बजेट र वर्गदृष्टि

असारको सुरुआतसँगै प्रदेश सरकारहरूले वार्षिक बजेट सार्वजनिक गरेका छन् । आ–आफ्नो प्रदेशगत अवस्था, विशिष्टता र प्रकृतिअनुसार कुनै प्रदेशले निकै ठूलो आकारको त कुनै प्रदेशले मध्यम आकार र कुनैले तुलनात्मकरूपले सानो आकारको बजेट सार्वजनिक गरेका छन् ।

वर्तमान संविधानले व्यवस्था गरेअनुरूप मुलुकमा तीन तहका ‘सरकार’ क्रियाशील छन् । वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू हुनुअघि पनि शासन–प्रशासनका विभिन्न तह त थिए तर केन्द्रबाहेक अरु भने आफैंमा ‘सरकार’ भने थिएनन् । केन्द्र, पाँच विकास क्षेत्र, चौध अञ्चल, पचहत्तर जिल्ला, विभिन्न गाउँ र नगर तथा वडाहरूको संरचनामा रहेको नेपाल पछिल्लो संविधानको कार्यान्वयनसँगै सङ्घ; सात प्रदेश; महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ५ सय ५३ वटा स्थानीय तह र हजारौं वडाहरूमा पुनर्संरचित भएको छ । यद्यपि जिल्ला संयन्त्र पनि कायमै छ र पचहत्तरको ठाउँमा सतहत्तर जिल्ला कायम गरिएका छन् ।

यी संरचनाहरूमध्ये सङ्घ, प्रदेश र स्थानीय तहलाई तीन तहका ‘सरकार’ का रूपमा परिभाषित गरिएको छ । र, सरकार भन्नासाथ त्यसका आधारभूत तीन अङ्ग– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अनिवार्य तत्त्वका रूपमा सँगसँगै आउँछन् । त्यसैले तीनै तहका ‘सरकार’ सँग यी तीनै अङ्ग समेत क्रियाशील छन् । अतः यी तीनै तहका ‘सरकार’ ले हरेक आर्थिक वर्षको सुरुआतअघि आ–आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्छन्, पारित गराउँछन् र अभ्यासमा लान्छन् ।

यही व्यवस्था र सोको मर्मअनुरूप १५ जेठमा सङ्घीय सरकारले सङ्घीय संसद्मा राष्ट्रिय बजेट प्रस्तुत गरिसकेको छ । विभिन्न प्रक्रिया पूरा गरेर त्यो पारित हुने चरणमा आइपुगेको छ । त्यसलगत्तै प्रदेश सरकारहरूले प्रदेशसभामा र स्थानीय सरकारहरूले स्थानीयस्तरकै व्यवस्थापिकामा बजेट प्रस्तुत गरेका छन् । अनेकौं विवाद, समस्या र व्यवधानका कारण केही स्थानीय तहमा भने बजेट प्रस्तुत हुन सकेको छैन ।

सरकारी नीति तथा कार्यक्रम र बजेटको वैचारिक आधार, आधारभूत दृष्टिकोण र वर्गपक्षधरता तथा रकमको अङ्क र विनियोजनका क्षेत्र एवम् प्राथमिकताबारे भने मनग्गे छलफल, बहस र विवाद छन् । वर्गविभाजित नेपाली समाज, अल्पविकसित राष्ट्र, प्रदेश र स्थानीय तहहरू, अनेकौं सङ्घर्ष, क्रान्ति र प्रतिरोधको आङ्शिक मात्रै सफलता र अहिलेका सबै तहका सबै सरकारी संरचना मूलतः असफलसिद्ध संसदीय व्यवस्थाकै घेराभित्र कैद रहिरहेको वास्तविकताका कारण यी बजेटहरू पनि विगतका शासकहरूले प्रस्तुत गर्ने बजेटभन्दा खासै भिन्न, आशाप्रद र प्रगतिशील हुन नसकेको र नसक्ने तथ्यमाथि कुनै छलफल र बहसको जरुरत नै छैन । तुलनात्मकरूपले केही तलमाथि हुने र प्राथमिकताका विषय–क्षेत्रमा सामान्य हेराफेरि बेग्लै कुरा हो ।

