• जंकफुडको उपभाेग : कति लाभ, कति हानि ?

    जनजिब्रो संवाददाता |

    कोटेश्वर, काठमाडौं बस्ने मीरा बस्नेत उनका १० वर्षे छोरालाई खाजाका रूपमा दिनहुँजसो नै चाउचाउ खुवाउँछिन् । काममा व्यस्त हुने भएकाले उनी अरु खाजा बनाइदिन भ्याउँदिनन् । त्यसैले छोरालाई खाजा खुवाउन चाउचाउ नै पहिलो रोजाइमा पर्छ । मीराले भन्छिन्– ‘काममा जानुपर्छ, खाजा बनाइदिनै भ्याउँदिन अनि चाउचाउ नखुवाएर के गर्नु ?’

    मीरा मात्रै होइन, बबरमहलकी रेखा भट्टराईको पनि समस्या उस्तै छ । उनी पनि आफ्ना छोराछोरीलाई दैनिकजसो चाउचाउलगायतका जङ्क फुड नै खान दिन्छिन् । छोराछोरीलाई पनि घरमा बनाएका खाजाभन्दा चाउचाउ, बिस्कुटजस्ता रेडिमेड खाजा नै मन पर्छन् ।

    मीरा र रेखाका बालबच्चा मात्र होइन, सहरी क्षेत्रमा बस्ने धेरै बालबालिका नियमितजसो जङ्कफुड नै खाजा खान्छन् । सहरमा मात्र होइन, गाउँघरमा समेत आजकाल व्यावासयिक रूपमा उत्पादन गरिएका रेडिमेड खाद्य पदार्थ जताततै र प्रशस्तै पाइन्छन् । यस्ता खाद्य पदार्थ बालबालिकाकै लागि भनेर विशेषरूपमा उत्पादन गरिएको भने कहीं–कतै पाइँदैन ।

    त्यसैले बालबालिकामा कुपोषणको समस्या निम्तन सक्नेतर्फ सचेत गराउँछन् पोषणविदहरू । पर्याप्त मात्रामा पोषणयुक्त खानपानको अभावमा बालबालिका कुपोषणको शिकार हुने गरेको ‘बलियो नेपाल’ पोषण अभियानका प्रमुख कार्यकारी अधिकृत एवं पोषणविद डा. अतुल उपाध्याय बताउँछन् ।

    जङ्क फुडमा सूक्ष्म पोषण–तत्त्व नपाइने भएकाले बालबालिकामा कुपोषणको समस्या दिनानुदिन बढ्न थालेको उनको तर्क छ । पोषणविद्का अनुसार चाउचाउ, चिप्सजस्ता जङ्क फुडमा क्यालोरी पाइन्छ तर आवश्यक सूक्ष्म पोषण–तत्त्वको अभावका कारण बालबालिकाले यस्ता खानेकुरा कम खानु नै उचित हुन्छ ।

    बालबालिकामा दैनिक आवश्यक क्यालोरीमध्ये बजारमा पाइने यस्ता रेडिमेड खाद्य पदार्थबाट करिव २५ प्रतिशत क्यालोरी मात्रै पाइने गरेको पोषणविद्को भनाइ छ । विशेषज्ञका अनुसार व्यावसायिकरूपमा यसरी उत्पादन गरिएका जङ्क फुड दैनिक खाने बालबालिकामा होचोपनाको समस्या बढी देखिन्छ । सूक्ष्म पोषण–तत्त्वकै अभावका कारण यस्ता खाद्य पदार्थले कुपोषण बढाउने सम्भावना प्रबल छ ।

    बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आयोडिन, आइरन, भिटामिन ‘ए’, क्याल्सियमजस्ता सूक्ष्म पौष्टिक तत्त्व चाहिन्छ । तर, प्याकिङ गरिएका जङ्क फुडमा यस्ता पौष्टिक तत्त्व नहुने पोषणविद् भुपाल बानियाँ बताउँछन् । बालबालिकाले नियमित रूपमा यस्ता खाद्य पदार्थ खानाले उमेर बढ्दै जाँदा विभिन्न रोग लाग्नुका साथै हृदयाघातको समेत सम्भावना हुन्छ ।

    यस्ता छन् समस्या

    नेपालको सन्दर्भमा खाद्य पदार्थको अभावका कारण कुपोषणको समस्या हुने समस्या एकातिर छ भने अर्कोतर्फ भएका खाद्य पदार्थ पनि राम्रोसँग बनाएर बालबालिकालाई खुवाउन नजान्दा बालबालिका कुपोषणको मारमा पर्ने गरेको डा. उपाध्याय बताउँछन् ।

    गाउँ–सहर दुवै क्षेत्रका बालबालिकामा कुपोषणको समस्या देखिएको पोषणविद् बताउँछन् । काठमाडौं उपत्यकाका ७ सय ५० बालबालिकामा गरिएको अध्ययनमा दुईतिहाई बालबालिकाले रेडिमेड खाद्य पदार्थ खाने गरेको पाइएको डा. उपाध्यायले बताए । सामान्यतः गाउँघरमा हुर्किएका बालबालिका दुब्लो र होचो हुने (कुपोषणको समस्या) र सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा मोटोपनको समस्या बढी देखिएको पोषणविद् बानियाँ बताउँछन् ।

