महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ

तत्कालीन नेपालको क्रान्तिकारी एवम् आमूल परिवर्तनकारी शक्ति, नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपाली जनताले इतिहासकै सर्वाधिक महानतम् कदम अघि बढाएको र पहल गरेको २७ वर्ष पूरा भएको छ । सोमबार, १ फागुन, २०७९ मा महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ भएकाे छ ।

जनयुद्धको ऐतिहासिक पहल गर्दा नेपालमा मुख्य राजनीतिक, सैनिक एवम् प्रशासनिक मामिलाहरूमा सामन्ती राजाका ‘विशेषाधिकार’ रहेको राजतन्त्रात्मक संसदीय व्यवस्था र त्यसलाई संस्थागत गर्ने ‘नेपाल अधिराज्यको संविधान, २०४७’ विद्यमान थिए । त्यसबेला राजाको छत्रछायाँमा र राजतन्त्रकै सहयोगीका रूपमा क्रियाशील रहेर जनतामाथि शासन गरिरहेका काङ्ग्रेस, एमाले र राप्रपाहरू उक्त संविधानमा ‘कमा’ र ‘पूर्णविराम’ समेत फेरबदल गर्न पाइँदैन र गर्नुपर्ने जरुरत छैन भनिरहेका थिए ।

नेपालको सामन्तवादी राज्यसंरचना, सामन्तवादी सामाजिक–सांस्कृतिक–आर्थिक सम्बन्ध र राष्ट्रघाती–जनद्रोही शासन व्यवस्थालाई समुल नष्ट गरेर नयाँ जनवादी गणतन्त्रात्मक राज्य प्रणाली स्थापना गर्ने सुस्पष्ट नीति, योजना, कार्यक्रम र दृष्टिकोणका साथ महान् जनयुद्धको सुरुआत भएको थियो । छापामार युद्धमा आधारित जनसैन्य अभियानमार्फत क्रमशः गाउँबाट सहर घेर्दै र स्थानीय जनसत्ता (आधारइलाका) स्थापना गर्दै अन्ततः क्रान्तिकारी शक्ति र परिवर्तनकामी जनताको संयुक्त बलमै केन्द्रीय सत्ता कब्जा गरेर जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र क्रमशः समाजवादी राज्य व्यवस्थाको सूत्रपात गर्दै विश्व साम्यवादतर्फ अगाडि बढ्नु जनयुद्धको मुख्य, घोषित र निर्धारित लक्ष्य थियो ।

सोही लक्ष्य हासिल गर्ने हिसाबले १ फागुन, २०५२ को दिउँसो अबेर, साँझ र राति गरी एकै दिन काभ्रेको मेच्छे, सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र गोरखाको च्याङ्लीमा साङ्केतिक प्रतिरोध गर्दै माओवादी पार्टीले महान् नेपाली जनयुद्धको शङ्खघोष (उदघाटन) गरेको थियो । जनवादी गणतन्त्र नेपालका स्थापनाकै निम्ति समर्पित भएर नेपाल आमाका हजारौं सपूतहरूले आफूलाई वलिदान गरे; हजारौं योद्धाहरू जनयुद्धकै सिलसिलामा राज्य पक्षद्वारा बेपत्ता पारिए र हजारौं योद्धाहरू घाइते–अपाङ्ग बने ।

माओवादी पार्टीले अघि सारेको सोही योजना, लक्ष्य र उद्देश्यमा विश्वास गर्दै र भर पर्दै लाखौंलाख नेपाली नागरिकहरूले प्रत्यक्ष–परोक्षरूपमा जनयुद्धलाई सघाए । जनस्तरको निकै ठूलो पङ्क्तिले आर्थिक, भौतिक, नैतिक सहयोग गर्‍यो । जनयुद्धकारी शक्तिलाई दबाउने नाममा राज्यले हजारौं नागरिकलाई अनेकौं किसिमले दुःख दियो; सतायो र कयौं स्थानमा त लुटपाट र आगजनी समेत गर्‍यो । तत्कालीन राज्यका तर्फबाट कतिपय निर्दोष र असम्बन्धित नागरिकमाथि समेत कुटपिट, जेलनेल, अङ्गभङ्ग, बलात्कार र हत्यासम्मका ज्यादति पनि गरियो ।

राज्य र माओवादी क्रान्तिकारी शक्तिहरूबीचको सशस्त्र लडाइँ दस वर्ष पूरा भएर दिनप्रतिदिन उत्कर्षता हासिल गरिरहेकै बेला २०६२ मा सात संसद्वादी दलहरू र माओवादी पार्टीबीच बाह्रबुँदे समझदारी भयो । त्यसपछि वृहत् शान्ति सम्झौता भयो र जनयुद्ध ‘अन्त्य’ को घोषणा समेत गरियो । नेपाली जनयुद्धले आफ्नो मुख्य लक्ष्य हासिल गर्न बाँकी नै रहे तापनि मूलतः जनयुद्ध र त्यसैको जगमा सिर्जना भएको २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन समेतको योगफलस्वरूप नेपालमा गणतन्त्रको स्थापना भयो । संविधानसभाको चुनाव भयो, जननिर्वाचित प्रतिनिधिहरूद्वारा संविधान लेखेर घोषणा गरियो । सङ्घीयता, धर्मनिरपेक्षता, वर्ग–लिङ्ग–क्षेत्र–जातजातिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था आदि उपलब्धि ‘नयाँ’ संविधानमार्फत संस्थागत गरिए ।

जनयुद्धबाट हासिल भएका उपलब्धिहरूलाई संरक्षित एवम् संस्थागत गर्दै र हासिल हुन बाँकी राजनीतिक लक्ष्य–उद्देश्य प्राप्तिका निम्ति नेपाली कम्युनिस्ट शक्तिहरू अहिले पनि सङ्घर्षरत र क्रियाशील छन् । यतिबेला नेपाली प्रगतिशील एवम् देशभक्त र क्रान्तिकारी शक्तिहरू र नेपाली जनता महान् जनयुद्धको २८औं वार्षिकोत्सव मनाइरहेका छन् ।