वैशाखमा चुनाव नभए संकटकाल !

वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । तर, वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने अहिले बेला–बेला चर्चामा आइरहने ‘संकटकाल’ लाग्न सक्छ ।

दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२–६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री खड्ग ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्‍यो, कि त चुनावी सरकार बनाउन भन्दै सबैलाई मान्य हुने साझा व्यक्ति खोज्नुपर्‍यो । सबैलाई मान्य हुने व्यक्तिलाई मन्त्रिपरिषदको अध्यक्ष बनाएर २०६९ मा दलहरुले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ता सुम्पिएकै थिए, फेरि त्यस्तै परिदृश्य दोहोरिनु नयाँ कुरा रहेन ।

संविधानको धारा २७३ ले सरकारलाई संकटकालको अधिकार दिएको छ । आफ्नै सत्तामाथि संकट आइपर्दा सदन भंग गरिदिएका ओलीको कदम सर्वोच्चबाट सदर भयो भने उनलाई संकटकाल लगाउन झन् मनोबल बढ्ने छ । संवैधानिक व्वस्थाअनुसार प्रतिनिधिसभा नभएको अवस्थामा संकटकालीन घोषणालाई एक महिनाभित्र राष्ट्रियसभाबाट अनुमोदन गराउनुपर्छ । ओलीका लागि राष्ट्रियसभा प्रतिनिधिसभा जस्तो प्रतिकूल नभएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

त्यसपछि ओलीमा जाग्न थाल्यो प्रतिनिधिसभाप्रति वितृष्णा

भारतीय नाकाबन्दीपश्चात प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर, समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन सक्यो न त अमेरिकासँगको एमसीसी अनुमोदित भयो ।

तर, अर्थ मन्त्रालयमा पुगेपछि थन्क्याएर राखिएका बीआरआई परियोजनाहरुमा उनको सार्वजनिक चिन्ता खासै देखिएन । संसदले एमसीसी सम्झौता अनुमोदन नगरेको विषयलाई भने ओलीले आफ्नो ‘प्रतिष्ठाको विषय’ नै बनाए । प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अनुमोदन गर्ने सन्दर्भमा न न पार्टीको साथ पाए न त सभामुखको ।

त्यसैले, सभामुखबाट कृष्णबहादुर महराको बहिर्गमनपछि ओली आफ्नै निकटस्थलाई त्यो पदमा पुर्‍याउन चाहन्थे, जसका कारण संसद् पनि आफूअनुकूल चलोस् । तर, उनले अघिसारेका सुवास नेम्बाङ र शिवमाया तुम्बाहाङ्फे दुवैको नाममा दाहाल–नेपाल समूहले स्वीकृति दिएन, अग्निप्रसाद सापकोटा सभामुख बने । त्यसपछि फेरि पनि संसद् ओलीको अनुकूल हुन सकेन, एमसीसी सम्झौताको भविष्य पनि अन्योलपूर्ण रह्यो, जुन आजपर्यन्त छ ।

सम्भवतः त्यही विन्दुबाट प्रधानमन्त्रीमा तत्कालीन प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो । त्यसैले ओलीले ५ पुस अगावै १ पुसमा, अझ त्यसभन्दा अगािड नै साउन र वैशाखमा प्रतिनिधिसभा विघटन गर्ने प्रयास गरेका थिए । तर, आफ्नै समुहका नेताहरु, राष्ट्रपति र प्रधान न्यायाधीशका कारण सफल हुन सकेनन् । त्यसपछि ५ पुसमा गरेकाे विघटन समेत सर्वाेच्चले उल्टाइदिएपछि उनी फेरि पनि वातावरण तयार पारेर विघटन गर्ने प्रयासमा अहाेरात्र लागिरहेकै छन् ।

‘दक्षिणले हामीलाई अब दुःख दिँदैन’ : ‘कमरेड’ हरूसँग ओलीको खुलासा

‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन’– प्रधानमन्त्री खड्ग ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको ‘उपलब्धि’ बारे यसरी आश्वस्त तुल्याए ।

