• ‘खुद्रा छैन’ भन्दै बढी भाडा असुल्दै

    जनजिब्रो संवाददाता |

    वाग्मती प्रदेश सरकारले कात्तिक १ देखि लागू हुनेगरी निर्धारण गरेको न्यूनतम भाडादर कार्यान्वयन गराउनेतर्फ सरकारी अनुगमन हुन नसक्दा यातायात व्यवसायी र कर्मचारीको मिलोमतोमा मनपरी चलिरहेको यात्रुको गुनासो छ । तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको बताए पनि उनीहरूले खुद्रा छैन भन्दै यात्रुलाई ठग्ने क्रम नरोकिएको यात्रुहरूको गुनासो छ ।

    पछिल्लो पटक सरकारले न्यूनतम भाडा १८ रुपैयाँ निधारण गरेपछि यातायात कर्मचारीहरूलाई खुद्रा छैन भनेर २९ रुपैयाँ असुल्न सजिलो परेको यात्रुहरूको गुनासो छ । महाशाखाका सहायक प्रवक्ता सन्तोष रोक्काले जानकारी दिएको जानकारीअनुसार २३ रुपैयाँ भाडा तोकिएका स्थानमा पनि खुद्रा छैन भन्दै सार्वजनिक यातयातका परिचालकले २५ रुपैयाँ लिने गरेको भेटिएको हो । प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा वृद्धि गर्ने निर्णय गरेपनि सार्वजनिक यातायात चार किमी दूरिमै २५ भाडा लिने गरेको यात्रुको गुनासो छ । चार किमीमा १८ भाडा सरकारले तोकेको छ ।

    बढी भाडा लिएको पुष्टि हुने भएपछि यसअघि देखि नै स्थानीय मार्गमा सार्वजनिक यातायातले टिकट नदिने गर्दै आएका छन् । साझा यातायातले भने काठमाडौं उपत्यकाभित्र पनि टिकट दिने गर्दै आएको छ । तोकिएको दरभन्दा बढी भाडा लिएको गुनासो बढे पनि सरकारीस्तरबाट कुनै चासो देखिएको छैन ।

    यातायात व्यवस्था विभागमा अनुगमनका लागि छुट्टै गाडी र कर्मचारीको व्यवस्था भए पनि व्यवसायीसँगको मिलेमतोमा केही नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउँछन् । वाग्मती र प्रदेश नं १ सरकारले ढल्ने निश्चित भएपछि पछिल्लो पटक यातायात व्यवसायीको प्रभावमा भाडा वृद्धि गरेर यात्रुलाई दुःख दिने काम गरेको पोखरेलको भनाइ छ । सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने जनचासोको विषय उक्त निर्णय सच्याउनु पर्नेमा नयाँ सरकारको कुनै ध्यान जान नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

    संघीय सरकारले ढल्ने निश्चित भएसँगै गत असार २७ गते लामो दूरीका सवारीको भाडा बढाउने निर्णय त्यसको दुई दिनपछि असार २९ गते बनेको पाँच दलीय गठबन्धनको नयाँ सरकारले नसच्याउँदा सर्वसाधारण यात्रु मर्कामा परिरहेको यात्रुहरूको गुनासो यत्रतत्र सुनिन थालेको छ ।

    उता महाशाखाले भने तोकिए भन्दा बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको बताउँदै आएको छ । महाशाखाले पछिल्लो केही दिनयता दैनिकजसो १०–१५ वटा बढी भाडा लिने गरेको सार्वजनिक यातायातलाई कारबाही गरिरहेको बताएको छ । उपत्यकाभर जुनसुकै स्थानमा भए पनि बढी भाडा लिने सवारीको नम्बर महाशाखाको टोल फ्रि नं १०३ मा टिपाए कारबाही हुने पनि सहायक प्रवक्ता रोक्काले जनाए ।