• ‘अर्ली इलेक्सनको कुनै सम्भावना छैन’

    जनजिब्रो संवाददाता |

    सत्ताधारी दल नेपाली कांगेसका नेता प्रकाशमान सिंहले दुई÷दुई पटक विघटन शिकार भएको संसद अदालतले पुर्नस्थापना गरिदिएको भन्दै तुरुन्तै चुनावको सम्भावना नरहेको दावी गरेका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा बोल्दै गणेशमानकै छोरा समेत रहेका सिंहले संसद र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका हुन् ।

    ‘सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ’ भन्दै उनले पाँच दलीय गठबन्धन समन्वय समिति समेत आवश्यक नभएको दावी गरे । सिंहले गठबन्धन सरकारको मुख्य काम संविधानलाई सही दिशामा ल्याएर तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्नु रहेको पनि बताए ।

    नेपाली राजनीतिका ६ दशक लामो भूमिका रहेका स्व. गणेशमानले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि महत्वपूर्ण रहेको चर्चा गर्दै सिंहले देशमा प्रजातन्त्र स्थापनाका लागि ठूलो योगदान दिएको बताए ।