के हो लिबरेसन थियोलोजी ?

सन् १९६० को दशकमा ल्याटिन अमेरिकामा सुरु भएको इसाई आन्दोलन नै यथार्थतः लिबरेसन थियोलोजी हो । त्यस समय ल्याटिन अमेरिकाभर व्याप्त गरिबी र सामाजिक असमानताका विरुद्ध यो आन्दोलन सुरु भएको थियो । यो आन्दोलनले जिसस क्राइस्टको ‘सुसमाचार’ (गोस्पेल) लाई उत्पीडित मानिसहरूको अनुभवमार्फत् व्याख्या गर्ने कोसिस गर्छ । यो धर्मशास्त्रको मुख्य जोड उत्पीडितहरूको मुक्ति गर्दै न्यायपूर्ण संसार निर्माणका लागि सङ्घर्ष हो । समाजमा विद्यमान गरिबी र उत्पीडनको मुख्य कारण खोज्न लिबरेसन थियोलोजीले आर्थिक–सामाजिक विश्लेषण विधिको प्रयोग गर्दछ । यो मान्यतः वास्तवमा कार्ल माक्र्सजस्ता विचारकहरूबाट प्रेरित छ ।

लिबरेसन थियोलोजी मतानुसार चर्चले गरिब र सीमान्तीकृतहरूको सेवालाई प्राथमिकता दिनुपर्छ । यो मान्यताले गरिब र सीमान्तीकृतहरूसँग ऐक्यबद्धता जनाउनु बाइबलसम्मत रहेको कुरामा जोड दिन्छ । लिबरेसन थियोलोजी कोरा सिद्धान्त मात्र होइन, यसले सिद्धान्त र व्यबहारबीचको अविभाज्यतामा जोड दिन्छ । समाजका अन्यायपूर्ण संरचना बदल्नका लागि सङ्घर्ष गर्नुलाई यसले प्राथमिकता दिएको देखिन्छ । ब्राजिलियन माक्र्सवादी समाजशास्त्री माइकल लोईका अनुसार लिबरेसन थियोलोजीका मूलभूत सिद्धान्तहरू यसप्रकार छन्–
१. धर्मको मुख्य सत्रु मूर्तिपूजा (नास्तिकवाद होइन) विरुद्धको लडाइँ हो । त्यो हो– नयाँ फेरो, नयाँ सिजर र नयाँ हेरोड्स (म्यमोनद्वारा पुजिने मृत्युका नयाँ मूर्तिहरू; जस्तै– सम्पत्ति, बजार, राष्ट्रिय सुरक्षा, राज्य, सैन्यबल, ’पश्चिमी ईसाई सभ्यता’ आदि) ।
२. जिसस क्राइस्ट ‘परमेश्वर’ को राज्यमा अन्तिम मोक्षको अपेक्षामा ऐतिहासिक मानवमुक्ति ।
३. प्लेटोनिक युनानी दर्शनको उत्पादनका रूपमा पारम्परिक द्वैतवादी धर्मशास्त्रको आलोचना, नकि बाइबलको परम्परा; जसमा मानव र दैवीय इतिहास अलग र अविभाज्य छन् ।
४. आम पलयान (जस्तो– अङ्शमाथि विशेष ध्यान दिँदै बाइबलको एउटा नयाँ पठन, जसलाई गुलाम बनाइएका मानिसहरूको मुक्तिका निम्ति सङ्घर्षको प्रतिमानका रूपमा हेरिन्छ) ।
५. संरचनात्मक ‘पाप’ को स्वरूपका रूपमा, एक अन्यायपूर्ण र विधर्मी व्यवस्थाका रूपमा आश्रित पुँजीवादमाथि तीखो नैतिक र सामजिक अभियोग ।
६. गरिबीका कारणहरू, पुँजीवादका अन्तर्विरोधहरू र वर्गसङ्घर्षका रूपहरू बुझ्नका लागि एउटा सामाजिक विश्लेषणात्मक उपकरणका रूपमा माक्र्सवादको उपयोग ।
७. गरिबहरूका लागि प्राथमिकता र उनीहरूको आत्ममुक्तिको सङ्घर्षमा एकजुटता ।
८. पुँजीवादी व्यवस्थाद्वारा थोपरिएको व्यक्तिवादी जीवनशैलीको विकल्पका रूपमा गरिबहरूका माझ आधारभूत इसाई समुदायहरूलाई चर्चको नयाँ रूपमा विकास गर्ने ।

