‘अनन्त प्रेरणाका स्रोत : शक्ति लम्साल’ (जीवनी)

नेपालका एक वरिष्ठ माओवादी नेता तथा राष्ट्रका सुपरिचित वरिष्ठ पत्रकार शक्ति लम्साल सवैका निम्ति उत्साह, ऊर्जा र प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँबारे धेरैलाई चासो र जिज्ञासा देखिएको र उहाँसम्बन्धी कतिपय विवरण गलत प्रकाशित भइरहेको समेत देखिएकाले उहाँ स्वयमले जनजिब्रो ([त्यसबेला मासिक, हाल साप्ताहिक] को वर्ष– १०, अङ्क– २, पुस–माघ, २०६३ मा प्रकाशित) का लागि लेख्नुभएको यो सामग्री यहाँ साभार गरिएको छः

नामः शक्ति लम्साल
टेकनामः रुख, गुलाफ, अजय, आजाद, पथिक
जन्ममितिः १९९३ चैत २२ (१९३६ अप्रिल ७)
जन्मस्थानः चारुमार्ग, चाबहिल
बाबुआमाः कृष्णप्रसाद/राधादेवी लम्साल
शिक्षाः मेट्रिक
ठेगानाः कामनपा– ४, चण्डोल (वंशीधरमार्ग)
परिवारः श्रीमती कृष्णा, छोरा सन्तोष र छोरी प्रज्ञा

राजनीतिक–साङ्गठनिक सङ्लग्नताः
– २००८ सालमा भारतको तेलाङ्गना हतियारबन्द विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीबाट कम्युनिस्ट राजनीति र विचारधाराप्रति आकर्षित ।
– २००९ सालमा साहित्यकार रमेश विकलले बुढीऔँलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएपछि २०१० सालमा संस्थापक महासचिव कमरेड पुष्पलालद्वारा नेकपाको सदस्यता प्राप्त । प्रारम्भमा विद्यार्थी र युवक सङ्घमा आबद्ध ।
– नेकपाको प्रथम अधिवेशन (२०१०, पाटन) मा चौतारा (सिन्धुपाल्चोक) बाट प्रतिनिधित्व ।
– २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशन (फोहरा दरबार, काठमाडौँ) मा प्रतिनिधि छानिए पनि प्राविधिक कारणले सहभागी हुन नसकेको ।
– २०१८ सालमा सम्पन्न प्रसिद्ध दरभङ्गा प्लेनम (विस्तारित बैठक) मा सहभागी ।
– २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशन (मोतीमहल, वाराणसी) मा सहभागी ।
– २०४१ सालमा सम्पन्न पाँचौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी ।
– २०५१ सालमा सम्पन्न नेकपा (माओवादी) को ऐतिहासिक तेस्रो विस्तारित बैठकमा प्रतिनिधिका रूपमा सहभागी । बैठकद्वारा केन्द्रीय सल्लाहकारमा नियुक्त ।
– सन् १९५७ मा प्रथम समाजवादी देश सोभियत सङ्घको मस्कोमा सम्पन्न सातौँ विश्व युवा–विद्यार्थीको सम्मेलनमा जानबाट प्राविधिक कारणले वञ्चित ।
– २०४५ देखि २०४६ सालसम्म नागरिक अधिकार मञ्चको संयोजक ।
– पश्चिम नेपाल युवक सङ्घको प्रचारमन्त्री (२०१३) ।
– जनअधिकार सुरक्षा समितिको केन्द्रीय सदस्य ।
– सर्वजातीय अधिकार मञ्चको केन्द्रीय सदस्य ।
– प्रगतिशील लेखक सङ्घ (प्रलेस) को केन्द्रीय उपाध्यक्ष ।
– पारिजात स्मृति केन्द्रको संस्थापक सदस्य ।
– अखिल नेपाल जनसांस्कृतिक सङ्घको केन्द्रीय संयोजक ।
– संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको केन्द्रीय सदस्य ।
– राष्ट्रिय जनआन्दोलन संयोजन समिति (२०५३) को केन्द्रीय सदस्य ।
– संयुक्त जनमोर्चा, नेपाल (२०४७) को केन्द्रीय सदस्य ।
– संयुक्त लोकतान्त्रिक मोर्चा, नेपालको संस्थापक केन्द्रीय सदस्य ।
– केही समय अखिल नेपाल किसान सङ्घ तथा युवक फेडरेसनमा आबद्ध भई सक्रिय ।
– शान्ति ऐक्यबद्धता नागरिक आन्दोलन (२०६२–६३) मा सङ्लग्न भई गिरफ्तार ।
– नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य ।
– जनपक्षीय पत्रकार सङ्घको केन्द्रीय संयोजक (२०५४) ।

