• समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

    प्रकाश थापामगर |

    काठमाडौं, १३ कात्तिक ।

    कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भएको हो ।

    विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी थापाले कला–साहित्यको समाजवादी स्वरूपबारे सात बुँदामा व्याख्यान प्रस्तुत गरे । समाजवादमा पनि वर्ग रहने हुनाले वर्गीय पक्षधरता नै समाजवादी कला–साहित्यको पहिलो महत्त्वपूर्ण विषय भएको थापाले बताए । समाजवादमा समेत वर्ग समाप्त भयो भन्न वा वर्गभन्दा माथि उठेको दावी गर्न नसकिने उनले बताए ।

    त्यस्तै, सर्वाहारा अन्तर्राष्ट्रवाद समाजवादी कला–साहित्यको दोस्रो महत्त्वपूर्ण तत्त्व भएको उनले बताए । समाजवाद विश्व व्यवस्था भएकाले समाजवादी कला–साहित्यले सर्वाहारा अन्तर्राष्ट्रवादलाई प्रतिबिम्बन गर्नुपर्नेमा उनले जोड दिए । समाजवाद स्थापना भइसकेपछि पनि साम्राज्यवादसित जीवन–मरणको सङ्घर्ष हुनु र त्यसको प्रतिबिम्ब कला–साहित्यमा देखापर्नु समाजवादी कला–साहित्यको तेस्रो पक्ष भएको थापाको तर्क छ ।

    समाजवादी व्यवस्थाभित्रको आलोचनात्मक चेत समाजवादी कला–साहित्यको चौथो तत्त्व भएको उनले बताए । हाम्रो समाजमा आलोचनालाई भण्डाफोरका रूपमा बुझ्ने कमजोरी रहेको चर्चा गर्दै आलोचनाभित्रको रचनात्मकतातर्फ कम्युनिस्टहरूको ध्यान जानुपर्ने उनले बताए । समाजवादअन्तर्गत पनि निरन्तर क्रान्तिको सिद्धान्त लागू गर्नु र त्यसलाई कला–साहित्यमार्फत् अभिव्यक्ति दिनु समाजवादी कला–साहित्यको पाँचौँ तत्त्व थापाले बताए । कुनै पनि वस्तुको एकको दुईमा विभाजन हुने हुनाले विपरीतहरुका बीच जीवन–मरणको सङ्घर्ष चलाउनु नै निरन्तर क्रान्तिको सिद्धान्त भएको उनको भनाइ छ ।

    दैनिक समस्या समाधानमा ध्यान दिँदै क्रान्तिलाई अगाडि बढाउनु समाजवादको छैटौं महत्त्वपूर्ण पक्ष भएको बताउँदै समाजवादी कला–साहित्यमा यस्तो सिद्धान्तको अभिव्यक्ति देखिनुपर्ने उनले बताए । साम्यवादी आदर्श स्थापित गर्दै समाजवादले साम्यवादका लागि ढोका खोलिदिने यथार्थको प्रतिबिम्बन गर्नु समाजवादी कला–साहित्यको सातौं महत्त्पूर्ण तत्त्व भएको उनले बताए । जसरी नयाँ जनवादले समाजवादका लागि ढोका खोलिदिन्छ, त्यसरी नै समाजवादले साम्यवादका लागि ढोका खोलिदिनुपर्ने विचार उनले व्यक्त गरे ।

    कार्यक्रममा मन्तव्य राख्दै सङ्घका अध्यक्ष प्रा.डा. गिरीले प्रगतिशील लेखकहरूले समाजवादी बिम्बलाई आधार बनाएर लेखनको नयाँ सिलसिला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए । उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा नारायण मरासिनी, प्रकाश थापामगर, हरिप्रसाद सिलवाल र गिरीप्रसाद बुढाले पूरक टिप्पणी राखे ।