प्रणेता : गुस्ताभो गुटिरेज

पेरुभियन पादरी गुस्ताभो गुटिरेजलाई लिबेरेसन थियोलोजीको प्रतिपादक मानिन्छ गुटिरेजको जन्म १९२८ मा पेरुमा भएको थियो । किशोरावस्थमामै उनलाई अस्टियोमाइलाइटिस रोग लागेको थियो । रोगका कारण उनी हिँडडुल गर्न सक्दैनथे । त्यसैकारण बाह्र वर्षको उमेरसम्म उनले ह्विचेयरको प्रयोग गर्नुप¥यो । यो चुनौतीपूर्ण अवस्थाले पनि उनलाई हतोत्साहित गरेन, बरु यसले उनमा आशाको सञ्चार गराइदियो । अनुभवले उनमा धर्मशास्त्रप्रतिको रुचि जगायो ।

गुटिरेजले पेरुको राजधानी लिमास्थित राष्ट्रिय युनिभर्सिटीबाट चिकित्साशास्त्रमा डिग्री हासिल गरे । उनले बेल्जियमस्थित क्याथोलिक युनिभर्सिटीमा दर्शनशास्त्र र मनोविज्ञानमा समेत अध्ययन गरे । त्यसबाहेक पनि उनले फ्रान्सको क्याथोलिक युनिभर्सिटी र रोमको जर्जियन युनिभर्सिटीमा समेत धर्मशास्त्रको अध्ययन गरे । अन्ततः १९८५ मा गुटिरेजले फ्रान्सस्थित लयोन युनिभर्सिटीबाट धर्मशास्त्रमा पीएचडीको उपाधि हासिल गरे ।

विदेशबाट फर्केपछि गुटिरेजले ल्याटिन अमेरिकी यथार्थबारे आफ्नो बुझाइ र विचारलाई व्यवस्थित रूपमा तयार पार्न थाले । उनले भनेका थिए– “म त्यस्तो महादेशबाट आएको हुँ, जहाँ ६० प्रतिशत मानिसहरू गरिबीको अवस्थामा रहेका छन् र तिनीहरूमध्येका ८२ प्रतिशत त चरम गरिबीमा बाँच्न बाध्य छन् ।” आफूले युरोपमा अध्ययन गरेको युरोपेली धर्मशास्त्रले ल्याटिन अमेरिकाको भौतिक अवस्थालाई प्रतिबिम्बित गर्न सक्दैन भन्ने कुरा उनले बुझे । कोलम्बियाको मेडेलिनमा सन् १९६८ मा ल्याटिन अमेरिकी एइपिस्कोपल कन्फरेन्स (जसलाई बिसप सम्मेलन पनि भनिन्छ) भएको थियो । सोही सम्मेलनमा पहिलो पटक गुटिरेजले लिबरेसन थियोलोजी पदावलीको प्रयोग गरेका थिए । सो सम्मेलनमा उनले मुक्तिको धर्मशास्त्रतर्फ (टुवार्डस् अ थियोलोजी अफ लिबरेसन) शीर्षकको कार्यपत्र प्रस्तुत गरे । यही अवधारणालाई परिमार्जित, संश्लेषित र परिपूर्ण पार्दै गुटिरेजले सन् १९७१ मा आफ्नो सर्वाधिक महङ्खवपूर्ण कृति ‘मुक्तिको धर्मशास्त्र’ (अ थियोलोजी अफ लिबरेसन) प्रकाशित गरे । त्यसपछि यो थियोलोजीले ल्याटिन अमेरिकामा निकै ठूलो प्रभाव पारेको देखिन्छ ।