यातना र जेलजीवनः
– २०१८ सालमा मोहनविक्रम सिंहसँगै तौलीहवा जेलमा १८ महिना ।
– २०२२ सालमा परासी किसान विद्रोहमा भैरहवा जेल ।
– २०४२ सालको रामराजाप्रसाद सिंहको चर्चित बमकाण्डताका श्रमजीवी पत्रकार सङ्घका तर्फबाट ज्ञापनपत्र बुझाउन जाँदा राजदरबारको बम विष्फोटनमा परी बाँचेको ।
– २०५४ सालमा देशव्यापी रूपमा राजतन्त्रविरोधी पर्चा वितरणका क्रममा पक्राउ भई हनुमानढोका हिरासतमा ।
– २०४६ सालको जनआन्दोलनमा केही समय भद्रगोल जेल ।
– भारतको मेघालयबाट नेपालीहरू लखेटिएको विरोधमा भाग लिँदा पक्राउ भई केही समय सेन्ट्रल जेल ।
– २०५२ सालको चर्चित रत्नपार्क भित्तेकाण्डमा गिरफ्तार भई भद्रगोल जेल ।
– २०५३ सालको स्थानीय निर्वाचन बहिष्कार आन्दोलनमा पक्राउ भई भद्रगोल जेल ।
– २०५६ सालमा भट्टेडाँडा प्रहरी चौकी कब्जापछि जनादेशको कार्यालय नियन्त्रणमा लिई पक्राउपछि भद्रगोल जेल ।
– अनेकोटको श्रद्धाञ्जलीसभा र प्रदर्शनमा सशस्त्र प्रहरीद्वारा गरिएको ढुङ्गामुढा र गोली प्रहारबाट बाँच्न सफल, प्रहरीद्वारा बन्दुकको कुन्दाले घोचेर घाइते ।
– २०५६ सालमै कथित सुरक्षा कानुनअन्तर्गत दुई महिना डिल्लीबजार कारागार ।
– राजनीतिक आन्दोलन, वैदेशिक हस्तक्षेपविरुद्धका आन्दोलन, महँगीविरोधी आन्दोलन, पत्रपत्रिका–पत्रकारहरूको हकहितसम्बन्धी क्रियाकलाप आदिका सन्दर्भमा पञ्चायती तथा बहुदलीय शासकहरूद्वारा बारम्बार गिरफ्तार र चरम शारीरिक–मानसिक यातना ।

सम्मानः
– २०५७ सालमा नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाद्वारा दोसल्ला ओढाई सम्मानपत्र प्रदान ।
– २०५९ सालमा रिपोर्टर्स क्लबद्वारा दोसल्ला ओढाई सम्मानपत्र प्रदान ।
– २०६२ सालमा साहित्य–सन्ध्याद्वारा सम्मानपत्र र नगद पुरस्कार ।
– २०६३ सालमा प्रगतिशील लेखक सङ्घद्वारा दोसल्ला ओढाई सम्मानपत्र प्रदान ।

भ्रमणः
– नेपालका थुप्रै ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्त्वका स्थलहरू ।
– भारतका प्रमुख सहरहरू ।

कृतिहरू/पत्रकारिताः
– भियतनाम युद्धको ऐतिहासिक पृष्ठभूमि (२०२९) ।
– मार्क्सवाद, समाज र साहित्य (२०६१) ।
– विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा थुप्रै साहित्यिक, समसामयिक, राजनीतिक लेखरचना, फिचर, स्तम्भ, समाचार आदि प्रकाशित ।
– सम्पादक– दैनिक निर्णय, भैरहवा ।
– प्रकाशक/सम्पादक– योजना साप्ताहिक (२०३९) ।
– सम्पादक– जनादेश साप्ताहिक ।
– सम्पादक– कलम साहित्यिक त्रैमासिक ।
– सम्पादक– मधुमास ।

निधनः  
– २५ कात्तिक, २०७२ (पछि अद्यावधिक गरिएको) ।

वैचारिक प्रतिबद्धतासहित जनजिब्रोको आगमन : यो हो हाम्रो सम्पादकीय नीति !