अतः संसदीय व्यवस्था र यथास्थितिवादी राजनीतिक प्रणालीका पक्षधरहरू यिनै स–साना हेराफेरि र शीर्षक तथा अङ्कको तलमाथिमै चर्को माथापच्ची गरिरहेका छन्; गरमागरम ‘बहस’ छेडिरहेका छन् । संसदीय व्यवस्थालाई सिधै अस्वीकार गर्ने र आमूल परिवर्तन चाहने पक्षहरूको दृष्टिमा यी र यस्ता ‘बहस’ निरर्थक हुन्, ती केवल सत्ताधारी वर्गबीच आपसी स्वार्थ र लेनदेनका छिनाझपटी मात्रै हुन् । यही राजनीतिक प्रणाली कायम रहँदासम्म अर्थात् यही संविधानले छ्वास्स छोएको ‘समाजवादउन्मुख’ पदावलीको कार्यान्वयन नहुँदासम्मे जतिसुकै प्रगतिशील, असल र गतिलो बजेट बनाइयो भनिए तापनि जनअपेक्षाको सही सम्बोधन सम्भव नहुने कुरा स्वतः स्पष्ट नै छ ।

एमालेभित्रको ‘जाम’ अब खुल्दैछ यसरी

आठ वर्षको अन्तरालपछि नेकपा (एमाले) ले शुक्रबार जिल्ला अधिवेशन गर्दैछ । यति बेलासम्म दुई पटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा ‘जाम’ परेको अवस्था छ ।

जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन् । त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने र सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एक पटक सदस्य भई काम गरेको हुनुपर्नेछ । अन्य पार्टीबाट आएकाको हकमा विधानको धारा ६३ (११) अनुसार पहिले जुन कमिटीमा काम गरेको हो, त्यही कमिटीमा समायोजन हुनेछ ।

‘धेरैजसो नेता अन्य पार्टीबाट एमालेमा आउँदा पदाधिकारी छैनन् तर उनीहरूमध्ये धेरैजसो पदाधिकारीमा आउन चाहने देखिन्छन् । यसमा अहिले संगठन विभागले दिएको निर्देशन बाधक देखिएको छ’– एक जिल्लास्तरीय नेताले भने । पहिले जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न थालेको छ ।

हरेक जिल्लामा १० वर्षसम्म एउटै नेतृत्व रहँदा माथिदेखि तलसम्म ‘जाम’ भएको थियो । दसौं महाधिवेशनबाट प्रदेश तहका नेता केन्द्रमा गएपछि केही हदसम्म ‘जाम’ खुलेको छ । तर, जिल्लाको नेतृत्वमा धेरैजसो नेताको दाबी रहेको छ । खासगरी जिल्ला तहको नेतृत्वमा रहेका नेताले नै स्थानीय, प्रदेश र केन्द्रमा हुने निर्वाचनमा हक दावी गर्ने भएकाले जिल्ला कमिटीमा आउन चाहने नेताहरूको संख्या बढेको छ ।

एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गरिसक्नुपर्ने उल्लेख थियो । सोही निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । अधिवेशनको उद्घाटन अध्यक्ष खड्ग ओलीले गर्नेछन् । पुस २३ मा सुरु हुने अधिवेशनअन्तर्गत पुस २४ मा नेतृत्व चयन हुनेछ ।

‘अध्यक्ष ओलीले केही हिमाली जिल्लाबाहेक पार्टीका सबै जिल्ला अधिवेशन ‘एक्सन रुम’ बाट एकसाथ उद्घाटन गर्नुहुनेछ’– एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयस्थित ‘एक्सन रुम’ बाट अध्यक्ष ओलीले ‘भर्चुअल उद्घाटन’ र सम्बोधन गर्नेछन् । ओलीले वडा र पालिका अधिवेशन उद्घाटन पनि भर्चुअल माध्यमबाटै गरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

‘भूगोल मात्रै होइन पहिचान’ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्ला दिनहरूमा निरन्तर रुपमा नेपाली मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकाप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औं सम्मेलनको उद्घाटन उपराष्ट्रपति पुनले गर्दै मौलिक भाषा, कला, संस्कृतिको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रबर्द्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे ।

‘मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौं । हामी सोचौं त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?’ उनले भने ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन ।’

‘मेरो आग्रह छः हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔं’ उनले थपे– ‘प्रबद्र्धन गरौं । र, भावी पुस्तालाई हस्तान्तरण गरौं ।’उनले लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै राज्यले उक्त दायित्व पन्छिन नमिल्ने बताए ।

‘यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ’ उनको जोडदार आग्रह थियो । ‘लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ । यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ’ उनले भने ।

‘यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ । विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ ।’ कार्यक्रमबीच नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण समेत गरिएको थियो ।

