वर्ष– २७, अङ्क– २७, माघ २८ गते शुक्रबार, २०७८
आठ वर्षको अन्तरालपछि नेकपा (एमाले) ले शुक्रबार जिल्ला अधिवेशन गर्दैछ । यति बेलासम्म दुई पटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा ‘जाम’ परेको अवस्था छ ।
जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन् । त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने र सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एक पटक सदस्य भई काम गरेको हुनुपर्नेछ । अन्य पार्टीबाट आएकाको हकमा विधानको धारा ६३ (११) अनुसार पहिले जुन कमिटीमा काम गरेको हो, त्यही कमिटीमा समायोजन हुनेछ ।
‘धेरैजसो नेता अन्य पार्टीबाट एमालेमा आउँदा पदाधिकारी छैनन् तर उनीहरूमध्ये धेरैजसो पदाधिकारीमा आउन चाहने देखिन्छन् । यसमा अहिले संगठन विभागले दिएको निर्देशन बाधक देखिएको छ’– एक जिल्लास्तरीय नेताले भने । पहिले जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न थालेको छ ।
हरेक जिल्लामा १० वर्षसम्म एउटै नेतृत्व रहँदा माथिदेखि तलसम्म ‘जाम’ भएको थियो । दसौं महाधिवेशनबाट प्रदेश तहका नेता केन्द्रमा गएपछि केही हदसम्म ‘जाम’ खुलेको छ । तर, जिल्लाको नेतृत्वमा धेरैजसो नेताको दाबी रहेको छ । खासगरी जिल्ला तहको नेतृत्वमा रहेका नेताले नै स्थानीय, प्रदेश र केन्द्रमा हुने निर्वाचनमा हक दावी गर्ने भएकाले जिल्ला कमिटीमा आउन चाहने नेताहरूको संख्या बढेको छ ।
एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गरिसक्नुपर्ने उल्लेख थियो । सोही निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । अधिवेशनको उद्घाटन अध्यक्ष खड्ग ओलीले गर्नेछन् । पुस २३ मा सुरु हुने अधिवेशनअन्तर्गत पुस २४ मा नेतृत्व चयन हुनेछ ।
‘अध्यक्ष ओलीले केही हिमाली जिल्लाबाहेक पार्टीका सबै जिल्ला अधिवेशन ‘एक्सन रुम’ बाट एकसाथ उद्घाटन गर्नुहुनेछ’– एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयस्थित ‘एक्सन रुम’ बाट अध्यक्ष ओलीले ‘भर्चुअल उद्घाटन’ र सम्बोधन गर्नेछन् । ओलीले वडा र पालिका अधिवेशन उद्घाटन पनि भर्चुअल माध्यमबाटै गरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।
लामो समयदेखि हिंसा जारी सिरियाका हिंसापीडितलाई जाडो नजिकँदै गर्दा थप मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । यसअघि पनि राष्ट्रसंघले सिरियाको उत्तर–पश्चिमी क्षेत्रका लाखौं नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको बताएको थियो ।
सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले बताए । सिरियाको उत्तर–पश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीको खाँचो रहेको पनि गिरिफिथले जनाएका हुन् ।
उनले जाडो याममा यहाँका थप नागरिक संकटमा पर्नसक्ने भन्दै मानवीय सहायताको खाँचो रहेको बताए । यसअघि राष्ट्रसंघले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।
मानवीय सहायता प्रमुख गिरिफिथले यहाँ एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताए । ती नागरिक सिरियामा करिब एक दशकको समयमा द्वन्द्वको चपेटामा परेका छन् । सिरियामा अहिले आर्थिक संकट थपिएकोले सिरियाका नागरिक खाना र बासकै समस्यामा परेका बताइएको छ ।
ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्र पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्याउन सकिरहेको छैन । सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । हिंसाको चपेटामा परेको लाखौं नागरिक विस्थापित हुनपुगेका सिरियामा चार लाखभन्दा बढीले गृहयुद्धमा ज्यान गुमाइसकेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्ला दिनहरूमा निरन्तर रुपमा नेपाली मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकाप्रति चिन्ता व्यक्त गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औं सम्मेलनको उद्घाटन उपराष्ट्रपति पुनले गर्दै मौलिक भाषा, कला, संस्कृतिको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रबर्द्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे ।
‘मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौं । हामी सोचौं त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?’ उनले भने ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन ।’
‘मेरो आग्रह छः हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔं’ उनले थपे– ‘प्रबद्र्धन गरौं । र, भावी पुस्तालाई हस्तान्तरण गरौं ।’उनले लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै राज्यले उक्त दायित्व पन्छिन नमिल्ने बताए ।
‘यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ’ उनको जोडदार आग्रह थियो । ‘लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ । यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ’ उनले भने ।
‘यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ । विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ ।’ कार्यक्रमबीच नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण समेत गरिएको थियो ।
पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकपछि सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशमा तीन महिने पार्टी सुदृढीकरण अभियान लाग्ने भएको छ ।
नेकपा एसको पोखरामा बुधबार सम्पन्न पार्टी प्रदेश कमिटीको सो बैठकले अभियानलाई गण्डकी प्रदेशमा व्यवस्थित तरिकाले सञ्चालन गर्ने र संगठन विस्तारमा जोड दिने निर्णय गरेको स्थायी समिति सदस्य चूडामणि जंगलीले जानकारी दिएका हुन् । प्रदेशका ११ वटै जिल्लाका संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका तथा वडा कमिटीसम्म अभियान सञ्चालन गर्न पार्टीका केन्द्रीय समिति तथा प्रदेश कमिटीका सदस्यलाई इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।
कास्कीमा केन्द्रीय कमिटी सदस्य गजकुमारी गुरुङलाई क्षेत्र नं १, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य धनराज आचार्यलाई क्षेत्र नं २ र केन्द्रीय सदस्य रत्ना गुरुङलाई क्षेत्र नं ३ को जिम्मेवारी तोकिएको छ । पोखरा महानगरपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण नेपालीलाई दिइएको छ । बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले गरिब, मजदूर किसान, श्रमजीवी वर्गमा सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए ।
बैठकले अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै परिणाममुखी बनाउने, पाँच दलीय गठबन्धनको एकतालाई थप मजबुत बनाउँदै यसलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म सहकार्य गर्ने वातावरण तयार गर्न गठबन्धनलाई अनुरोध गर्ने, जनताले दैनिक रुपमा भोगेका समस्या समाधन गर्दै जनचाहानाअनुसार सरकारका काम कारबाहीलाई जनमुखी बनाउँदै केन्द्र सरकार र प्रदेश सरकारलार्ई काम गर्न अनुरोध गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।
नेकपा एसको सोही बैठकले बेमौसमी वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उपचार, मृतकका परिवारलार्ई उचित राहत र नोक्सान भएको धान बालीको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग अनुरोध गर्ने, चाडबाडको समयमा बजारमा कृत्रिम अभाव देखाउँदै उपभोग्य सामग्रीको मूल्यवृद्धि गर्ने कार्य भइरहेकाले त्यस्ता कार्य तुरुन्त रोक्न सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको पार्टी प्रदेश कमिटीका उपाध्यक्ष श्रीनाव बरालले जानकारी दिए ।
प्रदेश अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटी सदस्य जंगली, शारदाप्रसाद सुवेदी, रामजी शर्मा, प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ उपसचिवद्वय बराल र रेखा बस्यालसहित समसामयिक विषयमा पार्टीको धारणा राखेका थिए ।