५ कात्तिक अर्थात् २१ अक्टोबरमा गोयल काठमाडौं ओर्लनासाथ आराम गर्न होटल पुगे । दिनभरि यताउता बिताए । राति ९ बजेपछि प्रधानमन्त्रीसँग बालुवाटारमा एक घन्टा पाँच मीनेट एक्लाएक्लै वार्ता गरे । त्यसपछिको भेटमा चाहिँ भारतको विदेश मन्त्रालयमा नेपाल–भूटान मामिला हेर्ने नर्थइस्ट डेस्क भने झैं ‘रअ’ को तर्फबाट नेपाल मामिला हेर्ने दोस्रो हैसियतका तोमर र ‘रअ’ प्रमुखको सचिवालय प्रमुख अरुण जैनहरू समेत सहभागी थिए ।

अरुण भूकम्पताका नेपालमा विवेक जोहरीपछि दोस्रो वरियतामा कार्यरत थिए । यी तीन जना बसेर भएको वार्ताको टिपोटचाहिँ नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले गरेका छन् । तर, यो भेटघाटमा पनि नेपालस्थित ‘रअ’ का स्टेसन म्यानेजर अभिजित हल्दरलाई भने सामेल गरिएको थिएन । बरु, बालुवाटारबाट निस्किएपछि बालुवाटारस्थित उनकै निवासमा पुगेर सामन्तले भेटे ।

भारतले यसअघि पनि ‘रअ’ प्रमुखसहितका जासुसहरूलाई नेपाल पठाउने गरेको थियो । अध्यागमन मामिलासहित हेर्ने गरी ‘रअ’ का मानिस दूतावासमै तैनाथ छन् । यसरी सुक्ष्म तवरबाट भारतले नेपाल मामिला हेर्ने पुरानै क्रम हो । तर, नेपालका तर्फबाट खुल्लमखुला, ठूलो होहल्लासहित, सार्वजनिक सूचना जारी गरेरै भ्रमण भएको चाहिँ यो नै पहिलोचोटि हो ।

भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री ओली चीनतिर ढल्किएको जनाए पनि यो भ्रमणबारे आफूले केही नबोली नेपालकै तर्फबाट सार्वजनिक गर्न लगाएर ‘नेपालका निम्ति भारत विशेष महत्त्वको छ’ भन्न देखाउन चाहेको प्रस्टै छ । नेपालकै चाहनामा यो भ्रमण भएको स्रोतको दावी छ । र, हाम्रा प्रधानमन्त्री भारतको जुनसुकै तहका मानिससँग पनि सहजै भेट्न तयार भएको सन्देश पनि यो भ्रमणबाट दिइएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

आ–आफ्नै रणनीतिमा शीर्ष नेताहरू : फुट्छ कि जुट्छ नेकपा ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आ–आफ्नो रणनीतिमा जुटेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू आगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । आपसमा संवाद गर्न छाडेर शीर्ष नेताहरू आ–आफ्नै रणनीति बनाउन लागेपछि कार्यकर्ता तहमा आक्रोश र निराशा बढ्दै गएको छ ।

‘अहिले एकले अर्को पक्षको आगामी कदम के हुने भन्ने कुरा चासोका साथ हेरिरहेका छन्,’ स्रोतले भन्यो– ‘एउटा पक्षले कुनै कदम चालेमा अर्को पक्षले पनि सोहीअनुसार अगाडि बढ्ने रणनीति बनाउनमा नै उनीहरू व्यस्त छन् ।’

महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकटमा परेको र फुट नजिक पुगेको खुलासा गरेसँगै शीर्ष नेताहरूले पार्टी एकताबारे चासो र चिन्ता व्यक्त गरेका छन् । कतिपय नेताले आफू आबद्ध समूहको प्रतिरक्षा गर्दै अर्को समूहको आलोचना गर्नमै सामाजिक सञ्जालमा शब्दहरू खर्चिरहेको खबर सुभाष साहको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।