नेकपा (एस) : गण्डकीमा संगठन सुदृढीकरण

पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकपछि सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशमा तीन महिने पार्टी सुदृढीकरण अभियान लाग्ने भएको छ ।

नेकपा एसको पोखरामा बुधबार सम्पन्न पार्टी प्रदेश कमिटीको सो बैठकले अभियानलाई गण्डकी प्रदेशमा व्यवस्थित तरिकाले सञ्चालन गर्ने र संगठन विस्तारमा जोड दिने निर्णय गरेको स्थायी समिति सदस्य चूडामणि जंगलीले जानकारी दिएका हुन् । प्रदेशका ११ वटै जिल्लाका संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका तथा वडा कमिटीसम्म अभियान सञ्चालन गर्न पार्टीका केन्द्रीय समिति तथा प्रदेश कमिटीका सदस्यलाई इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

कास्कीमा केन्द्रीय कमिटी सदस्य गजकुमारी गुरुङलाई क्षेत्र नं १, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य धनराज आचार्यलाई क्षेत्र नं २ र केन्द्रीय सदस्य रत्ना गुरुङलाई क्षेत्र नं ३ को जिम्मेवारी तोकिएको छ । पोखरा महानगरपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण नेपालीलाई दिइएको छ । बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले गरिब, मजदूर किसान, श्रमजीवी वर्गमा सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए ।

बैठकले अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै परिणाममुखी बनाउने, पाँच दलीय गठबन्धनको एकतालाई थप मजबुत बनाउँदै यसलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म सहकार्य गर्ने वातावरण तयार गर्न गठबन्धनलाई अनुरोध गर्ने, जनताले दैनिक रुपमा भोगेका समस्या समाधन गर्दै जनचाहानाअनुसार सरकारका काम कारबाहीलाई जनमुखी बनाउँदै केन्द्र सरकार र प्रदेश सरकारलार्ई काम गर्न अनुरोध गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।

नेकपा एसको सोही बैठकले बेमौसमी वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उपचार, मृतकका परिवारलार्ई उचित राहत र नोक्सान भएको धान बालीको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग अनुरोध गर्ने, चाडबाडको समयमा बजारमा कृत्रिम अभाव देखाउँदै उपभोग्य सामग्रीको मूल्यवृद्धि गर्ने कार्य भइरहेकाले त्यस्ता कार्य तुरुन्त रोक्न सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको पार्टी प्रदेश कमिटीका उपाध्यक्ष श्रीनाव बरालले जानकारी दिए ।

प्रदेश अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटी सदस्य जंगली, शारदाप्रसाद सुवेदी, रामजी शर्मा, प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ उपसचिवद्वय बराल र रेखा बस्यालसहित समसामयिक विषयमा पार्टीको धारणा राखेका थिए ।

‘ठूला’ दल : महिला उपस्थिति दयनीय

आन्दोलनका बेला महिला नेतृत्व विकासको नारा लगाएर नथाक्ने राजनीतिक नेपालमा ठूला भनिएका राजनीति दलको व्यवहारमा भने कहीँकतै लागू हुन सकेको देखिँदैन । दलीय राजनीतिमा होस् वा सरकार निर्माणका बेला होस् महिला नेतृत्व विकासको विषय नारामा मात्रै सीमित भएको देखिन्छ । हाल भएका/भैरहेका ठूला दल प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको अधिवेशनले पनि सोही कुराको पुष्टि गरेको छ । संविधानमै ३३ प्रतिशन महिलाको अधिकार सुनिश्चित गरेको भए पनि दलहरूले त्यतातर्फ पटक्कै चासो दिएको पाइँदैन ।

कांग्रेसको पालिका अधिवेशन भएजति स्थानलाई हेर्दा महिला नेतृत्व तुलनात्मक रूपले शून्यप्रायः नै देखिन्छ । कांग्रेस बाग्लुङले दशवटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको र एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा नल्याउ नसकेको प्रतिनिधिमूलक उदाहरणलाई लिन सकिन्छ । दलहरूले नै आफ्नै पार्टी संरचनामा महिलाको नेतृत्व पुर्‍याउने चाहना नराखेकाले पनि संविधानले प्रत्याभूत गरेको कोटा समेत पुग्न सकेको छैन ।

मुलुकभर जारी नेकपा एमालेको पालिका अधिवेशनमा पनि सबै स्थानीय तहको प्रमुख नेतृत्वमा महिला ल्याउन सकेको देखिँदैन । कांग्रेस र एमाले दुवैले दलका विधानमा उल्लेखित ३० देखि ४० प्रतिशत महिला हुनुपर्ने भए पनि आफ्नै विद्यान विपरीत नेतृत्व चयन गरिरहेका छन् ।

