• महाधिवेशनमा होमियो काङ्ग्रेस : देउवाविरुद्ध साझा उम्मेदवार, महामन्त्रीमा गगन !

    जनजिब्रो संवाददाता |

    मुलुकको जेठो राजनीतिक दल नेपाली काङ्ग्रेस चौधौं महाधिवेशनमा होमिएको छ । पार्टीको विधान र मुलुकको कानुनअनुसार डेढ वर्षअधि नै भइसक्नु पर्ने काङ्ग्रेसको महाधिवेशन पटक–पटक मिति घोषणा हुँदै र पछि सर्दै आएको छ । अब पनि तोकिएकै मितिमा हुने–नहुने अन्योलकै बीच ९–१३ मङ्सिरमा काठमाडौंमा हुने गरी काङ्ग्रेसले पछिल्लो पटक घोषणा गरेको मितिमा भने महाधिवेशन सम्पन्न हुने अपेक्षा धेरैले गरेका छन् ।

    निर्धारित कार्यतालिकाअनुसार शुक्रबार देशभरका सबैजसो वडाहरूमा एकैसाथ वडा अधिवेशन सम्पन्न हुने भएको छ । यद्यपि देशभरका सबै वडामा भने शुक्रबार अधिवेशन नहुने भएको छ । क्रियाशील सदस्यताको विवाद टुङ्गिएका जिल्लाका वडाहरूमा शुक्रबार र क्रमशः विवाद टुङ्गिँदै जाने जिल्लाहरूका वडामा आ–आफ्नै अनुकूलताअनुरूप वडा अधिवेशनको मिति तोक्ने अधिकार तत्–तत् जिल्लामा खटिएका निर्वाचन प्रमुखहरूले पाएका छन् ।

    महाधिवेशनबाट नेतृत्व हत्याउन शीर्ष नेताहरूबीच चर्को दौडधुप, गुटबन्दी र चलखेल चलिरहेको छ । क्रियाशील सदस्यताको पेचिलो विवाद नेतृत्व हत्याउने विभिन्न गुटहरूका बीचको प्रतिस्पर्धाकै परिणाम हो । वर्तमान सभापति शेरबहादुर देउवाकै समूहबाट विमलेन्द्र निधिसहित केहीले सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । देउवाइतर समूहबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत आधा दर्जन नेताहरू सभापतिको दौडमा छन् । त्यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह पनि नेतृत्वको प्रतिस्पर्धामै छ । सो समूहका गगनकुमार थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो महाधिवेशनमा पनि उनी सोही पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

    यो महाधिवेशनबाट जसरी भए पनि नेतृत्व परिवर्तन गर्ने र देउवालाई पन्छाइछाड्ने दावी गरिरहेको संस्थापन इतर समूहबाट आधा दर्जन नेता सभापतिको आकाङ्क्षी रहेपछि देउवाले राहतको महशुस गर्न सक्दथे । तर, उनकै विश्वासपात्र र निकटतम सहयोगी विमलेन्द्र निधिले नै सबैभन्दा पहिले सभापति पदमा उम्मेदवारी घोषणा गरेर कुनै हालतमा पछि नहट्ने अड्डी कसिरहेपछि सभापति देउवा रन्थनिन पुगेका छन् । झन् ‘भ्यागुताको धार्नी’ पुर्याएर गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवा एकातिर आफू प्रधानमन्त्री बनेको ५० दिन नाघिसक्दा समेत मन्त्रिमण्डललाई पूर्णता दिन नसकेर भुमरीमा फसेका छन् भने अर्कातिर पार्टी महाधिवेशनबाट नेतृत्व गुमाउनुपर्ने अवस्था निम्तने हो कि भन्ने छटपटीमा परेका छन् ।

    यसै माहोलबीच बिहीबार देउवाइतर समूहका सभापतिका आकाङ्क्षी सबै नेताले संयुक्त पत्रकार सम्मेलन गरेर एक मात्र साझा उम्मेदवार तय गरिने प्रतिबद्धता जनाए । सिटौला समूहमा रहँदै आएका गगनकुमार थापा एकाएक पौडेललगायका तुलनात्मकरूपले फराकिलो समूहको सोही कार्यक्रममा उपस्थित भएर आफूलाई महामन्त्री पदको शक्तिशाली उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । उक्त पत्रकार सम्मेलनमा नेता सिटौला भने अनुपस्थित रहे ।

    यसरी अब भने काङ्ग्रेस महाधिवेशनले माहोल तताउँदै गएको छ । पटक–पटक पार्टी र राज्यसत्ताको नेतृत्व समालिसकेका देउवा क्रमशः पछि धकेलिने सङ्केत देखा परेको छ । गठबन्धन सरकारलाई सफल गराएर ओली प्रतिगमनलाई व्यावहारिकरूपले परास्त गर्न सके त्यसपछि राजनीतिबाट विश्राम नै लिए पनि देउवाले पाइसकेका अवसरहरू र उमेरजन्य बाध्यता दुवैको सम्मान हुने देखिन्छ ।