नीतिगत भ्रष्टाचारमा मन्त्री–सचिवबीच यसरी हुन्छ मिलिमतो

नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवहरुकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टचार रोकिन सकेका छैनन् । नीतिगत भ्रष्टाचारमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै बढी मिलिमतो हुने गरेको तथ्य विभिन्न अध्ययनले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना वार्षिक प्रतिवेदनहरुमा समेत नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम उच्च रहेको र त्यसमा राजनीतिक नेतृत्व नै मुख्य रुपमा दोषी हुने उल्लेख गर्दै आएको छ । पछिल्ला समयमा सार्वजनिक भएका ललितानिवास जग्गा प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतमा समेत राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै मिलिमतोमा अनियमितता र भ्रष्टाचार भएको पुष्टि हुँदै आएको छ ।

सो प्रकरणमा दोषी देखिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत अहिले पुर्पक्षका लागि जेलमा छन् । अन्य कैयौ पूर्वमन्त्री र सचिवहरुमाथि समेत विभिन्न आरोप लाग्दै आइरहेको छ । ललितानिवास प्रकरणमा भएको अनियमिततामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई समेत मुछिँदै आएका छन् ।

विज्ञहरुका अनुसार नीतिगत भ्रष्टचारले राजनीतिक र प्रशासनिक क्षेत्र नराम्ररी कुँजिएको र बद्नाम हुँदै आइरहेको छ । प्रधानमन्त्री, मन्त्री र सचिवको मिलिमतोमा नीतिगत भ्रष्टचार हुने गरेको प्रशासनविद् शारदाप्रसाद त्रितालले दाबी गरे। ‘अहिले पनि त्यस प्रकारका ठूलठूला नीतिगत भ्रष्टाचार भइरहेका हुन सक्छन्, त्यसलाई बाहिर ल्याउन खोज पत्रकारिता आवश्यक पर्छ’– प्रशासनविद् त्रितालले भने । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबाट लामो समयदेखि नीतिगत भ्रष्टाचार हुँदै आइरहेको र त्यसले मुलुकको विकास र समृद्धिमा गम्भीर धक्का पुर्‍याएको उनले दाबी गरेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

गठबन्धनका आठै दलद्वारा उपप्रधानमन्त्री दावी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ । तर, उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन् । बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित आठदलीय गठबन्धनका सांसदको अभिमुखीकरण कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार तुरुन्तै हुने बताएका थिए ।

त्यस दिन जे भने पनि उनी राष्ट्रपतिको निर्वाचन कुरिरहेका छन् । राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदैछ । राष्ट्रपति निर्वाचनअघि नै सरकार विस्तारका लागि निर्वाचन आयोगले स्वीकृति दिने तयारी गरे पनि प्रधानमन्त्री प्रचण्डले भने त्यसअगाडि सरकार पुनर्गठन नहुने संकेत गरेका छन् । उनले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि नै लिन खोजेका छन् ।

जहिले मन्त्रिपरिषद पुनर्गठन गरे पनि प्रधानमन्त्रसामु दलहरूलाई कसरी समेट्ने भन्ने चुनौती खडा भएको छ । आठदलीय गठबन्धनलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने हुँदा उपप्रधानमन्त्रीको संख्या आठजना पुग्ने सम्भावना देखिएको छ । पुस १० मा एमालेसहित सात दल सम्मिलित समीकरणमा ४ जना उपप्रधानमन्त्री थिए ।

अहिले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मात्रै उपप्रधानमन्त्री छन् । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री पनि हुन् । आठ दलमध्ये माओवादी केन्द्रले यसअघि नै उपप्रधानमन्त्री लिइसकेकाले बाँकी सात दलले पनि उपप्रधानमन्त्री मागिरहेका छन् ।

आठ दलमध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई उपप्रधानमन्त्री दिनुपर्ने बाध्यता छ । नागरिक उन्मुक्ति पार्टीले पनि उपप्रधानमन्त्री मागिरहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

अब नेपालमै आधा सेकेन्डमै सिटी स्क्यान !

