जुवाको खालबाट पूर्वमन्त्री पक्राउ

नेपाल सरकारका एक पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले पूर्वमन्त्री यादवलाई शनिबार पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जनालाई स्वयम्भूस्थित साँइली तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । खालबाटै प्रहरीले १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद गरेको प्रहरी स्रोतको भनाइ छ । पूर्वमन्त्रीसँगै विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तरकुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सविन लामा पनि पक्राउ परेका छन् ।

शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराईको नेतृत्वमा बनेका सरकारमा गरी यादव तीन पटक राज्यमन्त्री भैसकेका छन् । मन्त्री नियुक्त भएपछि घरको छतमा बसेर बन्दुक पड्काएर उनी यसअघि पनि विवादमा परेका थिए ।

आदिवासी संस्कृतिमाथि योजनाबद्ध आक्रमण : गुरुङ

नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङले नेपाली संस्कार र संस्कृतिमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् ।

‘विशेष गरेर नेपाली आदिवासी–जनजातिका कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसका विरुद्ध लाग्नु आजको आवश्यकता हो’, गुरुङले भने ।

फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. ले बिहीबार संवाद डबलीमा आयोजना गरेको ‘सम्मान तथा शुभसाइत’ कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालमा अझै सामन्तवादी संस्कृतिले जरा गाडिरहेको बताए । उनले नेपाली संस्कार र संस्कृतिमाथिको बाह्य आक्रमणलाई सामन्तवादी संस्कृतिले सहयोग गरिरहेको बताए ।

कार्यक्रममा फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘दुस्साहस’ को शुभारम्भ गरियो । दिनेश लिङ्देन निर्माता तथा निर्देशक रहेर बन्ने उक्त चलचित्रमा सोम लामा, अजय खड्का, निषा पोमु, प्रिजन श्रेष्ठ, प्रदिप योङहाङ, रुपा राना, विवेघ बेघा, कल्याण राई, उदय सुब्बा, मेहन्द्रकुमार राईलगायतका कलाकारहरुले अभिनय गर्ने जानकारी गराइयो ।

कार्यक्रममा डा. विजय लिङ्देन, कल्पना योङ्हाङ, उदय सुब्बालगयतले नयाँ बन्न लागेको चलचित्रलाई शुभकामना दिए । यसै हप्तादेखि छायांकन सुरु गरिने उक्त चलचित्रमा राजु किराती, संगीता विकास चौधरीलगायत द्वन्द्वमा भूमिकामा हुनेछन् भने ज्ञानु राईले छायांकन गर्नेछन् । चलचित्रमा समेटिने गीतमा रोशन सुवेदी, मेनुका राईलगायतले स्वर दिनेछन् ।

कार्यक्रममा छक्कापञ्जाकी निर्देशक तथा कलाकार दिपाश्री निरौलालगायतका कलाकार र समाजसेवीहरुलाई सम्मान समेत गरिएयो ।

जनसमुदायमा विप्लवको अपिल : ‘कोरोना कहर पहुँचवालाहरूकाे कमाउधन्दा’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीले आम जनसमुदायका नाममा बुधबार अपिल जारी गरेको छ । कोरोना कहरको बहानामा सरकारले मच्चाइरहेको ब्रह्मलुट र सीमा अतिक्रमणलगायतका भारतीय ज्यादतिविरूद्ध आन्दोलन घोषणा गरेको नेकपाले अपिल जारी गर्दै कोरोना कहर पहुँचवालाहरूको कमाउधन्दा बनेकोमा आपत्ति जनाएको छ ।

‘जनताका पक्षमा कुनै काम गर्नुपरे कोरोनाको कारणले हुन नसकेको बताइन्छ तर सरकार र सुुविधासम्पन्नहरूको स्वार्थ र सुविधा पूरा गर्न भने कोरोनाले कहीँकतै रोकेको छैन,’ अपिलमा भनिएको छ– ‘सरकार र सत्ताधारी पार्टीका नेताहरू राष्ट्रिय समस्याप्रति आँखा चिम्लिएर आपसी पद, कुर्सी र सुविधाको लुछाचुँडीमा व्यस्त छन् ।’ यस्ताे छ अपिलकाे पूर्णपाठ–

नेपाल कम्युनिस्ट पार्टीको अपिल

आदरणीय जनसमुदाय !

यतिबेला सिङ्गो विश्व र नेपाली जनता कोरोना महामारीको प्रभावले प्रताडित छन् तर नेपाल सरकार भने राज्यबाट पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत झन् पछि झन् पछाडि हटिरहेको छ ।

समग्र राष्ट्रिय योजना बनाएर सम्पूर्ण राज्यसंयन्त्र कोरोना महामारीविरुद्ध परिचालन गर्नुको साटो सरकारको कहिले कुनै तयारीबिना लकडाउन त कहिले अव्यवस्थित आवागमनले कोरोना नियन्त्रणभन्दा दिन–प्रतिदिन फैलँदो अवस्थामा छ ।

