• ‘दक्षिणले हामीलाई अब दुःख दिँदैन’ : ‘कमरेड’ हरूसँग ओलीको खुलासा

    |

    ‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन’– प्रधानमन्त्री खड्ग ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको ‘उपलब्धि’ बारे यसरी आश्वस्त तुल्याए ।

    ५ कात्तिक अर्थात् २१ अक्टोबरमा गोयल काठमाडौं ओर्लनासाथ आराम गर्न होटल पुगे । दिनभरि यताउता बिताए । राति ९ बजेपछि प्रधानमन्त्रीसँग बालुवाटारमा एक घन्टा पाँच मीनेट एक्लाएक्लै वार्ता गरे । त्यसपछिको भेटमा चाहिँ भारतको विदेश मन्त्रालयमा नेपाल–भूटान मामिला हेर्ने नर्थइस्ट डेस्क भने झैं ‘रअ’ को तर्फबाट नेपाल मामिला हेर्ने दोस्रो हैसियतका तोमर र ‘रअ’ प्रमुखको सचिवालय प्रमुख अरुण जैनहरू समेत सहभागी थिए ।

    अरुण भूकम्पताका नेपालमा विवेक जोहरीपछि दोस्रो वरियतामा कार्यरत थिए । यी तीन जना बसेर भएको वार्ताको टिपोटचाहिँ नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले गरेका छन् । तर, यो भेटघाटमा पनि नेपालस्थित ‘रअ’ का स्टेसन म्यानेजर अभिजित हल्दरलाई भने सामेल गरिएको थिएन । बरु, बालुवाटारबाट निस्किएपछि बालुवाटारस्थित उनकै निवासमा पुगेर सामन्तले भेटे ।

    भारतले यसअघि पनि ‘रअ’ प्रमुखसहितका जासुसहरूलाई नेपाल पठाउने गरेको थियो । अध्यागमन मामिलासहित हेर्ने गरी ‘रअ’ का मानिस दूतावासमै तैनाथ छन् । यसरी सुक्ष्म तवरबाट भारतले नेपाल मामिला हेर्ने पुरानै क्रम हो । तर, नेपालका तर्फबाट खुल्लमखुला, ठूलो होहल्लासहित, सार्वजनिक सूचना जारी गरेरै भ्रमण भएको चाहिँ यो नै पहिलोचोटि हो ।

    भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री ओली चीनतिर ढल्किएको जनाए पनि यो भ्रमणबारे आफूले केही नबोली नेपालकै तर्फबाट सार्वजनिक गर्न लगाएर ‘नेपालका निम्ति भारत विशेष महत्त्वको छ’ भन्न देखाउन चाहेको प्रस्टै छ । नेपालकै चाहनामा यो भ्रमण भएको स्रोतको दावी छ । र, हाम्रा प्रधानमन्त्री भारतको जुनसुकै तहका मानिससँग पनि सहजै भेट्न तयार भएको सन्देश पनि यो भ्रमणबाट दिइएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।