• वैचारिक प्रतिबद्धतासहित जनजिब्रोको आगमन : यो हो हाम्रो सम्पादकीय नीति !

    विचार र एकताको यात्रामा स्वागत; आबद्धता र सहकार्यको अपिल !!

    विशेष सम्पादकीय |

    वैचारिक पत्रकारिताको एउटा हिस्सा बनेर साढे दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको जनजिब्रो साप्ताहिककै डिजिटल सहयात्रीका रूपमा जनजिब्रो डटकमको यात्रा अघि बढाएका छौं । अनलाइन सञ्चार माध्यमका रूपमा अघि बढाइएको यो यात्रा ‘चलनचल्तीका’ प्रायः अनलाइन माध्यमहरुभन्दा नितान्त फरक ढंगबाट, सुस्पष्ट योजना र वैचारिक एवम् व्यावहारिक प्रतिबद्धताका साथ निरन्तर अघि बढ्नेछ ।

    जनजिब्रो डटकमको सम्पादकीय नीति [Editorial Line]

    १. जनजिब्रो डटकमलाई विचार अन्तर्क्रियाको साझा थलो/माध्यम र वैचारिक बहसका दृष्टिले वामपन्थी र क्रान्तिकारीहरूको संयुक्त मोर्चा/मञ्चका रूपमा स्थापित/विकसित गराउने ।

    २. अहिले जहाँसुकै क्रियाशील/सङ्गठित भए/नभए तापनि विगतमा नेपाली कम्युनिस्ट आन्दोलन र विशेषतः माओवादी आन्दोलनमा काम गरेका/योगदान पुर्‍याएका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तकलाई आ–आफ्ना विचार र राजनीतिक बहस सञ्चालन तथा तर्क र पुष्ट्याइँ प्रस्तुत गर्न स्थान दिने । यस क्रममा हालको राजनीतिक आबद्धता र भूमिकाका आधारमा कसैमाथि भेदभाव नगर्ने ।

    ३. सम्पादक मण्डल र प्रकाशन/प्रशारण कक्षका तर्फबाट बुँदा– २ मा उल्लेखित पात्रहरूमाथि अपमानजनक, गाली–बेइज्जतिपूर्ण, लाञ्छनायुक्त र अभद्र शब्दावलीहरू प्रयोग नगर्ने । त्यस्ता शब्दावली प्रयोग नगर्न वा यथासम्भव कम गर्न अन्तर्वार्तादाता, स्तम्भकार, लेखक र स्रष्टाहरूसँग समेत सम्पादक मण्डलले अनुरोध र प्रेरित गर्ने ।

    ४. नेताविशेष वा व्यक्तिविशेषमाथि व्यक्तिगत टीकाटिप्पणी, आरोप–प्रत्यारोप र घोचपेच गरिएका/गरिने खालका सामग्री सामान्यतः प्रकाशन/प्रशारण नगर्ने । व्यक्तिकेन्द्रित आलोचना र विरोध वा दलाली र चाकडी झल्कने अतिरञ्जित प्रशंसा या भक्तिभाव झल्कने सामग्रीहरू पनि सामान्यतः प्रकाशन/प्रशारण नगर्ने ।

    ५. विचार, नीति, कार्यक्रम, सिद्धान्त, राजनीति, प्रवृत्ति, आचरण, विकृति–विसंगति, दूराचार, भ्रष्टाचार, अनियमितता, कुशासन आदिको शिष्ट, मर्यादित र दार्शनिक भाषामा तथ्यपूर्ण, तर्कयुक्त र पुष्टि गर्न सकिने गरी आलोचना, भण्डाफोर र विरोध गर्न तथा विचार सिद्धान्तबारे आ–आफ्ना दृष्टिकोणअनुरूप बहस गर्न सबै स्तम्भकार, लेखक र सर्जक स्वतन्त्र हुनेछन् । यस क्रममा व्यक्तिविशेष वा नेताविशेषका सकारात्मक या नकारात्मक भूमिकाबारे चर्चा हुनु या प्रसङ्ग जोडिनु स्वाभाविक हुनेछ ।

    ६. सङ्गठनात्मक/राजनीतिक आबद्धताका दृष्टिले सबै घटक र पात्र; विधा वा विषयवस्तुका दृष्टिले विविधतायुक्त; क्षेत्र, लिङ्ग र समुदायका दृष्टिले समेत समावेशी तथा सन्तुलित हुने गरी सामग्रीहरूको संयोजन तथा प्रकाशन/प्रशारणमा विशेष ध्यान दिने ।

    ७. विभिन्न ऐतिहासिक आन्दोलनहरू, वर्गसङ्घर्षहरू, महान् जनयुद्ध, महान् बेपत्ता योद्धाहरू र महान् सहिदहरूका ऐतिहासिकता, योगदान तथा गरिमालाई अस्वीकार गर्ने, अपमानित गर्ने र नजरअन्दाज गर्ने तथा त्यस्ता आशय झल्काउने सामग्रीहरूलाई स्थान नदिने;  बरु त्यस्ता प्रवृत्ति विरुद्धका सामग्रीहरूको प्रकाशन/प्रशारणमा जोड दिने ।

    ८. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, जनवाद, समाजवाद, साम्यवाद एवम् कम्युनिस्ट आदर्श तथा अग्रगामी राजनीतिक/सामाजिक/सांस्कृतिक मूल्य–मान्यता विपरीतका सामग्रीहरूलाई स्थान नदिने ।

    ९. निराशा, कुण्ठा, हिनता र पश्चात्ताप होइन; आशावाद र उज्वल भविष्यको सम्भावना देख्ने र खोजी गर्ने कोणबाट व्यक्त विचार, लेख–रचना र सामग्रीलाई स्थान दिने । विस्तारवाद–साम्राज्यवादका अतिक्रमण, थिचोमिचो र हैकमका विरुद्ध प्रतिरोध र विद्रोह बोल्ने सामग्रीले प्राथमिकता पाउने ।

    १०. विभिन्न खाले बार्गेनिङ, धाकधम्की र अपारदर्शी लेनदेनबाट पूर्णतः मुक्त रही कमाइखाने व्यवसायका रूपमा होइन; राष्ट्र र जनताप्रति सचेत नागरिकको दायित्वका रूपमा जनजिब्रो डटकम सञ्चालित हुने तर पारदर्शी र स्वस्थ बजार व्यवस्थापनका माध्यमबाट सञ्चालन खर्च जुटाउने र मितव्ययी एवम् पारदर्शीरूपमा खर्च गर्ने प्रक्रियालाई भने अधिकारकै रूपमा आत्मसात् गरिने ।

    मूलतः यिनै दृष्टिकोण, मान्यता र प्रतिबद्धताका साथ अघि बढ्ने जनजिब्रो डटकमको यात्रामा आबद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र विस्तारमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुराेध छ । मुद्रण संस्करणमा झैं डिजिटल प्रकाशन/प्रशारण-यात्रामा समेत खुला हृदयका साथ सहयोग प्राप्त हुने र राष्ट्रव्यापीरूपमै वृहत् सहकार्यको वातावरण बन्ने कुरामा हामी विश्वस्त छौं ।

    प्रकाशन/सम्पादन टिम
    जनजिब्रो डटकम, काठमाडौं, नेपाल