• हिमालय एअरलाइन्सकाे परीक्षण उडान : काठमाडाैं–ल्हासा–काठमाडाैं

    जनजिब्रो संवाददाता |

    नेपाल–चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्स आफ्नो पहिलो उच्च उचाई गन्तव्यमा परीक्षण उडानका लागि १९ जनवरी, २०२१ मा ल्हासा प्रस्थान गरेको छ । जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासाले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ ।

    यो परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने व्यावसायिक योजनाकोअनुरूप नै भएको कम्पनीले जनाएको छ । परीक्षणका लागि उडान नम्बर एचनाइन ९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१७ मा ल्हासातर्फ प्रस्थान गरी बिहान १०ः४६ मा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भयोे भने फिर्ती उडान एच ९६२ मंगलबार नै अपराह्न १५ः०० बजे ल्हासाबाट गर्ने र अपराह्न १४ः०० बजे काठमाडौं अवतरित हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

    एअरलाइन्स्का सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालकदलको नेतृत्व गरेका छन् र चालकदलले ल्हासास्थित गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक–फरक एप्रोचेज अपनाउनेछन् ।

    परीक्षण उडानका लागि एअरलाइन्स्ले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाईका लागि उडान भर्न एचनाइन एजेके नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइजहाज एथ्रीवननाइन–वनवनफाइभ प्रयोगमा ल्याएको छ । १२० इकोनोमी र ८ बिजनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नका लागि परिमार्जित छ । यो विमानमा अधिकतम १४ हजार ५ सय फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्सहिमालयन मार्गहरूमा सञ्चालन गर्ने क्षमता छ ।

    हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले भने– ‘हिमालय टोली गत वर्षदेखि नै ल्हासाजस्तोे उच्च उचाईको गन्तव्यमा उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रा प्रमुख मार्गनिर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ । आजको प्रमाणीकरण उडानको सफल सञ्चालनका लागि हाम्रो टोलीलाई म हृदयदेखि नै बधाई दिन चाहन्छु र नागरिक उड्डयन प्राधिकरणको सहयोग प्राप्त भाएकामा हाम्रा दुबै मुलुकका टिम उहाँहरुप्रति कृतज्ञ छौं । यस कार्यले हामीलाई हाम्रो अभियान सहजै अगाडि बढाउन सक्षम बनाएको छ ।’

    परीक्षण उडानका अवसरमा आयोजित समारोहमा एअरलाइन्स्का प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले भने– ‘ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एक मात्र विदेशी एअरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको विषय हो । यसका साथ साथै यस उडानले उच्च उचाईका हवाई उडानका लागि नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालनाको सुनिश्चितता गर्नेछ । यसरी सीमापार सम्बन्ध सुदृढ पार्ने अवसर पाउँदा हामी सम्मानित भएको अनुभूति गर्दछौं । साथै, हामी विश्वस्त पनि छौं– कोरोेना महामारीपछि यस उडानले नेपाल र तिब्बतबीचको पर्यटक संख्यामा उल्लेखनीय वृद्धि गर्नेछ ।’

    परीक्षण उडान ३ हजार ५ सय ७० मिटरको उचाई अर्थात् ११ हजार ७ सय ११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै आरएनपी–एआर एप्रोचेजको प्रमाणीकरणका लागि आयोजना गरिएको हो ।