नीतिगत भ्रष्टाचारमा मन्त्री–सचिवबीच यसरी हुन्छ मिलिमतो

नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवहरुकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टचार रोकिन सकेका छैनन् । नीतिगत भ्रष्टाचारमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै बढी मिलिमतो हुने गरेको तथ्य विभिन्न अध्ययनले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना वार्षिक प्रतिवेदनहरुमा समेत नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम उच्च रहेको र त्यसमा राजनीतिक नेतृत्व नै मुख्य रुपमा दोषी हुने उल्लेख गर्दै आएको छ । पछिल्ला समयमा सार्वजनिक भएका ललितानिवास जग्गा प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतमा समेत राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै मिलिमतोमा अनियमितता र भ्रष्टाचार भएको पुष्टि हुँदै आएको छ ।

सो प्रकरणमा दोषी देखिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत अहिले पुर्पक्षका लागि जेलमा छन् । अन्य कैयौ पूर्वमन्त्री र सचिवहरुमाथि समेत विभिन्न आरोप लाग्दै आइरहेको छ । ललितानिवास प्रकरणमा भएको अनियमिततामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई समेत मुछिँदै आएका छन् ।

विज्ञहरुका अनुसार नीतिगत भ्रष्टचारले राजनीतिक र प्रशासनिक क्षेत्र नराम्ररी कुँजिएको र बद्नाम हुँदै आइरहेको छ । प्रधानमन्त्री, मन्त्री र सचिवको मिलिमतोमा नीतिगत भ्रष्टचार हुने गरेको प्रशासनविद् शारदाप्रसाद त्रितालले दाबी गरे। ‘अहिले पनि त्यस प्रकारका ठूलठूला नीतिगत भ्रष्टाचार भइरहेका हुन सक्छन्, त्यसलाई बाहिर ल्याउन खोज पत्रकारिता आवश्यक पर्छ’– प्रशासनविद् त्रितालले भने । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबाट लामो समयदेखि नीतिगत भ्रष्टाचार हुँदै आइरहेको र त्यसले मुलुकको विकास र समृद्धिमा गम्भीर धक्का पुर्‍याएको उनले दाबी गरेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

पुष्पलालबारे मेरा अनुभूति

नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलालका आरोह–अवरोह

१६ माघ, १९९७ (वि.सं.) मा राणाहरूले दाजु गङ्गालालको हत्या गरेसँगै पुष्पलालले ‘राणातन्त्र र शाहतन्त्रको समुल नष्ट गरी प्रगतिशील लोकतान्त्रिक नेपाल स्थापना गर्ने’ प्रतिबद्धता जाहेर गर्नुभयो । र, सोही प्रतिबद्धता पूरा गर्ने दिशातर्फ नै निरन्तर अघि बढिरह्यो उहाँको राजनीतिक जीवन । जेठा दाजु गङ्गालालको सहादत हुनुभन्दा अघिल्लो दिन उहाँलाई भेट्न भद्रगोल जेल जानुभएको रहेछ माइला दाजु पुष्पलाल । त्यस भेटमा गङ्गालालले भन्नुभएछ– “माइला ! मैले प्रजातन्त्रका लागि बालेको दियोलाई तिमीले निरन्तर प्रज्वलित गरिरहने छौ, त्यसलाई कदापि निभ्न दिने छैनौ ।”

जेठा दाइको त्यस भनाइले माइला दाजुलाई राम्रैसँग प्रभावित पारेछ । पुष्पलालको राजनीतिक यात्रा गङ्गालालको त्यसै भनाइअनुसार नै अघि बढेको देखिन्छ ।

राजनीतिक यात्रा अघि बढाउने सुरुआती कदमका रूपमा वि.सं. १९९८ मा पुष्पलाल ‘प्रजातान्त्रिक महासभा’ को संस्थापक बन्नुभयो । शान्ति निकुञ्ज विद्यालयमा गठन गरिएको सो महासभामा सूर्यबहादुर भारद्वाज, नरबहादुर कर्माचार्य, प्रेमबहादुर कङ्शाकार, बटुककृष्ण शर्मा, भगवती वादी, धर्मरत्न यमीलगायतका व्यक्तित्वहरू आबद्ध थिए । त्यसपछि वि.सं. २००३ मा उहाँ नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक सदस्य र केन्द्रीय कार्यालय सचिव बन्नुभयो । केही समयपछि विश्वेश्वरप्रसाद कोइराला जेल परे र एक वर्षपछि छुटे ।

बीपी जेलबाट छुटेपछि उनी र डा. डिल्लीरमण रेग्मीबीच झगडा चर्कियो । उनीहरूलाई मिलाउन पुष्पलाल तेह्र दिनसम्म अनसन बस्नुभयो । तैपनि बीपी–डिल्लीरमणबीच मेलमिलाप सम्भव नदेखिएपछि पुष्पलाल अनसन तोडेर भौंतारिँदै कलकत्ता पुग्नुभयो ।