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन नेपालमा पनि भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान मेसिन ल्याएको हो ।

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको सो अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले दाबी गरे । उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए ।

उनका अनुसार मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थियटर पनि ल्याएको छ । कार्डियो भास्कुलर हाइब्रिड थियटर अत्यधिक गुणस्तरीय रहेको भन्दै उक्त अपरेसन थियटर नेपालमा पहिलो पटक ल्याउन सकेको उनले बताए । अन्य सरकारी तथा निजी अस्पतालमा उक्त अपरेसन थियटर नभएको उनको भनाइ छ ।

मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थियटर’ का लागि नेपालीले भारतमा गएर १५–२० लाख खर्चने गरेको भन्दै नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा उक्त सेवा दिने श्रेष्ठले बताए । कार्डियो भास्कुलर हाइब्रिड थियटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेको जानकारी उनले दिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

एमालेभित्रको ‘जाम’ अब खुल्दैछ यसरी

आठ वर्षको अन्तरालपछि नेकपा (एमाले) ले शुक्रबार जिल्ला अधिवेशन गर्दैछ । यति बेलासम्म दुई पटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा ‘जाम’ परेको अवस्था छ ।

जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन् । त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने र सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एक पटक सदस्य भई काम गरेको हुनुपर्नेछ । अन्य पार्टीबाट आएकाको हकमा विधानको धारा ६३ (११) अनुसार पहिले जुन कमिटीमा काम गरेको हो, त्यही कमिटीमा समायोजन हुनेछ ।

‘धेरैजसो नेता अन्य पार्टीबाट एमालेमा आउँदा पदाधिकारी छैनन् तर उनीहरूमध्ये धेरैजसो पदाधिकारीमा आउन चाहने देखिन्छन् । यसमा अहिले संगठन विभागले दिएको निर्देशन बाधक देखिएको छ’– एक जिल्लास्तरीय नेताले भने । पहिले जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न थालेको छ ।

हरेक जिल्लामा १० वर्षसम्म एउटै नेतृत्व रहँदा माथिदेखि तलसम्म ‘जाम’ भएको थियो । दसौं महाधिवेशनबाट प्रदेश तहका नेता केन्द्रमा गएपछि केही हदसम्म ‘जाम’ खुलेको छ । तर, जिल्लाको नेतृत्वमा धेरैजसो नेताको दाबी रहेको छ । खासगरी जिल्ला तहको नेतृत्वमा रहेका नेताले नै स्थानीय, प्रदेश र केन्द्रमा हुने निर्वाचनमा हक दावी गर्ने भएकाले जिल्ला कमिटीमा आउन चाहने नेताहरूको संख्या बढेको छ ।

एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गरिसक्नुपर्ने उल्लेख थियो । सोही निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । अधिवेशनको उद्घाटन अध्यक्ष खड्ग ओलीले गर्नेछन् । पुस २३ मा सुरु हुने अधिवेशनअन्तर्गत पुस २४ मा नेतृत्व चयन हुनेछ ।

‘अध्यक्ष ओलीले केही हिमाली जिल्लाबाहेक पार्टीका सबै जिल्ला अधिवेशन ‘एक्सन रुम’ बाट एकसाथ उद्घाटन गर्नुहुनेछ’– एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयस्थित ‘एक्सन रुम’ बाट अध्यक्ष ओलीले ‘भर्चुअल उद्घाटन’ र सम्बोधन गर्नेछन् । ओलीले वडा र पालिका अधिवेशन उद्घाटन पनि भर्चुअल माध्यमबाटै गरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

जंकफुडको उपभाेग : कति लाभ, कति हानि ?

कोटेश्वर, काठमाडौं बस्ने मीरा बस्नेत उनका १० वर्षे छोरालाई खाजाका रूपमा दिनहुँजसो नै चाउचाउ खुवाउँछिन् । काममा व्यस्त हुने भएकाले उनी अरु खाजा बनाइदिन भ्याउँदिनन् । त्यसैले छोरालाई खाजा खुवाउन चाउचाउ नै पहिलो रोजाइमा पर्छ । मीराले भन्छिन्– ‘काममा जानुपर्छ, खाजा बनाइदिनै भ्याउँदिन अनि चाउचाउ नखुवाएर के गर्नु ?’

