• ‘प्रचण्ड त्याग्दा’ लेखराज भट्टको बढेकै हो प्रभाव ?

    पत्रपत्रिका |

    सत्ताधारी नेकपाको ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको बृहत् आमसभामा हजारौं हजारको संख्यामा जनसहभागिता जुट्यो । साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति धेरै संख्या पुग्न नसकेको बताइयो । पार्टी फुटेलगत्तै सुदूरपश्चिम प्रदेशमा भएको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले ।

    सुुदूरपश्चिममा प्रभावशाली बनेका भनिएका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री खड्ग शर्मा ओलीलाई शुक्रबार धनगढी उतारेका थिए । र, त्यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराए । माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र मानिन्थे । पार्टी एकीकरणका बेला उनलाई पदाधिकारी बनाइएन । सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल । प्रचण्डकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको दावी गर्दै उनी असन्तुष्ट थिए ।

    पार्टी एकीकरणको अढाई वर्षपछि भट्ट ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भए । रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै भट्टलाई ओलीले साथमा लिए । रावल पार्टी इन्चार्ज भइसकेकाले उनैलाई दोब्बर पद दिनु न्यायसंगत नहुने ओलीको तर्क थियो । त्यसपछि दुई नेताको राजनीतिक धार बदलियो– रावल ओलीका कट्टर विरोधी बने र भट्ट बने कट्टर समर्थक ।

    भट्ट प्रचण्डको प्यानल त्यागेर ओलीनिकट भए । पछिल्लो पार्टी विभाजनका गतिविधिमा खुलेरै ओलीलाई साथ थिए । भट्ट हाल ओली पक्षका सुदूरपश्चिम इन्चार्ज बनेका छन् । भट्टले २०६४ को संविधानसभा निर्वाचनमा सुदूरपश्चिम विकासको अवधारणा सार्वजनिक गरेका थिए । उनले उत्तरमा चीनसँगको नाका र दक्षिणमा भारतसँगको सुख्खा बन्दरगाहले मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने योजना बनाएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।