कलकत्तामा पुष्पलालले भारतीय कम्युनिस्ट पार्टीका नेता एवम् सांसदद्वय रत्नलाल ब्राह्मण र नृपेन्द्र चक्रवर्तीलाई भेट्नुभयो । उनीहरूले पुष्पलाललाई माक्र्सवादको बाटो अवलम्बन गर्दै कम्युनिस्ट पार्टी स्थापना गरेर मात्र राष्ट्र र जनताको मुक्ति सम्भव हुने सुझाव दिए । त्यसपछि उहाँले माक्र्सवादको गहिरो अध्ययन गर्नुभयो र मार्क्स–एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई नेपालीमा अनुवाद गर्नुभयो । यो अनुवाद नेपाली इतिहासकै पहिलो मार्क्सवादी साहित्य बन्यो; यसैमार्फत पुष्पलाल नै नेपालको पहिलो माक्र्सवादी लेखक बन्न पुग्नुभयो ।

उहाँकै अगुवाईमा १० वैशाख, २००६ (२२ अप्रिल, १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पुष्पलालले नै नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा लेख्नुभयो । पहिलो पटक गठन भएको नेकपाको पाँच सदस्यीय केन्द्रीय तदर्थ समितिमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठ थिए । पुष्पलालले नै लेखेको ‘नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र’ ३० भदौ, २००६ (१५ सेप्टेम्बर १९४९) मा जारी भयो ।

वि.सं. २००८ मा कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनमा पुष्पलालद्वारा प्रस्तुत ‘नयाँ जनवादी गणतन्त्र’ को कार्यक्रम प्रस्तुत भई पारित भयो । यही सम्मेलनले पुष्पलाललाई ‘नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महामन्त्री’ घोषणा गर्‍यो ।

वि.सं. २०१० मा नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । महाधिवेशनमा पुष्पलालको ‘नयाँ जनवादी गणतन्त्र’ को कार्यक्रम अस्वीकृत भई मनमोहन अधिकारीको राजनीतिक लाइन पारित भयो । मनमोहन अधिकारी महामन्त्री बने ।

दोस्रो राष्ट्रिय सम्मेलनअघि मनमोहनलाई कुष्ठरोग लागेकाले उपचारका निम्ति उनी चीन गए । त्यसबेला मनमोहनले पुष्पलाललाई ‘कार्यवाहक महामन्त्री’ बनाउन खोजे तर पुष्पलालले अस्वीकार गर्नुभयो । त्यस अवधिमा आफ्नो राजनीतिक लाइन पारित भएको नभएकाले लाइनविनाको नेतृत्व समाल्न पुष्पलालले अस्वीकार गर्नुभएको थियो । पुष्पलाल नमानिसकेपछि डा. केशरजङ्ग रायमाझीलाई कार्यवाहक महामन्त्री बनाएर महामन्त्री मनमोहन उपचारका निम्ति चीन गए ।

वि.सं. २०१२ मा नेकपाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यो सम्मेलनले फेरि पुष्पलालकै राजनीतिक लाइन पास गर्‍यो ।

वि.सं. २०१४ मा नेकपाको दोस्रो राष्ट्रिय महाधिवेशन भयो । महाधिवेशनले पुष्पलालद्वारा प्रस्तुत ‘नयाँ जनवादी गणतन्त्र’ कै लाइन पास गर्‍यो तर पुष्पलालको भन्दा फरक मत र विचार राख्नेहरूको बहुमत हुने गरी केन्द्रीय समिति गठन भयो । लाइन पुष्पलालको पारित भए तापनि केन्द्रीय समितिको बहुमत अर्कैतिर भएकाले दोस्रो महाधिवेशनबाट केशरजङ्ग रायमाझी नै महामन्त्री बने ।

वि.सं. २०१४ मा पुष्पलालद्वारा आह्वान गरिएको ‘भद्र अवज्ञा’ आन्दोलन सुरु भयो । नेपाली काङ्ग्रेस पनि संविधानसभा चुनावको माग गर्दै सो आन्दोलनमा सहभागी भयो । राजा महेन्द्रले संविधानसभाको निर्वाचन गराउन त मानेनन् तर उनी संसद्को चुनाव गराउन भने सहमत भए । सङ्कटकालीनलगायतका कतिपय महङ्खवपूर्ण अधिकार आफैंमा राखेर राजा महेन्द्रले संविधान जारी गरे । पुष्पलालले भने सङ्कटकालीन अधिकार राजामा नभई संसद्मा हुनुपर्ने माग गरे । संविधानसभाको माग त्यागेर काङ्ग्रेसले त्यही संविधान र चुनाव स्वीकार्‍यो । अन्ततः वि.सं. २०१५ मा नेपालमा पहिलो संसदीय चुनाव भयो ।