लिबरेसन थियोलोजी र मार्क्सवाद

इसाई धार्मिक मान्यतामा सुरुआतदेखि नै गरिब र उत्पीडितहरूप्रति सहानुभूतिको भाव रहँदै आएको देखिन्छ । जिसस क्राइस्टको एउटा प्रख्यात भनाइ छ– “एउटा धनी मान्छेलाई स्वर्गमा प्रवेश गर्नुभन्दा बरु एउटा उँटलाई सियोको आँखाबाट निस्कनु सजिलो हुन्छ ।” क्राइस्टले अझ अगाडि बढेर भनेका छन्– “आफ्नो सम्पत्ति बेचिदेऊ र गरिबहरूलाई बाँडिदेऊ; आफ्ना लागि यस्तो थैलो जुटाऊ, जुन कहिल्यै नखिइयोस् र स्वर्गमा एउटा त्यस्तो खजाना राख, जसले कहिल्यै धोका नदेओस्, जहाँ कोही चोर नजिक नआओस् र कुनै कीराले पनि नष्ट नगरोस् किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहाँ तिम्रो हृदय पनि हुनेछ ।” अतः कुनै आश्चर्यको कुरा होइन कि सुरुआतमा इसाई धर्म गरिब र उत्पीडितहरूको धर्म थियो । जिससको सेरमोन अन दि माउन्ट (जिजसले दिएका उपदेश) देखि एपोस्टोलिक समय (जिससका सुरुआती बाह्र अनुयायीको समय) सम्म इसाई धर्मले धन–सम्पत्तिका विरुद्ध प्रचार गर्दथ्यो । त्यसैले जिससलाई ‘इतिहासका पहिलो कम्युनिस्ट’ सम्म भन्ने गरिएको पाइन्छ। इसाई धर्ममा यो धार सुरुदेखि नै रहेको पाइन्छ ।

सन् १९६० को दशकमा ल्याटिन अमेरिकाका आर्थिक, राजनीतिक र सामजिक समस्याहरूलाई हेर्ने मामिलामा त्यहाँका धार्मिक क्रान्तिकारीहरू र माक्र्सवादी क्रान्तिकारीहरूबीच समानता थियो । ती समानताहरू यसप्रकार थिए–
१. पुँजीवादको आलोचनाः लिबरेसन थियोलोजी र माक्र्सवाद दुवैले पुँजीवादलाई असमानता, शोषण र अलगावलाई निरन्तरता दिएकोमा आलोचना गर्छन् । दुवैले पुँजीवादबाट सम्पत्तिको केन्द्रीकरण मुट्ठीभर व्यक्तिको हातमा हुने र बहुसङ्ख्यक मानिसहरू, विशेषगरी गरिबहरू र सीमान्तीकृतहरू पीडित हुने मान्यता राख्दछन् ।
२. मुक्तिमा जोडः माक्र्सवाद र लिबरेसन थियोलोजी दुवैले उत्पीडित मानिसहरूको मुक्तिमा जोड दिन्छन् ।
३. वर्गसङ्घर्षः मार्क्सवादले बुर्जुवा वर्ग र श्रमिक वर्गबीचको वर्गसङ्घर्षमा जोड दिन्छ । लिबरेसन थियोलोजीले पनि वर्गसङ्घर्षको अवधारणालाई समाजको विश्लेषणमा उपयोग गर्छ ।
४. सिद्धान्तलाई व्यवहारमा लागू गर्नेः माक्र्सवाद र लिबरेसन थियोलोजी दुवैले सिद्धान्त र व्यवहारको एकरूपतामा जोड दिन्छन् ।

