• वार्ताको हल्ला, आतंकको खेती : विप्लवसहित ४२ नेतामाथि ठूलठूला मुद्धा !

    जनजिब्रो संवाददाता/पत्रपत्रिका |

    मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरिएको दुई महिना पछि ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    मोरङ जिल्ला अदालतमा उनीहरुविरुद्ध सोमबार अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका– १ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको हत्या भएको थियो । नेकपाविरूद्ध निरन्तर जासुसी गरेको र सुध्रन पटक–पटक मौका दिँदा समेत नमानेकाले कारबाही गरिएको नेकपाको दावी छ । तर, विरोधीहरूले भने चन्दा नदिएको निहुँमा विप्लव नेकपाका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ मा हत्या गरेको आरोप लगाएका छन् ।

    अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धानपश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो । शिक्षक हत्याको आरोपमा प्रहरीले विप्लव नेकपाका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको थियो ।

    मादी नगरपालिका– ४, संखुवासभाका ३५ वर्षीय उनै धनबहादुर विक, शिवराज नगरपालिका– ९, कपिलवस्तुका ५३ वर्षीय नेत्रविक्रम चन्द ‘विप्लव’, थवाङ गाउँपालिका– १, रोल्पाका ५२ वर्षीय सन्तोष बुढामगर ‘विषम’, नरहरिनाथ गाउँपालिका– ६, कालिकोटका ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, जाजरकोटका ४२ वर्षीय दीपक चलाउनेलगायतविरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

    +++       +++     +++

    कहींकतै हत्या–हिंसा नगरेको र युद्धको घोषणा पनि नगरेको राजनीतिक दलमाथि संवैधानिक अधिकारको हनन गर्दै र गणतान्त्रिक राज्य प्रणाालीको खिल्ली उडाउँदै खड्ग ओली नेतृत्वको सरकार बनेको केही महिनापछि नै नेपाल कम्युनिस्ट पार्टीमाथि ‘प्रतिबन्ध’ लगाइएको बताएको थियो । ओलीले असाध्यै बहुलट्ठीपूर्ण, तानाशाही र गुण्डागर्दी शैलीमा नेकपामाथि गालीगलौच गर्दै शान्तिपूर्ण गतिविधि गरिरहेका विप्लव नेकपा र सो सम्बद्ध जनसंगठनका नेता–कार्यकर्ता, लेखक–साहित्यकार, पत्रकार, कलाकारलगायतमाथि निर्मम दमनचक्र चलाएको थियो । यही सरकारी दमन र बहुलट्ठीपूर्ण हर्कतकै कारण ती शिक्षकको हत्या हुन पुगेको थियो ।

    लगातार तीन वर्ष सिंगो राज्यसंयन्त्र लागेर दमन गरिसक्दा पनि विप्लव नेकपा भने झनझन फैलँदै, संगठन विस्तार गर्दै र जनताबीच लोकप्रिय हुँदै गयो । तर, खड्ग ओली नेतृत्वको सरकार आफैंचाहिँ ध्वस्त हुन पुग्यो । बरू ओली आफ्नै पार्टीबाट समेत बर्खास्तीमा परे र निष्काशित भए । त्यसपछि पार्टीका भगौडा बटुलेर गठन गर्ने प्रयास भैरहेको ओली समूहको अस्तित्व रक्षाका निम्ति अहिलेको कामचलाउ सरकारले विप्लव नेकपासँग वार्ता गर्ने हल्ला चलाइरहेको छ ।

    एकातिर वार्ताको हल्ला गरिनु र अर्कातिर दिनहुँ नेकपाका नेता–कार्यकर्ता, समर्थक–शुभचिन्तक पक्राउ गर्ने क्रम चलिरहनु अनि अझ अगाडि बढेर शीर्ष नेतृत्वसहित दर्जनाैमाथि कपोलकल्पित झुटा मुद्धा लगाउनुले खड्ग ओली सरकारको आपराधिक नियत छर्लंग हुन पुगेको छ ।