वैचारिक पत्रकारिताको एउटा हिस्सा बनेर साढे दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको जनजिब्रो साप्ताहिककै डिजिटल सहयात्रीका रूपमा जनजिब्रो डटकमको यात्रा अघि बढाएका छौं । अनलाइन सञ्चार माध्यमका रूपमा अघि बढाइएको यो यात्रा ‘चलनचल्तीका’ प्रायः अनलाइन माध्यमहरुभन्दा नितान्त फरक ढंगबाट, सुस्पष्ट योजना र वैचारिक एवम् व्यावहारिक प्रतिबद्धताका साथ निरन्तर अघि बढ्नेछ ।

जनजिब्रो डटकमको सम्पादकीय नीति [Editorial Line]

१. जनजिब्रो डटकमलाई विचार अन्तर्क्रियाको साझा थलो/माध्यम र वैचारिक बहसका दृष्टिले वामपन्थी र क्रान्तिकारीहरूको संयुक्त मोर्चा/मञ्चका रूपमा स्थापित/विकसित गराउने ।

२. अहिले जहाँसुकै क्रियाशील/सङ्गठित भए/नभए तापनि विगतमा नेपाली कम्युनिस्ट आन्दोलन र विशेषतः माओवादी आन्दोलनमा काम गरेका/योगदान पुर्‍याएका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तकलाई आ–आफ्ना विचार र राजनीतिक बहस सञ्चालन तथा तर्क र पुष्ट्याइँ प्रस्तुत गर्न स्थान दिने । यस क्रममा हालको राजनीतिक आबद्धता र भूमिकाका आधारमा कसैमाथि भेदभाव नगर्ने ।

३. सम्पादक मण्डल र प्रकाशन/प्रशारण कक्षका तर्फबाट बुँदा– २ मा उल्लेखित पात्रहरूमाथि अपमानजनक, गाली–बेइज्जतिपूर्ण, लाञ्छनायुक्त र अभद्र शब्दावलीहरू प्रयोग नगर्ने । त्यस्ता शब्दावली प्रयोग नगर्न वा यथासम्भव कम गर्न अन्तर्वार्तादाता, स्तम्भकार, लेखक र स्रष्टाहरूसँग समेत सम्पादक मण्डलले अनुरोध र प्रेरित गर्ने ।

४. नेताविशेष वा व्यक्तिविशेषमाथि व्यक्तिगत टीकाटिप्पणी, आरोप–प्रत्यारोप र घोचपेच गरिएका/गरिने खालका सामग्री सामान्यतः प्रकाशन/प्रशारण नगर्ने । व्यक्तिकेन्द्रित आलोचना र विरोध वा दलाली र चाकडी झल्कने अतिरञ्जित प्रशंसा या भक्तिभाव झल्कने सामग्रीहरू पनि सामान्यतः प्रकाशन/प्रशारण नगर्ने ।

५. विचार, नीति, कार्यक्रम, सिद्धान्त, राजनीति, प्रवृत्ति, आचरण, विकृति–विसंगति, दूराचार, भ्रष्टाचार, अनियमितता, कुशासन आदिको शिष्ट, मर्यादित र दार्शनिक भाषामा तथ्यपूर्ण, तर्कयुक्त र पुष्टि गर्न सकिने गरी आलोचना, भण्डाफोर र विरोध गर्न तथा विचार सिद्धान्तबारे आ–आफ्ना दृष्टिकोणअनुरूप बहस गर्न सबै स्तम्भकार, लेखक र सर्जक स्वतन्त्र हुनेछन् । यस क्रममा व्यक्तिविशेष वा नेताविशेषका सकारात्मक या नकारात्मक भूमिकाबारे चर्चा हुनु या प्रसङ्ग जोडिनु स्वाभाविक हुनेछ ।

६. सङ्गठनात्मक/राजनीतिक आबद्धताका दृष्टिले सबै घटक र पात्र; विधा वा विषयवस्तुका दृष्टिले विविधतायुक्त; क्षेत्र, लिङ्ग र समुदायका दृष्टिले समेत समावेशी तथा सन्तुलित हुने गरी सामग्रीहरूको संयोजन तथा प्रकाशन/प्रशारणमा विशेष ध्यान दिने ।

७. विभिन्न ऐतिहासिक आन्दोलनहरू, वर्गसङ्घर्षहरू, महान् जनयुद्ध, महान् बेपत्ता योद्धाहरू र महान् सहिदहरूका ऐतिहासिकता, योगदान तथा गरिमालाई अस्वीकार गर्ने, अपमानित गर्ने र नजरअन्दाज गर्ने तथा त्यस्ता आशय झल्काउने सामग्रीहरूलाई स्थान नदिने;  बरु त्यस्ता प्रवृत्ति विरुद्धका सामग्रीहरूको प्रकाशन/प्रशारणमा जोड दिने ।

८. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, जनवाद, समाजवाद, साम्यवाद एवम् कम्युनिस्ट आदर्श तथा अग्रगामी राजनीतिक/सामाजिक/सांस्कृतिक मूल्य–मान्यता विपरीतका सामग्रीहरूलाई स्थान नदिने ।

९. निराशा, कुण्ठा, हिनता र पश्चात्ताप होइन; आशावाद र उज्वल भविष्यको सम्भावना देख्ने र खोजी गर्ने कोणबाट व्यक्त विचार, लेख–रचना र सामग्रीलाई स्थान दिने । विस्तारवाद–साम्राज्यवादका अतिक्रमण, थिचोमिचो र हैकमका विरुद्ध प्रतिरोध र विद्रोह बोल्ने सामग्रीले प्राथमिकता पाउने ।

१०. विभिन्न खाले बार्गेनिङ, धाकधम्की र अपारदर्शी लेनदेनबाट पूर्णतः मुक्त रही कमाइखाने व्यवसायका रूपमा होइन; राष्ट्र र जनताप्रति सचेत नागरिकको दायित्वका रूपमा जनजिब्रो डटकम सञ्चालित हुने तर पारदर्शी र स्वस्थ बजार व्यवस्थापनका माध्यमबाट सञ्चालन खर्च जुटाउने र मितव्ययी एवम् पारदर्शीरूपमा खर्च गर्ने प्रक्रियालाई भने अधिकारकै रूपमा आत्मसात् गरिने ।

मूलतः यिनै दृष्टिकोण, मान्यता र प्रतिबद्धताका साथ अघि बढ्ने जनजिब्रो डटकमको यात्रामा आबद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र विस्तारमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुराेध छ । मुद्रण संस्करणमा झैं डिजिटल प्रकाशन/प्रशारण-यात्रामा समेत खुला हृदयका साथ सहयोग प्राप्त हुने र राष्ट्रव्यापीरूपमै वृहत् सहकार्यको वातावरण बन्ने कुरामा हामी विश्वस्त छौं ।

प्रकाशन/सम्पादन टिम
जनजिब्रो डटकम, काठमाडौं, नेपाल

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

काठमाडौं, १३ कात्तिक ।

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भएको हो ।

विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी थापाले कला–साहित्यको समाजवादी स्वरूपबारे सात बुँदामा व्याख्यान प्रस्तुत गरे । समाजवादमा पनि वर्ग रहने हुनाले वर्गीय पक्षधरता नै समाजवादी कला–साहित्यको पहिलो महत्त्वपूर्ण विषय भएको थापाले बताए । समाजवादमा समेत वर्ग समाप्त भयो भन्न वा वर्गभन्दा माथि उठेको दावी गर्न नसकिने उनले बताए ।

त्यस्तै, सर्वाहारा अन्तर्राष्ट्रवाद समाजवादी कला–साहित्यको दोस्रो महत्त्वपूर्ण तत्त्व भएको उनले बताए । समाजवाद विश्व व्यवस्था भएकाले समाजवादी कला–साहित्यले सर्वाहारा अन्तर्राष्ट्रवादलाई प्रतिबिम्बन गर्नुपर्नेमा उनले जोड दिए । समाजवाद स्थापना भइसकेपछि पनि साम्राज्यवादसित जीवन–मरणको सङ्घर्ष हुनु र त्यसको प्रतिबिम्ब कला–साहित्यमा देखापर्नु समाजवादी कला–साहित्यको तेस्रो पक्ष भएको थापाको तर्क छ ।

समाजवादी व्यवस्थाभित्रको आलोचनात्मक चेत समाजवादी कला–साहित्यको चौथो तत्त्व भएको उनले बताए । हाम्रो समाजमा आलोचनालाई भण्डाफोरका रूपमा बुझ्ने कमजोरी रहेको चर्चा गर्दै आलोचनाभित्रको रचनात्मकतातर्फ कम्युनिस्टहरूको ध्यान जानुपर्ने उनले बताए । समाजवादअन्तर्गत पनि निरन्तर क्रान्तिको सिद्धान्त लागू गर्नु र त्यसलाई कला–साहित्यमार्फत् अभिव्यक्ति दिनु समाजवादी कला–साहित्यको पाँचौँ तत्त्व थापाले बताए । कुनै पनि वस्तुको एकको दुईमा विभाजन हुने हुनाले विपरीतहरुका बीच जीवन–मरणको सङ्घर्ष चलाउनु नै निरन्तर क्रान्तिको सिद्धान्त भएको उनको भनाइ छ ।