ब्राजिलियन समाजशास्त्री माइकल लोईका भनाइमा लिबरेसन थियोलोजी र समाजवादबीच निम्न विन्दुमा समानता र सहकार्य हुन सक्छ–
१. दुवैले व्यक्ति नैतिकताको जग हो भन्ने दावीलाई खारेज गर्छन् । यो थियोलोजी र समाजवाद दुवैले अन्तरव्यक्तिगत मूल्यहरूमा विश्वास गर्छन् ।
२. दुवैले गरिबहरूलाई अन्यायबाट पीडित मान्छन् । अवश्य पनि क्याथोलिक सिद्धान्तमा गरिबहरू र मार्क्सवादी सिद्धान्तमा सर्वहारावर्गका बीच धेरै फरक छ । तर, उनीहरूको बीचमा एउटा निश्चित सामाजिक–नैतिक नातेदारीलाई इन्कार गर्न सकिँदैन ।
३. दुवैले विश्वव्यापकतामा विश्वास गर्छन्– अन्तर्राष्ट्रियतावाद वा क्याथोलिकवाद । अर्थात्, दुवै सिद्धान्त र संस्थाहरूले मानवजातिलाई समग्ररूपमा हेर्छन् र जसको धारणा एकता नश्लहरू, जातीय समूहहरू वा राष्ट्रहरूभन्दा माथि छ ।
४. दुवैले सामुदायिक जीवन र वस्तुहरूको सामूदायिक भागबण्डालाई धेरै महत्त्व दिन्छन् र विखण्डीकरण, गुमनामी, अलगाव तथा आधुनिक सामाजिक जीवनको स्वार्थी प्रतिस्पर्धाको आलोचना गर्छन् ।
५. दुवै पुँजीवाद र आर्थिक उदारवादका सिद्धान्तहरूको आलोचक छन् ।
६. दुवैले भविष्यमा सम्पूर्ण मानवजातिको बीचमा न्याय र स्वतन्त्रता, शान्ति र बन्धुत्वपूर्ण राज्यको आशा गर्छन् ।

महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ

तत्कालीन नेपालको क्रान्तिकारी एवम् आमूल परिवर्तनकारी शक्ति, नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपाली जनताले इतिहासकै सर्वाधिक महानतम् कदम अघि बढाएको र पहल गरेको २७ वर्ष पूरा भएको छ । सोमबार, १ फागुन, २०७९ मा महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ भएकाे छ ।

जनयुद्धको ऐतिहासिक पहल गर्दा नेपालमा मुख्य राजनीतिक, सैनिक एवम् प्रशासनिक मामिलाहरूमा सामन्ती राजाका ‘विशेषाधिकार’ रहेको राजतन्त्रात्मक संसदीय व्यवस्था र त्यसलाई संस्थागत गर्ने ‘नेपाल अधिराज्यको संविधान, २०४७’ विद्यमान थिए । त्यसबेला राजाको छत्रछायाँमा र राजतन्त्रकै सहयोगीका रूपमा क्रियाशील रहेर जनतामाथि शासन गरिरहेका काङ्ग्रेस, एमाले र राप्रपाहरू उक्त संविधानमा ‘कमा’ र ‘पूर्णविराम’ समेत फेरबदल गर्न पाइँदैन र गर्नुपर्ने जरुरत छैन भनिरहेका थिए ।

नेपालको सामन्तवादी राज्यसंरचना, सामन्तवादी सामाजिक–सांस्कृतिक–आर्थिक सम्बन्ध र राष्ट्रघाती–जनद्रोही शासन व्यवस्थालाई समुल नष्ट गरेर नयाँ जनवादी गणतन्त्रात्मक राज्य प्रणाली स्थापना गर्ने सुस्पष्ट नीति, योजना, कार्यक्रम र दृष्टिकोणका साथ महान् जनयुद्धको सुरुआत भएको थियो । छापामार युद्धमा आधारित जनसैन्य अभियानमार्फत क्रमशः गाउँबाट सहर घेर्दै र स्थानीय जनसत्ता (आधारइलाका) स्थापना गर्दै अन्ततः क्रान्तिकारी शक्ति र परिवर्तनकामी जनताको संयुक्त बलमै केन्द्रीय सत्ता कब्जा गरेर जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र क्रमशः समाजवादी राज्य व्यवस्थाको सूत्रपात गर्दै विश्व साम्यवादतर्फ अगाडि बढ्नु जनयुद्धको मुख्य, घोषित र निर्धारित लक्ष्य थियो ।

