• सरकारसँगको असहमति आन्तरिक मामिला हो, सीप्रति कुनै अनादर नगरौं : बाबुराम भट्टराई

    |

    काठमाडौं । पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति उच्च सम्मान गर्न सबैमा हार्दिक आग्रह गरेका छन् ।

    सी भ्रमणको पूर्वसन्ध्यामा पोस्टर च्यात्नेलगायतका गतिविधि भइरहेका छन् । सामाजिक सञ्जालमा पनि भ्रमण विरोधी सामग्री पोस्ट भइरहेका छन् । भट्टराईले अतिथि देवो भवः को नेपाली संस्कार स्मरण गराउँदै सीको अनादर नगर्न सबैसँग आग्रह गरेका छन् ।

    भट्टराईले सरकारसँगका केहि असमति भएपनि त्यसलाई राष्ट्रपतिको भ्रमणको बेला प्रदर्शन नगर्न पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटर लेख्दै भट्टराईले भनेका छन्, ‘अतिथि देवो भवः हामी नेपालीको संस्कार हो । २३ वर्षपछि हुन लागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ’, ट्विटमार्फत सीको स्वागत गर्दै भट्टराईले लेखेका छन्, ‘कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं ।’

    चिनियाँ राष्ट्रपति सी शनिबारदेखि दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल बनाउन सरकारले तयारी तीव्र बनाएको छ । भ्रमणको पूर्वसन्धामा केहि गलत गतिविधि हुन नदिन सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।