राजाकै ‘निगाह’ मा जारी भएको संविधानमा राखिएको सोही ‘सङ्कटकालीन अधिकार’ प्रयोग गरेर १ पुस, २०१७ मा राजाले जननिर्वाचित संसद् विघटन गरिदिए । सबै नेताहरूलाई गिरफ्तार गरे र राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । राजा महेन्द्रका ती हर्कतहरूका विरुद्ध काङ्ग्रेस–कम्युनिस्टसहित सबै दल मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने प्रस्ताव पुष्पलालले अघि सार्नुभयो । तर, डा. रायमाझीले भने राजाकै ‘कदम’ को ‘स्वागत’ र ‘समर्थन’ गरे । रायमाझीहरूको ‘पतन’ को प्रतिवाद गर्दै पुष्पलाल, तुलसीलाल अमात्यलगायतले नेपाल कम्युनिस्ट पार्टीको ‘अन्तरजोनल सामन्जस्य समिति’ गठन गरे । यो पक्षले ‘शाही कदम’ को समर्थन गर्ने केशरजङ्गलगायतलाई पार्टीबाट निष्काशन गरी वि.सं. २०१८ मा वनारसमा तेस्रो महाधिवेशन गर्‍यो । नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनबाट तुलसीलाल अमात्य महामन्त्रीमा चुनिए ।

तेस्रो महाधिवेशनपछि पनि नेपाल कम्युनिस्ट पार्टीले खासै गति लिन सकेन । राजाको ‘कदम’ का विरुद्ध सङ्गठन विस्तार र सङ्घर्ष सङ्गठित गर्नुपर्नेमा महामन्त्री तुलसीलाल र उनी नेतृत्वको केन्द्रीय समिति पनि निष्कृयजस्तै देखिए ।

त्यसपछि पुष्पलाल, हिक्मतसिंह भण्डारी, बलराम उपाध्याय, एकदेव आले, प्रेमप्रकाश नेपाल र देवेन्द्र अमात्य गरी छ जनाको पहलमा २०२५ मा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन गरियो । त्यो सम्मेलन यस अर्थमा ऐतिहासिक रह्यो कि यसले नेपालमै पहिलो पटक ‘माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा’ लाई पार्टीको मार्गनिर्देशक सिद्धान्तका रूपमा अङ्गीकार गर्‍यो । सोही सम्मेलनले नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने लाइन पारित गरेर फेरि पनि पुष्पलाललाई नै महामन्त्री चयन गर्‍यो ।

पुष्पलालकै नेतृत्वमा २०२९ मा नेकपाको चौथो राष्ट्रिय सम्मेलन भयो । यो सम्मेलनले नेपाली कम्युनिस्ट आन्दोलनलाई ‘प्रजातान्त्रिक–लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्ग’ का रूपमा अघि बढाउने निर्णय लियो । यही सम्मेलनले सङ्घर्षका वैधानिक–अवैधानिक दुवै स्वरूपलाई सँगसँगै अघि बढाउने र विशाल सहरिया एवम् ग्रामीण संयुक्त जनआन्दोलनद्वारा राजाको निरङ्कुशतालाई पराजित गरी लोकतान्त्रिक प्रगतिशील नेपाल निर्माण गर्ने कार्यनीति पास गर्‍यो । नेकपाको यही कार्यनीतिअनुरूप २०२८/२९ का विशाल किसान र विद्यार्थी आन्दोलन तथा लुम्बिनी, गण्डकी, सगरमाथा, भेरी, राप्ती, कोसी र मेचीमा विशाल किसान आन्दोलन भए । चौथो राष्ट्रिय सम्मेलनको यही कार्यनीतिअनुसार नै २०३१/३२ को संयुक्त विद्यार्थी आन्दोलन भयो र पञ्चायती निरङ्कुशतालाई धराशायी पार्न महङ्खवपूर्ण भूमिका निर्वाह गर्‍यो ।

अल्पायुमै दुःखद् निधन

पार्टी प्रशिक्षणका लागि २०३५ असार पहिलो साता दरभङ्गा पुगेका बेला पुष्पलाललाई हृदयाघात भयो । त्यहाँका मे.डा. विश्वनाथ सिंहले उनलाई दरभङ्गा मेडिकल कलेजमा भर्ना गरे । भाउजू सहाना प्रधान पनि त्यहीं हुनुहुन्थ्यो ।