सोही लक्ष्य हासिल गर्ने हिसाबले १ फागुन, २०५२ को दिउँसो अबेर, साँझ र राति गरी एकै दिन काभ्रेको मेच्छे, सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र गोरखाको च्याङ्लीमा साङ्केतिक प्रतिरोध गर्दै माओवादी पार्टीले महान् नेपाली जनयुद्धको शङ्खघोष (उदघाटन) गरेको थियो । जनवादी गणतन्त्र नेपालका स्थापनाकै निम्ति समर्पित भएर नेपाल आमाका हजारौं सपूतहरूले आफूलाई वलिदान गरे; हजारौं योद्धाहरू जनयुद्धकै सिलसिलामा राज्य पक्षद्वारा बेपत्ता पारिए र हजारौं योद्धाहरू घाइते–अपाङ्ग बने ।

माओवादी पार्टीले अघि सारेको सोही योजना, लक्ष्य र उद्देश्यमा विश्वास गर्दै र भर पर्दै लाखौंलाख नेपाली नागरिकहरूले प्रत्यक्ष–परोक्षरूपमा जनयुद्धलाई सघाए । जनस्तरको निकै ठूलो पङ्क्तिले आर्थिक, भौतिक, नैतिक सहयोग गर्‍यो । जनयुद्धकारी शक्तिलाई दबाउने नाममा राज्यले हजारौं नागरिकलाई अनेकौं किसिमले दुःख दियो; सतायो र कयौं स्थानमा त लुटपाट र आगजनी समेत गर्‍यो । तत्कालीन राज्यका तर्फबाट कतिपय निर्दोष र असम्बन्धित नागरिकमाथि समेत कुटपिट, जेलनेल, अङ्गभङ्ग, बलात्कार र हत्यासम्मका ज्यादति पनि गरियो ।

राज्य र माओवादी क्रान्तिकारी शक्तिहरूबीचको सशस्त्र लडाइँ दस वर्ष पूरा भएर दिनप्रतिदिन उत्कर्षता हासिल गरिरहेकै बेला २०६२ मा सात संसद्वादी दलहरू र माओवादी पार्टीबीच बाह्रबुँदे समझदारी भयो । त्यसपछि वृहत् शान्ति सम्झौता भयो र जनयुद्ध ‘अन्त्य’ को घोषणा समेत गरियो । नेपाली जनयुद्धले आफ्नो मुख्य लक्ष्य हासिल गर्न बाँकी नै रहे तापनि मूलतः जनयुद्ध र त्यसैको जगमा सिर्जना भएको २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन समेतको योगफलस्वरूप नेपालमा गणतन्त्रको स्थापना भयो । संविधानसभाको चुनाव भयो, जननिर्वाचित प्रतिनिधिहरूद्वारा संविधान लेखेर घोषणा गरियो । सङ्घीयता, धर्मनिरपेक्षता, वर्ग–लिङ्ग–क्षेत्र–जातजातिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था आदि उपलब्धि ‘नयाँ’ संविधानमार्फत संस्थागत गरिए ।

जनयुद्धबाट हासिल भएका उपलब्धिहरूलाई संरक्षित एवम् संस्थागत गर्दै र हासिल हुन बाँकी राजनीतिक लक्ष्य–उद्देश्य प्राप्तिका निम्ति नेपाली कम्युनिस्ट शक्तिहरू अहिले पनि सङ्घर्षरत र क्रियाशील छन् । यतिबेला नेपाली प्रगतिशील एवम् देशभक्त र क्रान्तिकारी शक्तिहरू र नेपाली जनता महान् जनयुद्धको २८औं वार्षिकोत्सव मनाइरहेका छन् ।