• बाेले वामदेव : ओली–प्रचण्ड दुवैसँग गुनासो, फेरि गरे अपत्यारिलो दावी (भिडियाेसहित)

    जनजिब्रो संवाददाता |

    सत्ताधारी नेकपा विभाजित भएर दुई टुक्रा बनिसक्दा समेत दुवैतिर नखुलेर ‘मौन’ बसेका नेकपा उपाध्यक्ष एवं राष्ट्रियसभाका सांसद वामदेव गौतमले बिहीबार मुख खोलेका छन् । प्रतिनिधिसभाको निर्वाचन हारेर संसदबाहिरै परेका गौतम राष्ट्रपतिद्वारा राष्ट्रियसभाको सदस्यमा मनोनीत भएपछि दोस्रो दिन संसद छिरेका गौतमले ओली–प्रचण्ड दुवैसँग गुनासो गर्दै संसदमा भाषण गरे ।

    नेकपाको अहिलेको विवाद र विभाजनमा मुख्य दोषी खड्ग ओली नै भएको गौतमले बताए । प्रतिनिधिसभा ‘विघटन’ गर्ने बेला ओलीका ठाउँमा आफू भए के गर्थेंहोला भनेर सोच्दा यदि त्यो ठाउँमा आफू भए अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिने वामदेवले बताए । आफूले पटक–पटक ओलीविरूद्ध अविश्वासको प्रस्ताव अघि बढ्न नदिएको तर ओलीले त्यति ठूलो कदम उठाउँदा समेत आफूसँग एक वचन नसोधेको भन्दै गौतमले संसदमै दुःखेसो पोखे ।

    आफू महिनौं अघिदेखि विरोधी खेमामा क्रियाशील रहँदै आए तापनि ओलीविरूद्ध अविश्वसाको प्रस्ताव दर्ता गराउनेबारे प्रचण्ड–माधव नेपालहरूले आफूसँग सल्लाह गर्नु त परै जाओस्, कुनै सुइँको समेत नदिएको भन्दै राष्ट्रियसभाको बैठकमा वामदेवले गुनासो गरे । अझै पनि पार्टी एकता जोगिन सक्ने आशा गर्दै आफू त्यसका निम्ति संगठितरूपमै क्रियाशील हुने दावी उनले गरे । तीन वर्षमै फुट्ने भए किन एकता गरेको भन्दै ओली–प्रचण्ड दुवैसँग उनले प्रश्न समेत गरे ।