• ‘भूगोल मात्रै होइन पहिचान’ : उपराष्ट्रपति पुन

    जनजिब्रो संवाददाता |

    उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्ला दिनहरूमा निरन्तर रुपमा नेपाली मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकाप्रति चिन्ता व्यक्त गरेका छन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औं सम्मेलनको उद्घाटन उपराष्ट्रपति पुनले गर्दै मौलिक भाषा, कला, संस्कृतिको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रबर्द्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे ।

    ‘मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौं । हामी सोचौं त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?’ उनले भने ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन ।’

    ‘मेरो आग्रह छः हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔं’ उनले थपे– ‘प्रबद्र्धन गरौं । र, भावी पुस्तालाई हस्तान्तरण गरौं ।’उनले लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै राज्यले उक्त दायित्व पन्छिन नमिल्ने बताए ।

    ‘यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ’ उनको जोडदार आग्रह थियो । ‘लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ । यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ’ उनले भने ।

    ‘यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ । विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ ।’ कार्यक्रमबीच नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण समेत गरिएको थियो ।