हाई भ्यु माविको अभिभावक दिवस भव्यतापूर्वक सम्पन्न

महालक्ष्मी नगरपालिका वडा ५ अन्तर्गत रहेको हाइ भ्यु मा वि स्कुलले सभ्य र भव्य तरिकाले अभिभावक दिवस मनाएको छ । शनिबार आफ्नै विद्यालय प्राङ्गणमा स्कुलले सभ्य र भव्य तरिकाले अभिभावक दिवस मनाएको हो ।

तत्कालीन स्वास्थ्यमन्त्री तथा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा स्कुलले दिनभर अभिभावक दिवस कार्यक्रम मनाएको थियो । कार्यक्रममा विशेष अतिथि,अतिथि,सयौँको संख्यामा अभिभावक,कलाकार पत्रकार, खेलकर्मी, शिक्षक शिक्षिका, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

रोलक्रम अनुसार प्याब्सनका वरिष्ट उपाध्यक्ष तारा खनाल, वडाध्यक्ष कपिल केसी, विभिन्न विद्यालयका प्रधानाध्यापक उपस्थित उक्त कार्यक्रममा मन्तव्य, गीत, नाचलगायतका प्रस्तुति चलेको प्रधानाध्यापक सुन्दर श्रेष्ठले बताए । कार्यक्रममा विद्यालयको तर्फबाट अतिथिहरुलाई टोकन अफ लव प्रदान गरिएको थियो ।

संगीतकर्मी, शिक्षक शिक्षिकालगायत सम्पूर्णलाई मायाको चिनो प्रदान गरिएको थियाे । कलाकारहरु सलिना मोक्तान, रोजन तामाङ र आर्टी साइकोले आआफ्नो गीत प्रस्तुत गरे भने वडाध्यक्ष कपिल केसीले विद्यालयलाई ‌बधाई दिएका थिए । अनौपचारिक रुपमा करिब १० बजे साइन्स एक्जीविसन सहित सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आगमन अलि ढिला हुने भएपछि पौने १२ मा राष्ट्रियगान गाएर औपचारिक कार्यक्रम सुरु गरिएको थियो । विद्यालयका प्रधानाध्यापक सुन्दर श्रेष्ठको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमलाई विद्यालयका विद्यार्थीद्वारा सञ्चालन गरिएको र धन्यवाद महेश सरले दिएको होस्ट इन्चार्ज सन्जय केसीले बताए ।

गम्भीर समुन्द्र सेतुको ७१औँ वार्षिकाेत्सव सम्पन्न

महालक्ष्मी नगरपालिका- २ मा रहेको गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयको ७१औँ वार्षिकाेत्सव कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा गत शुक्रबार विद्यालय प्राङ्गणमा विद्यालयको वाषिर्कोत्सव कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।

नगरपालिकाका उपमेयर लक्ष्मी महर्जन र नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चीरञ्जीवी पौडेलको समेत कार्यक्रममा विशेष आतिथ्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति केदार कुमार केसीले जानकारी दिए । नगरपालिकाका १० वटै वडाध्यक्षलाई पनि कार्यक्रममा निम्तो गरिएको उनले बताए । राष्ट्रियगान बजाएर कार्यक्रमको प्रारम्भ भएकाे त्यसपछि महालक्ष्मीगान पनि गाइएको उनले बताए । कक्षा ११ र १२ सम्म पढाइ हुने सो माध्यमिक विद्यालयको भौतिक पूर्वाधार महालक्ष्मी नगरकै उत्कृष्टतामा रहेको केही अतिथि वक्ताहरुको भनाइ थियो।शिक्षक अभिभावक संघका अध्यक्ष हरिहर बहादुर अधिकारीले ०७९/०८० को सामाजिक प्रतिवेदन सहित आफ्नो मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक देवेन्द्र महर्जनले विद्यालयको ५ करोड रासीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै, विद्यालयको स्मारिका अंक समेत विमोचन भएको सो कार्यक्रममा विद्यालयको विकासमा सहयोग पुर्याउने आनन्द अधिकारी र बसन्त सुबेदीलाई सम्मान गरिएको थियो । वर्षभरिमा विद्यालय क्यालेन्डर अनुसार गरिएका अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलहरुमा बिजेता उपबिजेतालाई नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको हातबाट पुरस्कार वितरण गरिएको प्रधानाध्यापक देवेन्द्र महर्जनले बताए ।

अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलहरुमा राष्ट्रपति रनिङ शिल्ड,हाइजम्प,लङजम्प, १ सय देखि ३ हजार मिटर दौड लगायत रहेको महर्जनले बताउनुभयो । कार्यक्रममा अतिथिको रुपमा अक्षयकोषका संस्थापकहरु अर्जुन सुवेदी, गीता गौतम, सुशील गौतम, सुन्दर वाइ केसी र राइट टु स्टडी नेपालका अध्यक्ष पूर्ण डंगोल रहेका थिए ।

1 2 3 16