपर्छ’– डा. महतले भने ।

अहिले औद्योगिक, व्यापारिक र सेवा क्षेत्र पूर्णरूपमा संकटग्रस्त छ । कोरोना संक्रमणको अन्योलले निजी क्षेत्रको मनोबल पूर्णरूपमा कमजोर भएको छ । लकडाउन र निषेधाज्ञा खुले पनि निजी क्षेत्रको संकटलाई त्राण दिन निकै कठिन छ । लामो समयको आर्थिक क्रियाकलापको संकुचनले बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्थामा निजी क्षेत्र छन् । उनीहरूले राहत प्याकेज माग गरेका छन् ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको ‘अरूको कुरै नसुन्ने’ प्रवृत्तिले असन्तुष्ट निजी क्षेत्रमा भने पौडेलको आगमनले उत्साह थपेको छ । अर्थमन्त्री पौडेल निजी क्षेत्रप्रति निकै उदार रहेको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् । उनी भन्छन्– ‘यस्तो संकटका बेला अर्थमन्त्री हुनुभएको छ, उहाँसँग धेरै ठूलो अपेक्षा त गर्न सकिएन तर पहिले पनि अर्थमन्त्री भइसक्नु भएकाले उहाँको निजी क्षेत्रसँगको व्यवहार राम्रो छ, व्यवसायीको कुरा सुन्नुहुन्छ ।’

कोभिडले कमजोर बन्दै गएको निजी क्षेत्रको मनोबल बढाउनु नवनियुक्त अर्थमन्त्रीको चुनौती रहेको उनको भनाइ छ । मुरारका भन्छन्– ‘खासगरी सानो पुँजीका साना तथा मझौला उद्योगी–व्यवसायी, जो नीतिगत सहजीकरणको माध्यमले पनि उकासिन गाह्रो छ, त्यस्तो समूहलाई तत्काल राहतको प्याकेज ल्याएर उतार्नुपर्ने चुनौती उहाँसामु छ ।’

नवनियुक्त अर्थमन्त्रीका विशेषता, दक्षता र वर्तमान अर्थतन्त्रका चुनौतीसम्बन्धी यो खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

गायक प्रेमराजा दम्पतीलाई नै कोरोना

परिवारसहित लामो समयदेखि अमेरिका बस्दै आएका गायक प्रेमराजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ । महतले आफ्नै फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

प्रेमराजाले हाल आफूहरु घरको कोठाभित्रै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । आफूहरु चिकित्सक समेत रहेका छोरा सरगमको स्वास्थ्य निरीक्षण र निगरानीमा रहेको उनले जनाएका छन् ।

अमेरिकाको बाल्टिमोरमा व्यवसाय सञ्चालन गर्दैआएका गायक महत अमेरिकाका लागि नेपाली महावाणिज्यदूत पनि हुन् । यस्तो छ, गायक महतले ‘फेसबुक’ मा लेखेको ‘स्ट्याटस’ जस्ताको तस्तै–

समुदायका सम्पूर्ण दिदीबहिनी–दाजुभाइ तथा इष्टमित्रहरूमा हार्दिक अपिल । यदि हामीले समयमै सतर्कता अपनाएनौं भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउनेवाला छैन । ध्यान राख्दाराख्दै दुर्भाग्यवश हामी श्रीमान्–श्रीमती पनि यसबाट बच्न सकेनौं । हामी अहिले आफ्नै घरका एक–एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं ।

यदि हाम्रो परिवारबाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि शर्म नमानीकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु । इमानदारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ । जय पशुपतिनाथ !

नेपालका चर्चित लोकगायक दम्पतीलाई विदेशमा कोरोनाले समाएको यो खबर अन्नपूर्णपोस्ट अनलाइनमा प्रकाशित छ ।

कोरोनाबाट ११७ नेपालीको विश्वभर मृत्यु, १२,८११ जना संक्रमित (कहाँ कति ? विवरणसहित)

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणले शनिबार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोनाका कारण यो साता थप २१ जना नेपालीले ज्यान गुमाएका छन् ।

संघका अनुसार युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा १८ जना नेपालीको निधन भएको छ । त्यस्तै, कोरोनाभाइरसका कारण संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेरसमूहमा सबैभन्दा धेरै (५३ प्रतिशत) को निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांकअनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेरसमूहका छन् । ४० वर्षभन्दा कम उमेरसमूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ, बाँकी ८ प्रतिशतको उमेरसमूह खुलेको छैन ।

संयोजक डा. सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोनाभाइरसबाट मुक्त भएको जानकारी सापकोटाले दिएका छन् । अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९ सय ११, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय ३०, साउदी अरबमा १ हजार ३ सय ६४, नेपालमा ५ सय ८५, युएईमा ५ सय, बहराइनमा ३ सय ११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङकंङमा २, पोल्याण्डमा २, रुसमा २, म्यानमारमा १, रोमानियामा १ र फ्रान्समा १ नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

राजधानीमा ७६७ सहित थप १३२५ मा कोरोना : ४११ को मृत्यु, ६४१२२ संक्रमित, ४६२३३ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६४१२२ पुगेको छ । यीमध्ये ४११ जनाको मृत्यु भैसकेको छ भने ४६,२३३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १७,४७८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी राजधानी उपत्यकामा ७६७ सहित देशभर थप १,३२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९,५८४ जनाको पीसीआर परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुष गरी १,३२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ९६६ जना डिस्चार्ज भएका छन् । यो २४ घन्टामा काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुष; ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिला गरी राजधानी उपत्यकामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यतिबेलाका सक्रिय संक्रमितमध्ये ९,०७१ जना संस्थागत आइसोलेसनमा र ८,४०७ जना होम आइसोलेसनमा रहेको प्रवक्ता प्राडा गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् ब्रिफिङको विवरण–

https://www.facebook.com/mohpnep/videos/366175971424205/

पहिलो किस्ता लिएर घर बनाउन नसक्ने भूकम्पपीडितलाई खुशीको खबर !

पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न शुक्रबार सम्झौता गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि धादिङका धुनीवेँसी, नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाका लाभग्राहीले बैंकको नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियतदरमा भूकम्पपीडितले घर कर्जा पाउने छन् ।

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले आर्थिक अभावले घर बनाउन नसकेकालाई सहजीकरण गर्ने र अन्यत्र घर भएका वा घर आवश्यक नभए पनि किस्ता लिएकालाई कारवाही प्रक्रिया अघि बढाइने बताए । पहिलो किस्ता पाएर पनि घर बनाउन शुरु नगर्नुका कारण आर्थिक अभावले नै गर्दा हुनसक्ने उहाँको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले विभिन्न कार्यक्रममार्फत लक्षित वर्गलाई सहुलियत कर्जा प्रवाह गरिरहेको बताए । सहुलियत कर्जाबाट धेरै महिला उद्यमी लाभान्वित भएका उहाँको बताए। सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता दाहालले यो सम्झौताले भूकम्पपछिको पुनःनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

साथै, प्रदेश नं २, प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाकोषको भुक्तानी बैंकमार्फत गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ ।

प्रधानमन्त्री ओलीले गरे सडक अनुगमन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिनुभएको छ । विस्तृतमा…

सरकारसँगको असहमति आन्तरिक मामिला हो, सीप्रति कुनै अनादर नगरौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति उच्च सम्मान गर्न सबैमा हार्दिक आग्रह गरेका छन् । विस्तृतमा…

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने विस्तृतमा…