• एमाले बैठक बस्दै, ३ एजेण्डामा छलफल : वामदेवले भने– ‘बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु’

    जनजिब्रो संवाददाता |

    नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेका केन्द्रीय नेता तथा सांसदहरूलाई ‘कारबाही’ को प्रक्रिया थाल्ने, विवादास्पद १० बुँदे सहमति कार्यान्वयनका निम्ति स्थायी कमिटीले पारित गरेको प्रस्तावलाई अनुमोदन गर्ने र विधान अधिवेशनको कार्ययोजना पास गर्ने एजेन्डा तय भएको छ ।

    लामो समयदेखि नै अध्यक्ष एवं अपदस्थ प्रधानमन्त्री खड्ग ओली र उनको समूहसँग विमति राख्दै आएका उपाध्यक्ष वामदेव गौतमले भने अब उप्रान्त एमालेको बैठकमा सहभागी नहुने जनाएका छन् । आफूले छिटै नै पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यको पदबाट राजीनामा पठाइदिने अभिव्यक्ति गौतमले सञ्चार माध्यमहरूमा दिएका छन् ।

    माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले एमालेबाट अलग्गिएर नयाँ पार्टी बनाए आफू त्यतै लाग्ने घोषणा निकै अघि नै गरिसकेका गौतमले आफू ‘फुटको प्रक्रियामा’ भने सहभागी नहुने बताउँदै आएका थिए । ‘एकता अभियान’ का नाममा बेग्लै संगठन समेत सञ्चालन गर्दै आएका गौतमको समूहका र उनी निकट भनिएका सबै नेता माधव नेपाल नेतृत्वको पार्टीमा खुलेरै लागिसकेका र सनाखत नै गरिसकेका छन् । तर, गौतमले भने के गर्छन्, अझै स्पष्ट भइसकेको छैन ।

    ‘मैले यसअघिको स्थायी कमिटीको बैठकमै अध्यक्ष ओलीलाई म अब तपाईंसँग रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईंले मलाई लखेट्नुभयो भनिसकेको छु,’ गौतमले भनेका छन्– ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, शायद त्यो एक–दुई दिनभित्रै हुन्छ ।’