१९ कात्तिक अर्थात् ४ नोभेम्बरमा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल सरकारको निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । तर, हामी देशभक्त नेपालीहरूले भने नरवणेको यो भ्रमणको जोडदार विरोध गर्नु पर्दछ र गरेका छौं ।
प्रथमतः कुनै एक देसको सेनापतिलाई कुनै अर्को देशका राष्ट्रपतिले सम्मानस्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैंमा विवादास्पद, हास्यास्पद र घृणास्पद कुरा हो । त्यसमाथि सामन्ती राजतन्त्रकालमा स्थापित यसप्रकारको ‘प्रचलन’ आज गणतन्त्रकालमा पनि यथावत गरिनु शासकहरुको सामन्ती र औपनिवेशिक संस्कारकै निरन्तरता हो । यदि त्यसो होइन र ‘घनिष्ठ सम्बन्ध’ भएका दुई देशका बीचको स्वच्छ सम्बन्ध हो भने यही परम्परा र प्रक्रिया चीनसँग नेपालले र पाकिस्तान, बङ्गलादेशजस्ता घनिष्ट छिमेकी देश (जो ७० वर्ष अघिसम्म एउटै देशका रुपमा थिए) सँग भारतले किन लागू गर्दैन ? यसरी हेर्दा नेपाल–भारतका सेनाप्रमुखलाई एक–अर्काका मानार्थ महासथीको दर्जा दिने काम अतार्किक, असङ्गतिपूर्ण र अवाञ्छित रहेको कुरा स्वतः स्पष्ट नै छ । अतः यो प्रचलन हामी स्वाभिमानी नेपालीका लागि अत्यधिक दुखद् र विडम्बनापूर्ण विषय हो ।
अर्को आपत्तिजनक सन्दर्भ यो पनि छ कि भारतीय सेना प्रमुख नरवणेको भ्रमणको चाँजोपाँजो पनि मिलाउने गरी भारतीय पुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल केही अघि नेपाल आए र प्रधानमन्त्रीको सरकारी निवास बालुवारमै गएर प्रधानमन्त्री ओलीसँग लामै गोप्य भेटघाट गरे । यो घटनाक्रमले एकातिर भारतीय राजनीतिक र कूटनीतिक नेतृत्व निरर्थक र निकम्मा भएको पुष्टि हुन्छ भने अर्कातिर नेपालको माइक्रो म्यानेजमेन्टमा भारतीय गुप्तचर संस्थाको खुलेआम हस्तक्षेप चलिरहेको पुष्टि गरेको छ । त्यो हस्तक्षेपलाई नेपालको वर्तमान सरकारले स्वीकारयोग्य मात्र होइन, स्वागतयोग्य नै ठानेको स्पष्ट भएको छ । यो स्थिति स्वाभिमानी नेपाली र नेपालको लागि असह्यब कुरा हो ।
आम नेपालीले यतिबेर सहजै बुझिरहेका छन् कि ‘रअ’ का एक कर्मचारीको यो हदको चलखेल र हस्तक्षेपका अगाडि झुकेर नेपालका प्रधानमन्त्रीले नरवणेको स्वागत(सम्मान गर्ने प्रक्रिया अघि बढाएका छन् । यो प्रक्रियाले सार्वभौम नेपालको दुईतिहाई बहुमतको र अझ ‘कम्युनिस्ट’ नामको सरकारमा नेतृत्व गरिरहेका ‘राष्ट्रवादी’ छविका प्रधानमन्त्री ओलीको अवस्थालाई उदाङ्गो पारिरहेको छ । उता, ‘लोकतन्त्र’ को सर्वाधिक धाक लगाउने र अत्यधिक लोकप्रिय रहेको दावी गर्ने अर्को सार्वभौम र शक्तिशाली राष्ट्र भारतका प्रधानमन्त्री मोदीको वास्ताविक अवस्थालाई समेत यो स्थितिले उदाङ्गो पारिदिएको छ । भारतीय राजनीतिक र कूटनीतिक संयन्त्रमाथि खुफिया एजेन्सी हावी रहेको यो स्थिति उसको प्रतिष्ठामा त धक्का हो नै, साथै नेपाल र भारत तथा यहाँका जनताको समेत बेइज्जत हो ।
त्यसैले, नरवणेको नेपाल भ्रमणका सम्पूर्ण कार्यक्रमहरु अविलम्ब रद्द गरिनैपर्छ । यसका निम्ति सचेत, देशभक्त र स्वाभिमानी नेपालका शक्ति, संघ–संस्था र व्यक्ति(व्यक्तिव्यक्तित्वहरुले सशक्त विरोध गर्नु पर्दछ । यदि हामी नेपाली भनिने र गनिनेहरुमा देशप्रेमको थोरै पनि भावना छ, राष्ट्रिय अस्मिता र अस्तित्व जोगाउनुपर्ने कर्तव्यबोध छ र राष्ट्रिय, सांगठनिक एवं व्यक्तिगतरुपमा समेत थोरै मात्र भए पनि स्वाभिमान र स्वाधीनताको मूल्य र महत्त्वबोध छ भने हरेक नेपालीले नेपाल–भारतका वर्तमान सरकारका यी हस्तक्षेपपूर्ण र स्वाभिमानविरोधी कार्यको विरोध, अवरोध र प्रतिरोध गर्नैपर्ने हुन्छ । तसर्थ, यो देशको सरकारमा रहेकादेखि, सदनमा, संसदीय दलमा, संगठन (पार्टी र मोर्चा) मा, सडकमा र समाजमा रहेका सम्पूर्ण सचेत, स्वाभिमानी, स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य–मान्यताका हिमायती, राजनीतिक र कूटनीतिक मर्यादाका पक्षपातीलगायत सम्पूर्ण देशभक्त नेपालीहरुले संयुक्त र सशक्तरुपमा ‘रअ’ को यो षड्यन्त्रकारी र हस्तक्षेपयुक्त व्यवस्थापनमा कथित सैन्य कूटनीतिको प्रयोगका नाममा राष्ट्रिय आत्मसमर्पण हुने गरी हुन गैरहेको भारतीय सेना प्रमुखको नेपाल भ्रमणको निर्णायक विरोध गर्नु अहिलेको ऐतिहासिक अपरिहार्यता भएको छ ।
एउटा देशभक्त नेपालीका नाताले मात्र पनि सबैमा अपिल छ–
– गोयलको हस्तक्षेप र नरवणेको धम्कीका अगाडि नझुकौंं !
– हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर जोगाएको राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र स्वत्व(अस्तित्वलाई कायम राखौं !
– संसारमा नेपाल र नेपालीको इज्जत र प्रतिष्ठालाई अझ माथि उठाऔं !
– नरवणेको आसन्न नेपाल भ्रमणको जोडदार विरोध गरौं !
थप याे पनि पढ्नुहाेस्–
‘भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण खारेज गर’ : २१ दल/संगठन