‘महिला प्रमुख हुन विधानमानै तोकिनुपर्ने हो र ? खै त नेतृत्वको सोच ?’ एमाले बागलुङकी क्रियाशील नेतृ ममतादेवी शर्माले सामाजिक सञ्जालमा प्रविष्ट गरेको विचारले प्रस्ट हुन्छ महिला नेतृत्वमा आउन चाहन्छन् तर वातावरण छैन् । अखिल नेपाल महिला संघ बागलुङकी संयोजक सावित्रा रानाले महिला नेतृत्वमा आउने वातावरण नै तयार नभएको बताइन् । नेतृत्वमा ल्याउनका लागि पहिलेदेखि नै महिलाका लागि राजनीतिमा सहज वातावरण बनाउनुपर्ने उनको तर्क थियो ।

नेतृत्व पाइएन भन्ने मात्रै होइन त्यो खालको वातावरण पनि बनाउन आवश्यक रहेको भुक्तभोगी महिलाहरू बताउँछन् । राजनीतिमा आफूले जसरी पूरा समय महिलाले दिने र लाग्ने वातावरण बनाउन राजनीतिकमै सक्रिय व्यक्तिहरू समेत अग्रसर हुन नसक्दा महिलाहरूले सधैं ओझेलमा पर्नु परको उनीहरूको गुनासो छ । महिलाको नेतृत्वमा उपस्थितिको विषयमा पुरुषले पनि आवाज उठाउनु आवश्यक छ । मञ्चमा गुलिया र चिल्ला भाषण गरेर मात्र होइन दलका सहकर्मी पुरुषहरूले भालेजातिको अहंकारलाई त्याग गरेर महिलालाई समान प्रतिपर्धी बनाउन तत्पर हुनुपर्ने देखिन्छ भने महिलाहरूले पनि कसैको आड–भरोसा र दयामा होइन मुख्य पदको दाबेदार भएर अधिकार खोज्ने हिम्मत गर्नुपर्छ ।

कसैको अनुहार हेरेर र यसो कोटा पुर्‍याउने भन्दा पनि समान हैसियतको प्रतिस्पर्धीको रूप दलहरूले नै महिला नेतृत्वको विकास गराउन नसक्दा संविधानतः स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यात्मक व्यवस्थालाई लागू गर्न असमर्थ देखिएका हुन् । पुराना र आफूलाई ठूला भनाउने काँग्रेस र एमालेको स्थानीय अधिवेशनमा समेत कागजमा एकथरी, मैदानमा अर्कोथरी उम्मेदवार खडा गरिएका पार्टी मिलेर चुनावी मैदानमा जाँदा उम्मेदवारी कायम रहेका महिलालाई मत नमागेको र कानूनी अड्चन नआउनेगरी उम्मेदवारी फिर्तादेखिसम्मका भएपछि लामो संघर्षपछि प्राप्त ३३ प्रतिशत अधिकार समेत कानूनमै मात्र सीमित बन्ने भएको हो ।

वडा र पालिका अधिवेशनमा मात्रै होइन पदाधिकारीमा समेत महिला शून्यप्राय भएपछि महिलाले नेतृत्व नपाएको असन्तुष्टि यत्रतत्र पोखिए पनि जाने ठाउँ नभएको सम्बन्धीत दलका महिलाहरूको गुनासो छ ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११–१३ मा काठमाडौंमा

पुस ११ देखि १३ गतेसम्म काठमाडौं नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन हुने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सो पार्टीको पछिल्लो स्थायी समितिको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई÷दुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।

सोही बैठकले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीस्वरुप पार्टीले सांगठनिक कामलाई तीव्रता दिएको छ ।

‘माओवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयमा बाहिर सार्वजनिक भएजस्तो आफ्नो दलले उक्त विषयमा राष्ट्रिय सहमति कायम नभइकन र सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ’– बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता महराले भने ।

सोही बैठकले सांगठिन विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए । प्रदेश पदाधिकारीको टुंगो लगाउने विषयमा पनि छलफल गरिएको महराले जनाए । यस्तै सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यसँग परामर्श गरेर पदाधिकारी टुंग्याउने निर्णय गरेको पनि प्रवक्ता महराले बताए ।

‘स्थिर सरकारका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’ : डा. भट्टराई

जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकाको घैरुङमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर चाहिँ बन्न नसक्ने बताएका हुन् ।

