
जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकाको घैरुङमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर चाहिँ बन्न नसक्ने बताएका हुन् ।
‘संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन,’ उनको भनाइ छ– ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृृद्धि पनि हुँदैन ।’
माओवादीलगायतका दलहरूले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै डा. भट्टराईले अहिलेको संविधान पूर्ण नभएको दावी गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन । संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ ।’
वर्तमान नेपालको संघीयता आफूहरूले खोजेको जस्तो संघीयता नभएको उनको भनाइ थियो– ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, संघीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमांकन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र संघीयता होइन ।’
यस्तै अर्को प्रसंगमा हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभई पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने डा. भट्टराईको भनाइ थियो । ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔं, माओवादीको हिजोको विचारले मात्र पुग्दैन’ उनले भने– ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो ।’