• आदिवासी संस्कृतिमाथि योजनाबद्ध आक्रमण : गुरुङ

    जनजिब्रो संवाददाता |

    नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङले नेपाली संस्कार र संस्कृतिमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् ।

    ‘विशेष गरेर नेपाली आदिवासी–जनजातिका कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसका विरुद्ध लाग्नु आजको आवश्यकता हो’, गुरुङले भने ।

    फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. ले बिहीबार संवाद डबलीमा आयोजना गरेको ‘सम्मान तथा शुभसाइत’ कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालमा अझै सामन्तवादी संस्कृतिले जरा गाडिरहेको बताए । उनले नेपाली संस्कार र संस्कृतिमाथिको बाह्य आक्रमणलाई सामन्तवादी संस्कृतिले सहयोग गरिरहेको बताए ।

    कार्यक्रममा फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘दुस्साहस’ को शुभारम्भ गरियो । दिनेश लिङ्देन निर्माता तथा निर्देशक रहेर बन्ने उक्त चलचित्रमा सोम लामा, अजय खड्का, निषा पोमु, प्रिजन श्रेष्ठ, प्रदिप योङहाङ, रुपा राना, विवेघ बेघा, कल्याण राई, उदय सुब्बा, मेहन्द्रकुमार राईलगायतका कलाकारहरुले अभिनय गर्ने जानकारी गराइयो ।

    कार्यक्रममा डा. विजय लिङ्देन, कल्पना योङ्हाङ, उदय सुब्बालगयतले नयाँ बन्न लागेको चलचित्रलाई शुभकामना दिए । यसै हप्तादेखि छायांकन सुरु गरिने उक्त चलचित्रमा राजु किराती, संगीता विकास चौधरीलगायत द्वन्द्वमा भूमिकामा हुनेछन् भने ज्ञानु राईले छायांकन गर्नेछन् । चलचित्रमा समेटिने गीतमा रोशन सुवेदी, मेनुका राईलगायतले स्वर दिनेछन् ।

    कार्यक्रममा छक्कापञ्जाकी निर्देशक तथा कलाकार दिपाश्री निरौलालगायतका कलाकार र समाजसेवीहरुलाई सम्मान समेत गरिएयो ।