• ओली रणनीति : ‘विरोधी’ पन्छाउने, दल कब्जा गर्ने

    जनजिब्रो संवाददाता/पत्रपत्रिका |

    नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओलीले एकलौटीरुपमा पार्टी कब्जा गर्दै ‘विरोधी’ लाई पन्छाउने तयारी थालेका छन् । ‘केन्द्रीय कमिटीको बैठक’ बाट ओलीले स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

    ओलीले माधव नेपाललगायतका नेताहरु अनुपस्थित रहेको ‘केन्द्रीय कमिटीको बैठक’ बाट स्थायी कमिटी हेरफेर गर्ने, नेपाललगायत चारजना नेतालाई ‘स्पष्टीकरण’ सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउनेसम्मको अधिकार आफ्नै हातमा लिनेजस्ता निर्णय गराउनुले यही संकेत गरेको एक नेताले बताए ।

    नेपाल समूहले समानान्तर कमिटी गठन गरी पार्टीभित्रैबाट ओलीलाई चुनौती दिने र अन्तर्संघर्ष जारी राख्ने नीति लिइरहेका बेला ओलीले भने शनिबार बालुवाटारमा​ ‘केन्द्रीय कमिटीको बैठक’ राखेर आफूअनुकूल निर्णय गराएका हुन् । नेपाल समूहले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीभित्रै अन्तर्संघर्ष गर्ने र एमालेलाई पुनर्जीवन दिने निर्णय गरेको थियो ।

    खनाल–नेपालको आह्वानमा आयोजित भेला रोक्न ओलीले हरसम्भव प्रयास गरे पनि सफल भएनन् । २८ फागुनमा ओलीले आफूपक्षीय केन्द्रीय कमिटीका सदस्यको ‘बैठक’ राखेर नेपाल समूहमा रहेका नेताहरुको जिम्मेवारी खोसेका थिए । त्यसैको निरन्तरतास्वरूप शनिबार बिहान पहिले संसदीय दल र त्यसपछि दिउँसो ‘केन्द्रीय कमिटी’ को बैठक राखेर पार्टीभित्रका ‘विरोधी’ पन्छाउँदै दल कब्जा गर्ने प्रयास अघि बढाएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।