पुष्पलाल गम्भीर बिरामी परेको थाहा पाएपछि नेपालको जेलबाट भर्खरै छुटेका गणेशमान सिंह पनि दरभङ्गा पुगे । फारवेसगञ्जमा रहेका गिरिजाप्रसाद कोइराला पनि त्यहीं आइपुगे । बलराम उपाध्याय पनि वनारसबाट दरभङ्गा पुगे । पुष्पलालको उपचार त्यहाँ सम्भव नहुने देखिएपछि ती सबै नेताहरू मिली रेलको डिब्बा रिजर्भ गरेर उहाँलाई दिल्ली लगी गोविन्दबल्लभ पन्त अस्पतालमा भर्ना गरियो ।

तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देशाई, सत्तारुढ जनता पार्टीका अध्यक्ष चन्द्रशेखर र भारतीय रक्षामन्त्री जर्ज फर्नाण्डिज समेतले पुष्पलालको उपचारमा ध्यान दिए । उहाँलाई सुविधासम्पन्न क्याबिनमा राखेर उपचार गराउन प्रयास गरियो । तर, पुष्पलाल स्वयम्ले भने क्याबिनमा बसेर उपचार गराउन मान्नुभएन; साधारण बेडमै बस्नुभयो । उक्त अस्पतालको मेडिकल बोर्डले स्रोत–साधनसम्पन्न युरोपको कुनै अस्पताल लगिए मात्र पुष्पलालको उपचार सम्भव हुने, अन्यथा उहाँको उपचार सम्भव नदेखिएको राय दियो ।

भारतका तत्कालीन सत्तारुढ जनता पार्टीका अध्यक्ष चन्द्रशेखर र रक्षामन्त्री फर्नाण्डिजले भारत सरकारकै आर्थिक सहयोगमा युरोप लगेर उपचार गराइदिने प्रस्ताव राखे । तर, त्यता गएर आफ्नो उपचार गराउन उहाँले मान्नुभएन । पुष्पलालले भन्नुभयो– “नेपाली जनताले सके मलाई बचाउलान्, सकेनछन् भने पनि तपाईंहरूको खर्चमा युरोप जान्नँ र उपचार पनि गराउँदिनँ ।”

अन्ततः ७ साउन, २०३५ मा सोही अस्पतालमा पुष्पलालको निधन भयो । भारतीय प्रधानमन्त्री देशाईले पुष्पलालको शव नेपाल पठाउन अनुरोध गरे तापनि राजा वीरेन्द्रले स्वीकृति दिएनन् । त्यसपछि यमुना नदीको निगमबोध घाटमा (भारतमै) पुष्पलालको अन्त्येष्टि गरियो । उहाँको दाहसंस्कारका बेला भारतीय नेताहरू चन्द्रशेखर, मधु लियम, जर्ज फर्नाण्डिज, सी. राजेश्वर राव, हरिकिसन सिंह सूरजित, गोविन्द मुखोटी, एम.जे. अकबर, सी. सुब्रमण्यम् स्वामी तथा नेपाली नेताहरू गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, बलराम उपाध्याय, हिक्मतसिंह भण्डारी, निर्मल लामा, सहाना प्रधानलगायत उपस्थित थिए । यसरी नेपालका एक देशभक्त, प्रजातान्त्रिक एवम् प्रगतिशील योद्धालाई अल्पायुमै गुमाइयो ।

क्रमशः पूरा हुँदै पुष्पलालका सपना

पुष्पलालद्वारा नै प्रस्तावित संयुक्त राष्ट्रिय जनआन्दोलनको कार्यनीतिअनुसार नेपालका सबै कम्युनिस्ट घटकहरू र नेपाली काङ्ग्रेस समेत सहभागी भएर २०४६ मा पञ्चायती व्यवस्था र राजाको निरङ्कुशता ढालियो; राजा ‘संवैधानिक’ बन्न बाध्य भए । पुष्पलालद्वारा स्थापित सोही कार्यनीतिको विकसित एवम् परिमार्जित स्वरूपको संयुक्त जनआन्दोलनद्वारा नै २०६२/६३ मा सामन्तवादको प्रतीक राजतन्त्र पनि ढल्यो ।

त्यसपछि, पुष्पलालले उहिल्यै प्रयास गरेको संविधानसभाको चुनाव समेत सम्पन्न भयो । र, अन्ततः सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको स्थापना भयो । यद्यपि पुष्पलालको सपनाअनुरूप आमूल राजनीतिक क्रान्ति, सामाजिक रूपान्तरण, समतामूलक समाजको निर्माण र रोजगारमूलक अवस्थाको सिर्जना हुन भने अझै पनि बाँकी नै छ । नयाँ जनवादी गणतन्त्रले पूर्णता प्राप्त गरी समाजवादमा अघि बढ्ने काम अझै बाँकी छ ।

(पुष्पलालका कान्छा भाइ विजयलालसँग कुराकानीका आधारमा)