• ४ दलबीच मिल्यो भागबण्डा : कांग्रेस, माओवादी, एसपा र जसपाले पाए कति मन्त्रालय ?

    जनजिब्रो संवाददाता |

    एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा अलग्गिएको नेकपा एकीकृत समाजवादीले पार्टीले बुधबार वैधता पाएलगत्तै बिहीबार चार दलबीच मन्त्रालयको भागबण्डामा सहमति जुटेको छ । अब सरकारमा कांग्रेस, माओवादी केन्द्र, एसपा र जसपा गरी चार दल सहभागी हुने भएका छन् ।

    माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले ६ मन्त्रालय पाउने भएको छ । यसो हुँदा उक्त पार्टी सरकारमा नजाने स्थितिका लागि भएको सहमतिअनुरूपको भागबण्डाबाट अब कांग्रेसले ३, माओवादीले २ र जसपाले १ मन्त्रालय गुमाएका छन् । नेपाल नेतृत्वको पार्टी सरकारमा नगएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री र १ राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति जुटेको थियो ।

    माधव नेपाल नेतृत्वको पार्टीसहित चार दल सरकारमा सहभागी हुने गरी जुटेको नयाँ सहमतिअनुसार २५ सदस्यीय मन्त्रीमण्डलमा अब कांग्रेसबाट प्रधानमन्त्रीसहित ७ मन्त्री तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति जुटेको बालुवाटार स्रोतको भनाइ छ । अबको ३ दिनभित्रर अर्थात् आइतबारसम्ममा सरकारले पूर्णता पाइसक्ने गरी चार दलबीच सहमति जुटेको पनि स्रोतको भनाइ छ ।