मीरा मात्रै होइन, बबरमहलकी रेखा भट्टराईको पनि समस्या उस्तै छ । उनी पनि आफ्ना छोराछोरीलाई दैनिकजसो चाउचाउलगायतका जङ्क फुड नै खान दिन्छिन् । छोराछोरीलाई पनि घरमा बनाएका खाजाभन्दा चाउचाउ, बिस्कुटजस्ता रेडिमेड खाजा नै मन पर्छन् ।

मीरा र रेखाका बालबच्चा मात्र होइन, सहरी क्षेत्रमा बस्ने धेरै बालबालिका नियमितजसो जङ्कफुड नै खाजा खान्छन् । सहरमा मात्र होइन, गाउँघरमा समेत आजकाल व्यावासयिक रूपमा उत्पादन गरिएका रेडिमेड खाद्य पदार्थ जताततै र प्रशस्तै पाइन्छन् । यस्ता खाद्य पदार्थ बालबालिकाकै लागि भनेर विशेषरूपमा उत्पादन गरिएको भने कहीं–कतै पाइँदैन ।

त्यसैले बालबालिकामा कुपोषणको समस्या निम्तन सक्नेतर्फ सचेत गराउँछन् पोषणविदहरू । पर्याप्त मात्रामा पोषणयुक्त खानपानको अभावमा बालबालिका कुपोषणको शिकार हुने गरेको ‘बलियो नेपाल’ पोषण अभियानका प्रमुख कार्यकारी अधिकृत एवं पोषणविद डा. अतुल उपाध्याय बताउँछन् ।

जङ्क फुडमा सूक्ष्म पोषण–तत्त्व नपाइने भएकाले बालबालिकामा कुपोषणको समस्या दिनानुदिन बढ्न थालेको उनको तर्क छ । पोषणविद्का अनुसार चाउचाउ, चिप्सजस्ता जङ्क फुडमा क्यालोरी पाइन्छ तर आवश्यक सूक्ष्म पोषण–तत्त्वको अभावका कारण बालबालिकाले यस्ता खानेकुरा कम खानु नै उचित हुन्छ ।

बालबालिकामा दैनिक आवश्यक क्यालोरीमध्ये बजारमा पाइने यस्ता रेडिमेड खाद्य पदार्थबाट करिव २५ प्रतिशत क्यालोरी मात्रै पाइने गरेको पोषणविद्को भनाइ छ । विशेषज्ञका अनुसार व्यावसायिकरूपमा यसरी उत्पादन गरिएका जङ्क फुड दैनिक खाने बालबालिकामा होचोपनाको समस्या बढी देखिन्छ । सूक्ष्म पोषण–तत्त्वकै अभावका कारण यस्ता खाद्य पदार्थले कुपोषण बढाउने सम्भावना प्रबल छ ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आयोडिन, आइरन, भिटामिन ‘ए’, क्याल्सियमजस्ता सूक्ष्म पौष्टिक तत्त्व चाहिन्छ । तर, प्याकिङ गरिएका जङ्क फुडमा यस्ता पौष्टिक तत्त्व नहुने पोषणविद् भुपाल बानियाँ बताउँछन् । बालबालिकाले नियमित रूपमा यस्ता खाद्य पदार्थ खानाले उमेर बढ्दै जाँदा विभिन्न रोग लाग्नुका साथै हृदयाघातको समेत सम्भावना हुन्छ ।

यस्ता छन् समस्या

नेपालको सन्दर्भमा खाद्य पदार्थको अभावका कारण कुपोषणको समस्या हुने समस्या एकातिर छ भने अर्कोतर्फ भएका खाद्य पदार्थ पनि राम्रोसँग बनाएर बालबालिकालाई खुवाउन नजान्दा बालबालिका कुपोषणको मारमा पर्ने गरेको डा. उपाध्याय बताउँछन् ।

गाउँ–सहर दुवै क्षेत्रका बालबालिकामा कुपोषणको समस्या देखिएको पोषणविद् बताउँछन् । काठमाडौं उपत्यकाका ७ सय ५० बालबालिकामा गरिएको अध्ययनमा दुईतिहाई बालबालिकाले रेडिमेड खाद्य पदार्थ खाने गरेको पाइएको डा. उपाध्यायले बताए । सामान्यतः गाउँघरमा हुर्किएका बालबालिका दुब्लो र होचो हुने (कुपोषणको समस्या) र सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा मोटोपनको समस्या बढी देखिएको पोषणविद् बानियाँ बताउँछन् ।

सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा जङक फुड खानाले यस्तो समस्या बढी भएको देखिन्छ । दैनिक बढी मात्रामा क्यालोरियुक्त खाद्य पदार्थ खानाले बालबालिकाको उमेर बढ्दै जाँदा सुगर, रक्तचापजस्ता समस्या निम्तन सक्नेतर्फ पोषणविद् सचेत गराउँछन् ।

‘हरेक बार खाना चार भन्ने नारा, नारामा मात्रै सीमित देखिन्छ,’ डा. उपाध्यायले भने– ‘जनचेतनाकोे अभावमा यो नारा प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।’ सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर बालबालिकामा हुने कुपोषणको समस्यालाई कम गर्न सक्ने उनी बताउँछन् ।

अभिभावक नै बालबालिकाको स्वास्थ्यमा बढी सचेत हुनुपर्ने पोषणविद्को सुझाव छ । छिटो–मिठोका लागि गुणस्तर नै नहेरी बालबालिकालाई खाद्य पदार्थ खुवाउनु नहुने उनीहरूको भनाइ छ ।

आमा नै हुनुपर्छ सचेत

गर्भवती महिलाले पोषणयुक्त खानपानमा जोड दिनुपर्ने पोषणविद्को सुझाव छ । गर्भवती अवस्थामा महिला कुपोषित भएको खण्डमा त्यस्ती महिलाबाट जन्मिएका बच्चा पनि कुपोषित हुने सम्भावना प्रबल भएकाले पोषणयुक्त खानपानमा ध्यान दिनु अत्यावश्यक हुन्छ । अर्को वङ्श समेत कुपोषित हुने भएकाले पोषणयुक्त खानपानमा सचेत हुन गर्भवती महिलालाई पोषणविद् बानियाँको सुझाव छ ।

नेपालका गण्डकी, वागमतीजस्ता प्रदेशमा ३० प्रतिशतको हाराहारीमा बालबालिका कुपोषणको समस्यामा परेका छन् । त्यसैगरी, औसत ३६ प्रतिशत बालबालिका कुपोषणको समस्यामा रहेको पोषणविद् बताउँछन् । नेपालका करिव ४० प्रतिशत घरमा कुनै न कुनै हिसाबले पोषणको अभाव भएको पाइएको पोषणविद्को भनाइ छ ।

यसरी हुन्छ खानपान सन्तुलित

बालबालिकालाई माछा–मासु, भात–दाल, गेडागुडी र हरिया सागपात तथा फलफूल सन्तुलितरूपमा खुवाउन बानियाँको सुझाव छ । तौल कम भएका बालबालिकाले माछा–मासु र दूध–दही, घ्यु सन्तुलितरूपमा खानुपर्छ । तौलको कमी र पुड्कोपनको समस्या भएकाले भिटामिन तथा खनिज पदार्थ सन्तुलितरूपमा खानुपर्ने पोषणविद्को सुझाव छ ।

पोषणविद्का अनुसार बालबालिकामा उमेर अनुसारको उचाइ हुनु आवश्यक छ । उमेरअनुसार उचाइ नभएका बालबालिकालाई पछि पोषणयुक्त खानपान गराएर पोषणको परिपूर्ति गरी उचाई बढाउन मुश्किल पर्छ । उमेर अनुसारको मोटाइ नभएका बालबालिका पौष्टिक तत्त्व भएका खानपान गराउँदा मोटोघाटो बन्न सहजता हुन्छ ।

स्वस्थ रहनका लागि विशेषगरी आमा र बालबालिकाले पोषणयुक्त खानपान गर्नुपर्छ, माछा–मासु खानुपर्छ । सन्तुलितरूपमा अण्डा तथा माछा–मासु नखाँदा कुपोषणको सम्भावना हुने भएकाले सन्तुलितरूपमा यस्ता खाद्य पदार्थ खान चिकित्सकको सुझाव छ ।

बालबालिकालाई खानपान गराउने तरिका

डा. उपाध्यायका अनुसार ६ महिनासम्मका शिशुले आमाको दूध खाए पुग्छ । आमाको दूध स्वस्थकर र पोषणयुक्त हुन्छ । ६ महिनाभन्दा साना शिशुलाई आमाको दूधबाहेक गाईको दूध, ल्याक्टोजिनजस्ता बाह्य खाद्य पदार्थ सकेसम्म नखुवाउनु नै उचित हुने पोषणविद्को सुझाव छ ।

शिशु ६ महिनाको भएपछि ९ महिनासम्म दैनिक तीन पटक खानपान गराउनुपर्छ; स्तनपान त छुटाउनै हुँदैन । ९ देखि १२ महिनासम्मका शिशुलाई दैनिक चार पटक खानपान गराउनुपर्ने हुन्छ । सामान्यतः १२ देखि २४ महिनाका शिशुलाई दैनिकरूपमा तीन पटक खाना र दुई पटक खाजा खुवाउन पोषणविद्को सल्लाह छ ।

पेटमा बोसो जम्नबाट बच्नोस् यसरी

रोग सङ्क्रमणको महामारीका बेला प्रायः घरमै बस्नुपर्ने भएकाले यस्तो बेला व्यायामको कमी हुनु स्वाभाविकै हो । व्यायामको कमीका कारण ज्यान भद्धा हुन सक्छ । ज्यानै भद्धा हुँदा पेट पनि भद्धा नहुने कुरै भएन । यस्तो समयमा घरबाहिर गएर व्यायाम गर्न पनि अनेकौं असहजता हुन्छन् । त्यसैले घरमै सहज तरिकाले व्यायाम गर्नु आवश्यक हुन्छ र यसो गर्न सकिन्छ ।

शरीरका विभिन्न अङ्ग तथा भागको जसरी नै पेटको पनि व्यायाम गर्न सकिन्छ । विभिन्न टेक्निक अपनाएर पेटको व्यायाम गर्नाले पेट भद्धा हुनबाट बच्न सकिन्छ । यस्ता व्यायाम गर्नाले पेटलाई स्वस्थ, फूर्तिलो तथा मजबुत राख्न मद्धत मिल्छ ।

खुट्टा चलाउने

पेटको व्यायाम गर्दा सुतेर सुरु गर्नु उचित हुन्छ । उत्तानो सुतेपछि खुट्टा हल्का गरी टाउकोतर्फ उचालिन्छ । खुट्टाले टाउकामा छुने कोशिश गरिन्छ । यो विधिमा सुतेर नै साइकल चलाए जसरी गोलाकाररूपमा खुट्टा चलाइन्छ । दुवै खुट्टालाई सँगसँगै वा पालैपालो विपरीत ढङ्गले तल–माथि गरिन्छ । साइकल चलाए जसरी नै दुवै खुट्टालाई एकै ठाउँमा जोडेर दुवै घुँडा छातीतिर लाँदै छोड्दै गरिन्छ । सुतेकै अवस्थामा खुट्टालाई कैंची आकारमा विपरीत दिशातर्फ दायाँ–बायाँ गरिन्छ । यस्ता किसिमका प्रत्येक व्यायाम ७–८ पटक गर्नु उचित हुन्छ ।

सुतेर गरिने यस्तो व्यायामले पेटमा चाप पारेर बोसो पग्लन सहज गराउँछ । यस्तो व्यायामको प्रतिफलस्वरूप पेटमा बोसोको मात्रा कम हुँदा माङ्शपेशी मजबुत भई पाचन प्रक्रियामा समेत सहजता हुन्छ, जसका कारण ग्याष्ट्रिकलगायतका पेटसम्बन्धी समस्याबाट बच्न मद्धत मिल्छ ।

शरीर मर्काउने

विभिन्न आसनमा बसेर व्यायाम गरी पेट घटाउन सकिन्छ । पलेंटी मारेर बसी कम्मर, पेट तथा हात हल्का गरी बटारेर मर्काउनाले पेटमा चाप परी पेट साइजमा आउँछ, जसले पेट भद्धा हुनबाट बच्न सकिन्छ । बसेकै अवस्थामा लामो सास लिँदै बिस्तारै छोड्नाले पनि पेटमा दवाब पुगी अनावश्यकरूपमा रहेको बोसोको मात्रा कम भई पेट ‘स्लिम’ हुन सहयोग मिल्छ ।

यो विधिमा बसेर नै देब्रे हातलाई कुमको पछाडि लगी दाहिने हातलाई ढाडबाट पछाडि हुँदै कुमबाट पछाडि लगिएको हातको औंलालाई छुने कोशिश गरिन्छ । सुरुमा सुस्त गरेर बानी परिसकेपछि चाँडो–चाँडो पनि गरिन्छ । पछाडि हात लाने व्यायाम दुवै हातले पालैपालो गर्न सकिन्छ ।

यस्तो व्यायाम गर्दा श्वास–प्रश्वासमा भने सहजता हुनुपर्छ; कुनै असहजता भए तुरुन्तै छाड्नुपर्छ । सास लिँदै सहजरूपमा छाड्नाले पनि पेटको व्यायाम पुग्छ । यस्तो व्यायाम करिव १० मिनेट गर्नु उचित हुन्छ ।

उभिँदै निहुरिँदै

यो विधिमा सिधा उभिएर बिस्तारै निहुरिँदै कुप्रो परेर दुवै हातले दुवै घुँडामा छुने कोशिश गर्दै हात सिधा उँभो लगिन्छ । अगाडि जसरी निहुरियो, पछाडि पनि त्यसैगरी सकेजति हात लगिन्छ । उभिएर पेटलाई पालैपालो दायाँ–बायाँ बटार्दै कम्मर मर्काइन्छ ।