    सहरी क्षेत्रमा हुर्किएका बालबालिकामा जङक फुड खानाले यस्तो समस्या बढी भएको देखिन्छ । दैनिक बढी मात्रामा क्यालोरियुक्त खाद्य पदार्थ खानाले बालबालिकाको उमेर बढ्दै जाँदा सुगर, रक्तचापजस्ता समस्या निम्तन सक्नेतर्फ पोषणविद् सचेत गराउँछन् ।

    ‘हरेक बार खाना चार भन्ने नारा, नारामा मात्रै सीमित देखिन्छ,’ डा. उपाध्यायले भने– ‘जनचेतनाकोे अभावमा यो नारा प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।’ सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर बालबालिकामा हुने कुपोषणको समस्यालाई कम गर्न सक्ने उनी बताउँछन् ।

    अभिभावक नै बालबालिकाको स्वास्थ्यमा बढी सचेत हुनुपर्ने पोषणविद्को सुझाव छ । छिटो–मिठोका लागि गुणस्तर नै नहेरी बालबालिकालाई खाद्य पदार्थ खुवाउनु नहुने उनीहरूको भनाइ छ ।

    आमा नै हुनुपर्छ सचेत

    गर्भवती महिलाले पोषणयुक्त खानपानमा जोड दिनुपर्ने पोषणविद्को सुझाव छ । गर्भवती अवस्थामा महिला कुपोषित भएको खण्डमा त्यस्ती महिलाबाट जन्मिएका बच्चा पनि कुपोषित हुने सम्भावना प्रबल भएकाले पोषणयुक्त खानपानमा ध्यान दिनु अत्यावश्यक हुन्छ । अर्को वङ्श समेत कुपोषित हुने भएकाले पोषणयुक्त खानपानमा सचेत हुन गर्भवती महिलालाई पोषणविद् बानियाँको सुझाव छ ।

    नेपालका गण्डकी, वागमतीजस्ता प्रदेशमा ३० प्रतिशतको हाराहारीमा बालबालिका कुपोषणको समस्यामा परेका छन् । त्यसैगरी, औसत ३६ प्रतिशत बालबालिका कुपोषणको समस्यामा रहेको पोषणविद् बताउँछन् । नेपालका करिव ४० प्रतिशत घरमा कुनै न कुनै हिसाबले पोषणको अभाव भएको पाइएको पोषणविद्को भनाइ छ ।

    यसरी हुन्छ खानपान सन्तुलित

    बालबालिकालाई माछा–मासु, भात–दाल, गेडागुडी र हरिया सागपात तथा फलफूल सन्तुलितरूपमा खुवाउन बानियाँको सुझाव छ । तौल कम भएका बालबालिकाले माछा–मासु र दूध–दही, घ्यु सन्तुलितरूपमा खानुपर्छ । तौलको कमी र पुड्कोपनको समस्या भएकाले भिटामिन तथा खनिज पदार्थ सन्तुलितरूपमा खानुपर्ने पोषणविद्को सुझाव छ ।

    पोषणविद्का अनुसार बालबालिकामा उमेर अनुसारको उचाइ हुनु आवश्यक छ । उमेरअनुसार उचाइ नभएका बालबालिकालाई पछि पोषणयुक्त खानपान गराएर पोषणको परिपूर्ति गरी उचाई बढाउन मुश्किल पर्छ । उमेर अनुसारको मोटाइ नभएका बालबालिका पौष्टिक तत्त्व भएका खानपान गराउँदा मोटोघाटो बन्न सहजता हुन्छ ।

    स्वस्थ रहनका लागि विशेषगरी आमा र बालबालिकाले पोषणयुक्त खानपान गर्नुपर्छ, माछा–मासु खानुपर्छ । सन्तुलितरूपमा अण्डा तथा माछा–मासु नखाँदा कुपोषणको सम्भावना हुने भएकाले सन्तुलितरूपमा यस्ता खाद्य पदार्थ खान चिकित्सकको सुझाव छ ।

    बालबालिकालाई खानपान गराउने तरिका

    डा. उपाध्यायका अनुसार ६ महिनासम्मका शिशुले आमाको दूध खाए पुग्छ । आमाको दूध स्वस्थकर र पोषणयुक्त हुन्छ । ६ महिनाभन्दा साना शिशुलाई आमाको दूधबाहेक गाईको दूध, ल्याक्टोजिनजस्ता बाह्य खाद्य पदार्थ सकेसम्म नखुवाउनु नै उचित हुने पोषणविद्को सुझाव छ ।

    शिशु ६ महिनाको भएपछि ९ महिनासम्म दैनिक तीन पटक खानपान गराउनुपर्छ; स्तनपान त छुटाउनै हुँदैन । ९ देखि १२ महिनासम्मका शिशुलाई दैनिक चार पटक खानपान गराउनुपर्ने हुन्छ । सामान्यतः १२ देखि २४ महिनाका शिशुलाई दैनिकरूपमा तीन पटक खाना र दुई पटक खाजा खुवाउन पोषणविद्को सल्लाह छ ।