‘संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन,’ उनको भनाइ छ– ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृृद्धि पनि हुँदैन ।’

माओवादीलगायतका दलहरूले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै डा. भट्टराईले अहिलेको संविधान पूर्ण नभएको दावी गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन । संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ ।’

वर्तमान नेपालको संघीयता आफूहरूले खोजेको जस्तो संघीयता नभएको उनको भनाइ थियो– ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, संघीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमांकन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र संघीयता होइन ।’

यस्तै अर्को प्रसंगमा हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभई पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने डा. भट्टराईको भनाइ थियो । ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔं, माओवादीको हिजोको विचारले मात्र पुग्दैन’ उनले भने– ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो ।’

‘खुद्रा छैन’ भन्दै बढी भाडा असुल्दै

वाग्मती प्रदेश सरकारले कात्तिक १ देखि लागू हुनेगरी निर्धारण गरेको न्यूनतम भाडादर कार्यान्वयन गराउनेतर्फ सरकारी अनुगमन हुन नसक्दा यातायात व्यवसायी र कर्मचारीको मिलोमतोमा मनपरी चलिरहेको यात्रुको गुनासो छ । तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको बताए पनि उनीहरूले खुद्रा छैन भन्दै यात्रुलाई ठग्ने क्रम नरोकिएको यात्रुहरूको गुनासो छ ।

पछिल्लो पटक सरकारले न्यूनतम भाडा १८ रुपैयाँ निधारण गरेपछि यातायात कर्मचारीहरूलाई खुद्रा छैन भनेर २९ रुपैयाँ असुल्न सजिलो परेको यात्रुहरूको गुनासो छ । महाशाखाका सहायक प्रवक्ता सन्तोष रोक्काले जानकारी दिएको जानकारीअनुसार २३ रुपैयाँ भाडा तोकिएका स्थानमा पनि खुद्रा छैन भन्दै सार्वजनिक यातयातका परिचालकले २५ रुपैयाँ लिने गरेको भेटिएको हो । प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा वृद्धि गर्ने निर्णय गरेपनि सार्वजनिक यातायात चार किमी दूरिमै २५ भाडा लिने गरेको यात्रुको गुनासो छ । चार किमीमा १८ भाडा सरकारले तोकेको छ ।

बढी भाडा लिएको पुष्टि हुने भएपछि यसअघि देखि नै स्थानीय मार्गमा सार्वजनिक यातायातले टिकट नदिने गर्दै आएका छन् । साझा यातायातले भने काठमाडौं उपत्यकाभित्र पनि टिकट दिने गर्दै आएको छ । तोकिएको दरभन्दा बढी भाडा लिएको गुनासो बढे पनि सरकारीस्तरबाट कुनै चासो देखिएको छैन ।

यातायात व्यवस्था विभागमा अनुगमनका लागि छुट्टै गाडी र कर्मचारीको व्यवस्था भए पनि व्यवसायीसँगको मिलेमतोमा केही नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउँछन् । वाग्मती र प्रदेश नं १ सरकारले ढल्ने निश्चित भएपछि पछिल्लो पटक यातायात व्यवसायीको प्रभावमा भाडा वृद्धि गरेर यात्रुलाई दुःख दिने काम गरेको पोखरेलको भनाइ छ । सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने जनचासोको विषय उक्त निर्णय सच्याउनु पर्नेमा नयाँ सरकारको कुनै ध्यान जान नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

संघीय सरकारले ढल्ने निश्चित भएसँगै गत असार २७ गते लामो दूरीका सवारीको भाडा बढाउने निर्णय त्यसको दुई दिनपछि असार २९ गते बनेको पाँच दलीय गठबन्धनको नयाँ सरकारले नसच्याउँदा सर्वसाधारण यात्रु मर्कामा परिरहेको यात्रुहरूको गुनासो यत्रतत्र सुनिन थालेको छ ।

उता महाशाखाले भने तोकिए भन्दा बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको बताउँदै आएको छ । महाशाखाले पछिल्लो केही दिनयता दैनिकजसो १०–१५ वटा बढी भाडा लिने गरेको सार्वजनिक यातायातलाई कारबाही गरिरहेको बताएको छ । उपत्यकाभर जुनसुकै स्थानमा भए पनि बढी भाडा लिने सवारीको नम्बर महाशाखाको टोल फ्रि नं १०३ मा टिपाए कारबाही हुने पनि सहायक प्रवक्ता रोक्काले जनाए ।