दैनिक समस्या समाधानमा ध्यान दिँदै क्रान्तिलाई अगाडि बढाउनु समाजवादको छैटौं महत्त्वपूर्ण पक्ष भएको बताउँदै समाजवादी कला–साहित्यमा यस्तो सिद्धान्तको अभिव्यक्ति देखिनुपर्ने उनले बताए । साम्यवादी आदर्श स्थापित गर्दै समाजवादले साम्यवादका लागि ढोका खोलिदिने यथार्थको प्रतिबिम्बन गर्नु समाजवादी कला–साहित्यको सातौं महत्त्पूर्ण तत्त्व भएको उनले बताए । जसरी नयाँ जनवादले समाजवादका लागि ढोका खोलिदिन्छ, त्यसरी नै समाजवादले साम्यवादका लागि ढोका खोलिदिनुपर्ने विचार उनले व्यक्त गरे ।

कार्यक्रममा मन्तव्य राख्दै सङ्घका अध्यक्ष प्रा.डा. गिरीले प्रगतिशील लेखकहरूले समाजवादी बिम्बलाई आधार बनाएर लेखनको नयाँ सिलसिला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए । उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा नारायण मरासिनी, प्रकाश थापामगर, हरिप्रसाद सिलवाल र गिरीप्रसाद बुढाले पूरक टिप्पणी राखे ।

राजधानीमा १५९९ सहित थप २२५३ मा कोरोना : ५३५ को मृत्यु, ८६,८२३ संक्रमित, ६४,०६९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ८६,८२३ पुगेको छ । यीमध्ये ५३५ जनाको मृत्यु भैसकेको छ भने ६४,०६९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २२,२१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारकोन नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १,३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ गरी राजधानी उपत्यकामा १,५९९ सहित देशभर थप २,२५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२,७८४ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये १०,३२६ जना संस्थागत आइसोलेसनमा र ११,८९३ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १,३२९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

भिडियाेमा हेर्नाेस् ब्रिफिङकाे पूर्णपाठ–

चार्टमा हेर्नाेस् पछिल्लाे अपडेट–

राजधानीमा ७६७ सहित थप १३२५ मा कोरोना : ४११ को मृत्यु, ६४१२२ संक्रमित, ४६२३३ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६४१२२ पुगेको छ । यीमध्ये ४११ जनाको मृत्यु भैसकेको छ भने ४६,२३३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १७,४७८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी राजधानी उपत्यकामा ७६७ सहित देशभर थप १,३२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९,५८४ जनाको पीसीआर परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुष गरी १,३२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ९६६ जना डिस्चार्ज भएका छन् । यो २४ घन्टामा काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुष; ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिला गरी राजधानी उपत्यकामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यतिबेलाका सक्रिय संक्रमितमध्ये ९,०७१ जना संस्थागत आइसोलेसनमा र ८,४०७ जना होम आइसोलेसनमा रहेको प्रवक्ता प्राडा गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् ब्रिफिङको विवरण–

https://www.facebook.com/mohpnep/videos/366175971424205/

पहिलो किस्ता लिएर घर बनाउन नसक्ने भूकम्पपीडितलाई खुशीको खबर !

पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न शुक्रबार सम्झौता गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि धादिङका धुनीवेँसी, नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाका लाभग्राहीले बैंकको नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियतदरमा भूकम्पपीडितले घर कर्जा पाउने छन् ।

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले आर्थिक अभावले घर बनाउन नसकेकालाई सहजीकरण गर्ने र अन्यत्र घर भएका वा घर आवश्यक नभए पनि किस्ता लिएकालाई कारवाही प्रक्रिया अघि बढाइने बताए । पहिलो किस्ता पाएर पनि घर बनाउन शुरु नगर्नुका कारण आर्थिक अभावले नै गर्दा हुनसक्ने उहाँको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले विभिन्न कार्यक्रममार्फत लक्षित वर्गलाई सहुलियत कर्जा प्रवाह गरिरहेको बताए । सहुलियत कर्जाबाट धेरै महिला उद्यमी लाभान्वित भएका उहाँको बताए। सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता दाहालले यो सम्झौताले भूकम्पपछिको पुनःनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

साथै, प्रदेश नं २, प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाकोषको भुक्तानी बैंकमार्फत गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ ।