• जुवाको खालबाट पूर्वमन्त्री पक्राउ

    १० जनालाई स्वयम्भूस्थित घरबाट पक्राउ

    जनजिब्रो संवाददाता |

    नेपाल सरकारका एक पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले पूर्वमन्त्री यादवलाई शनिबार पक्राउ गरेको हो ।

    जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जनालाई स्वयम्भूस्थित साँइली तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । खालबाटै प्रहरीले १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद गरेको प्रहरी स्रोतको भनाइ छ । पूर्वमन्त्रीसँगै विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तरकुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सविन लामा पनि पक्राउ परेका छन् ।

    शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराईको नेतृत्वमा बनेका सरकारमा गरी यादव तीन पटक राज्यमन्त्री भैसकेका छन् । मन्त्री नियुक्त भएपछि घरको छतमा बसेर बन्दुक पड्काएर उनी यसअघि पनि विवादमा परेका थिए ।