• महामन्त्री पदमा युवानेताहरूबीच टक्कर : गगन र विश्वप्रकाशद्वारा घोषणा, प्रदीप तयारीमा

    जनजिब्रो संवाददाता |

    नेपाली काङ्ग्रेसका चर्चित युवानेता एवम्् नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्वअध्यक्ष विश्वप्रकाश शर्माले पनि काङ्ग्रेस महामन्त्री पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । बीपी स्मृति दिवसका अवसरमा बिहीबार सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमै पुगेर शर्माले महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका हुन् ।

    सोही पदका निम्ति यसअघि नै काङ्ग्रेसका अर्का चर्चित युवानेता गगनकुमार थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । स्मरणीय त के छ भने विश्वप्रकाश नेविसङ्घको केन्द्रीय अध्यक्ष हुँदा गगन सोही सङ्गठनका महामन्त्री थिए । उनीहरू पछाडि नेविसङ्घको नेतृत्व सम्हालेका अर्का युवानेता प्रदिप पौडेलले समेत महामन्त्री पदमै उम्मेदवारी दिने चर्चा चलिरहेको छ । यसरी, काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनमा पूर्वविद्यार्थी नेताहरूकै बीच महामन्त्री पदका निम्ति कडा प्रतिस्पर्धा चल्ने देखिएको छ ।

    यसअघि कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धारमा रहँदै आएका युवानेता गगनले तेह्रौं महाधिवेशनमा समेत महामन्त्री पदमै प्रतिस्पर्धा गरेका थिए । यसपटक भने उनी वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने तयारी देखिएको छ । विश्वप्रकाश भने सभापति देउवा, वरिष्ठ नेता पौडेल र यसअघि नै सभापति पदको उम्मेदवारी घोषणा गरेर व्यापक तयारीमा जुटिसकेका हालका उपसभापति विमलेन्द्र निधिमध्ये कुन समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछन् भन्ने स्पष्ट भइसकेको छैन । प्रारम्भिक परिवेशलाई नियाल्दा विश्वप्रकाशको उम्मेदवारी निधिकै टिमबाट हुने परिचर्चा व्यापक छ ।

    यसअघि सभापति देउवाका विश्वासपात्र एवम् निकटतम सहयोगी रहँदै आएका निधिले यसपटक उनै देउवालाई चुनौती दिँदै सभापति पदमा दावेदारी प्रस्तुत गरिरहेका छन् । अघिल्लो महाधिवेशनमै सुषुप्तरूपले सभापति पदको आकाङ्क्षा दर्शाएका निधिलाई चौधौं महाधिवेशनमा आफैंले सघाउने वचन दिएर देउवाले पछि हट्न सहमत गराएका थिए । तर, देउवा भने यसपटक पनि आफैं सभापति बन्न तम्सिएपछि आफू कुनै हालतमा पछि नहट्ने भन्दै निधिले उम्मेदवारी घोषणा गरेका छन् । गगन थापा रामचन्द्र पौडेलको टिमबाट महामन्त्रीको उम्मेदवार बन्ने भएपछि विश्वप्रकाशले भने देउवा–निधि दुवैको सहयोगमा महामन्त्री पद आफ्नो पोल्टामा पार्ने योजना बुनिरहेको देखिन्छ ।

    अर्कातिर यसअघि नै धेरै पटक सभापतिको आकाङ्क्षा देखाएका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्ने–नबन्ने टुङ्गो अझै लागिसकेको छैन । जसरी हुन्छ, देउवाको विकल्प खोज्नुपर्छ भनेर लागिरहेको इतरपक्षबाट करिव आधा दर्जन नेताहरूको सभापति पदमै दावेदारी छ । पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला मात्र नभई रामशरण महत र कल्याण गुरुङसम्मले दावेदारी प्रस्तुत गरिरहेका छन् । सिंह र गुरुङले औपचारिकरूपमै उम्मेदवारी घोषणा गरेका छन् भने अरु नेताहरू समीकरण मिलाउने र टिम बनाउने कसरतमा छन् ।

    गतसाता संयुक्त पत्रकार सम्मेलन गरेको इतर पक्ष र विशेषतः वरिष्ठ नेता पौडेलले आफूहरूका तर्फबाट देउवासँग प्रतिस्पर्धा गर्ने एकै जना मात्र सभापतिको उम्मेदवार हुने प्रतिबद्धता जनाए । त्यो पत्रकार सम्मेलनमा सिटौला भने सहभागी थिएनन् तर गगन उपस्थित भएर महामन्त्री पदको उम्मेदवार बनेर आफू सोही समूहका तर्फबाट प्रतिस्पर्धामा उत्रने सङ्केत दिए ।

    हालसम्मको तयारी हेर्दा थापा पौडेल समूहबाट र शर्मा निधिको टिमबाट महामन्त्रीको उम्मेदवारका रूपमा खडा हुँदै गरेको देखिए तापनि सभापति पदका प्रबल दावेदार टुङ्गो लागिसकेपछि मात्रै कुन–कुन टिमबाट को–को भन्ने स्पष्ट हुन्छ । जो, जतासुकैबाट भिडे पनि विगतकालमा नेविसङ्घको शीर्ष नेतृत्वमा रहेर सँगै काम गरेका शर्मा र थापाबीच नै मुख्य टकराव हुने कुरा भने स्पष्ट नै भइसकेको छ ।