यस्तो व्यायामले पेटमा दबाव परी माङ्शपेशी मजबुत हुन सहयोग मिल्छ, जसका कारण पेट सन्तुलित अवस्थामा आउन सहज हुन्छ । यस्तो व्यायाम बिहान र बेलुका गर्नु उचित हुन्छ ।
सन्तुलित खानपानशैली

व्यायाम गरिसकेपछि खानपानमा विशेष ध्यान दिनुपर्छ । व्यायाम गर्ने व्यक्तिले ओखर, काजु, बदामजस्ता पोषणयुक्त पदार्थ खानु राम्रो हुन्छ । दैनिक खानपान पनि सन्तुलित हुनु आवश्यक हुन्छ । हरियो सागसब्जी तथा पहेंला फलफूल र झोलिलो तथा पोषणयुक्त खानपान
गर्नुपर्छ ।

प्रधानन्यायाधीश राणा सहकर्मीबाटै किन परे अप्ठ्यारोमा ?

सहकर्मीहरूले नै असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठ्यारोमा परेका छन् । पछिल्लो समय पाँचदलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गरेका छन् ।

गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएपछि थप विवादमा तानिएका प्रधानन्यायाधीशले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएका छन् । सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश छन्, तीमध्ये १४ जनाले फुलकोर्ट बैठक बहिष्कार गर्ने भएपछि प्रधानन्यायाधीश अप्ठ्यारोमा परेका हुन् ।

नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार प्रधानन्यायाधीशलाई भेटेर न्यायपालिकामा देखिएका समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका पदाधिकारीले राजीनामालगायतको विकल्प खोज्न प्रधानन्यायाधीशलाई सुझाए । बारका प्रतिनिधिसँग प्रधानन्यायाधीशले सोमबार फुलकोर्टको बैठक बसेर समस्याको समाधान खोज्ने बताएका थिए । फुलकोर्ट बैठकमा सहभागी हुन उनले बारका प्रतिनिधिलाई समेत बोलाएका छन् ।

बारका पदाधिकारी बाहिरिएपछि सर्वोच्च अदालतमा उपलब्ध १४ न्यायाधीशले दिउँसो २ बजेदेखि छुट्टै छलफल गरेका थिए । फुलकोर्ट बैठकको एजेण्डामा सर्वोच्चमा बुझाइएको अध्ययन प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी विषय मात्रै राखिएपछि बैठक बहिष्कार गर्ने सहमतिमा १४ न्यायाधीश पुगेका हुन् ।

‘न्यायपालिकाको विषयमा गम्भीर विवाद उठिरहेका बेला वरिष्ठ अधिवक्ताको उपाधिका विषयमा छलफल गर्न बैठक राख्नु ठीक होइन,’ छलफलपछि एक न्यायाधीशले भने– ‘न्यायपालिका प्रमुखको पदमा बसेर मुख्य विषयमा छलफल नगर्ने बैठकमा हामी जाँदैनौं ।’ न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीशले सरकारसँग भागबण्डा मागेको र अदालतलाई विवादित बनाएको विषयमा छलफल भएको एक न्यायाधीशले बताए ।

‘प्रधानन्यायाधीशबाहेक १४ जना न्यायाधीश छलफलमा बस्यौं, पाँचजना आउनुभएको थिएन’– उनले भने । छलफलमा पूर्वन्यायाधीश फोरमले उठाएको विषयमा पनि न्यायाधीशहरूले धारणा राखेका थिए । प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्नेमा उनीहरूले जोड दिएको खबर सोमबारको नागरिक दैैनिकमा प्रकाशित छ ।

ओली–विप्लव भेटमा के–के भए कुराकानी ?

अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष खड्ग ओली र नेपाल कम्युनस्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । ओलीनिवास बालकोटमा मंगलबार भएको भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार भेटमा विप्लवले यसअघि भएको सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिए ।

पछिल्ला केही दिनयता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरिसकेका छन् ।

विभिन्न दलका यी नेताहरूसँगको भेटमा विप्लवले तीनबुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए । ती भेटमा उनले वर्तमान संसदीय व्यस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने भन्दै संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने प्रश्नमा जनमतसंग्रह गर्न प्रस्ताव गरेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।