• पोखरा विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

    जनजिब्रो संवाददाता |

    माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यति एयरको प्रारम्भिक रिपोर्ट आएको छ । रिपोर्टअनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको छ ।

    दुर्घटना जाँच आयोगले फ्लाइट डाटा रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ । अतः उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गए भन्नेबारे प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगले जनाएको छ ।

    दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाइविज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो । उक्त फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरका डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीईए फ्रान्स, टीएसबी क्यानडा, पी एण्ड डब्ल्यू क्यानडा/ईएएसएका प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो । उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो ।