• कोरोनाबाट ११७ नेपालीको विश्वभर मृत्यु, १२,८११ जना संक्रमित (कहाँ कति ? विवरणसहित)

    |

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणले शनिबार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोनाका कारण यो साता थप २१ जना नेपालीले ज्यान गुमाएका छन् ।

    संघका अनुसार युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

    समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा १८ जना नेपालीको निधन भएको छ । त्यस्तै, कोरोनाभाइरसका कारण संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेरसमूहमा सबैभन्दा धेरै (५३ प्रतिशत) को निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांकअनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेरसमूहका छन् । ४० वर्षभन्दा कम उमेरसमूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ, बाँकी ८ प्रतिशतको उमेरसमूह खुलेको छैन ।

    संयोजक डा. सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोनाभाइरसबाट मुक्त भएको जानकारी सापकोटाले दिएका छन् । अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

    स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९ सय ११, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय ३०, साउदी अरबमा १ हजार ३ सय ६४, नेपालमा ५ सय ८५, युएईमा ५ सय, बहराइनमा ३ सय ११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङकंङमा २, पोल्याण्डमा २, रुसमा २, म्यानमारमा १, रोमानियामा १ र फ्रान्समा १ नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।