• गायक प्रेमराजा दम्पतीलाई नै कोरोना

    |

    परिवारसहित लामो समयदेखि अमेरिका बस्दै आएका गायक प्रेमराजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ । महतले आफ्नै फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

    प्रेमराजाले हाल आफूहरु घरको कोठाभित्रै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । आफूहरु चिकित्सक समेत रहेका छोरा सरगमको स्वास्थ्य निरीक्षण र निगरानीमा रहेको उनले जनाएका छन् ।

    अमेरिकाको बाल्टिमोरमा व्यवसाय सञ्चालन गर्दैआएका गायक महत अमेरिकाका लागि नेपाली महावाणिज्यदूत पनि हुन् । यस्तो छ, गायक महतले ‘फेसबुक’ मा लेखेको ‘स्ट्याटस’ जस्ताको तस्तै–

    समुदायका सम्पूर्ण दिदीबहिनी–दाजुभाइ तथा इष्टमित्रहरूमा हार्दिक अपिल । यदि हामीले समयमै सतर्कता अपनाएनौं भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउनेवाला छैन । ध्यान राख्दाराख्दै दुर्भाग्यवश हामी श्रीमान्–श्रीमती पनि यसबाट बच्न सकेनौं । हामी अहिले आफ्नै घरका एक–एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं ।

    यदि हाम्रो परिवारबाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि शर्म नमानीकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु । इमानदारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ । जय पशुपतिनाथ !

    नेपालका चर्चित लोकगायक दम्पतीलाई विदेशमा कोरोनाले समाएको यो खबर अन्नपूर्णपोस्ट अनलाइनमा प्रकाशित छ ।