विदेशमा रहेका नेपालीहरूलाई सुरुमै नेपाल फर्काउन पहल नगरी पछि निकै प्रतिकूलता र चौतर्फी दबाब थपिएपछि महँगो शुल्क तिरेर नेपाल आउन पाउने मात्र होइन, नेपाल फर्किसकेपछि पनि सेल्फ क्वारेन्टाइनका नाममा होटेलमा महँगो रकम तिर्न बाध्य पारिएको छ । भारतलगायत विभिन्न देशहरूबाट स्वदेश फर्किसकेका नेपालीहरू नेपालमा रोजगारीको अभाव, राज्यको बेवास्ता र दैनिक जीविकोपार्जन गर्न नसकेर विदेशतर्फ नै फर्कन बाध्य नेपालीहरूको लस्कर र काठमाडौँ खुलामञ्चलगायत देशका विभिन्न स्थानमा छाक टार्नकै लागि लाम बसेका सर्वसाधारणको अवस्थाले वर्तमान नेपाली राज्यव्यवस्थाको वास्तविकता चित्रण गर्दछन् ।

आम श्रमिक जनसमुदाय मात्र नभई मध्यमवर्गीय समुदाय समेत कोरोनाका कारण जीवनयापनमा कठिनाइ भइरहेको अवस्थामा आमसर्वसाधारणको दिनचर्या त झनै अभावग्रस्त र कहालीलाग्दो भइसकेको छ । सरकारले यसबारे कुनै चासोसमेत राख्दैन । अनलाइन कक्षाका नाममा निजी विद्यालयहरूबाट चर्काे शुल्क लिने प्रपञ्च चलिरहेको छ । व्यापारव्यवसाय र उद्योग धराशायी भएको छ तर सरकार राहत र सहुलियत प्रदान गरी कर छुट दिनुसट्टा यस्तो अवस्थामा समेत राष्ट्रिय पुँजीपतिदेखि सामान्य व्यवसायीलाई पटकपटक कर तिर्न धम्क्याएर आतङ्कित पारिरहेको छ ।

जनताका पक्षमा कुनै काम गर्नुपरे कोरोनाको कारणले हुन नसकेको बताइन्छ तर सरकार र सुुविधासम्पन्नहरूको स्वार्थ र सुविधा पूरा गर्न भने कोरोनाले कहीँकतै रोकेको छैन । सरकार र सत्ताधारी पार्टीका नेताहरू राष्ट्रिय समस्याप्रति आँखा चिम्लिएर आपसी पद, कुर्सी र सुविधाको लुछाचुँडीमा व्यस्त छन् ।

कोरोनाको कहर कतिपय पहुँचवालाहरूका लागि भने कमाउधन्दा बनिरहेको छ । कोरोनाका नाममा कमिसन र व्यापारीकरण चलिरहेको छ । उनीहरूलाई कारबाहीको सट्टा सरकार आफैँ भ्रष्टाचार र कमिसनमा व्यस्त छ । हामी कोरोना सम्बन्धित र अन्य सम्पूर्ण भ्रष्टाचारमा संलग्नहरूलाई गम्भीर चेतावनी दिन चाहन्छौँ ।

सरकारले कोरोना सङ्क्रमण आशङ्कित सबैलाई निःशु्ल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्छ र कोरोनाबाहेकका अन्य बिरामीहरूको उपचारमा भइहेको लापरबाही अन्त्य गर्नुपर्छ र औषधीको उचित व्यवस्था गर्नुपर्छ । कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा लड्ने सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी डाक्टर, नर्स, सफाइकर्मी, सुरक्षागार्डलगायतलाई विशेष आर्थिक सुविधासहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्छ ।

काम गर्न पनि नपाउने र गाँस, बास, लुगाकपडाको व्यवस्था गर्न नसक्ने किसान, मजदुर, भूमिहीन, सुकुमबासी, रोजगारविहीन हुन बाध्य भएका र बेरोजगार परिवारको न्यूनतम् दैनिक जीवनयापनका लागि राज्यले जिम्मा लिन जरुरी छ । आयआर्जनबाट विमुख हुनुपरेको यस अवस्थामा घरभाडामा बस्नेहरूको घरभाडा मिनाहा र घरधनीहरूको घर बहाल कर मुक्त गर्नका लागि सरकारले विशेष योजना लागू गर्न अनिवार्य भएको छ ।

नेपाली भूभाग भारतीय नियन्त्रणमा रहेको विषयमा सिङ्गो राष्ट्र तथा विश्वभरका नेपाली जनताको सङ्घर्ष र दबाबसहित सरकारबाट नयाँ नक्सा प्रस्तुतिमा नै सीमित भएको छ । यस विषयमा सरकारले कुनै थप पहल गर्न सकिरहेको छैन । हालै भारतीय गुप्तचर प्रमुखसँग नेपालको प्रधानमन्त्रीलगायत विभिन्न नेताहरूसँगको गोप्य मन्त्रणाले राष्ट्रियताबारे थप आशङ्का पैदा गरेको छ । यसैबीच भारतीय स्थलसेना प्रमुखको नेपाल भ्रमण तय भएको छ ।

केही समयअघि मात्र राजनीतिक र कूटनीतिक मर्यादासमेत नाघेर नेपालको सीमा र सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिने व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ वा अपमान ? तसर्थ नेपाली राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा, अतिक्रमित नेपाली भूमि फिर्ताका लागि थप राजनीतिक, कूटनीतिक पहल र अन्तर्राष्ट्रियकरणका निम्ति विश्वभरिका नेपाली र शुभचिन्तकहरूको प्रभावकारी एकता र सङ्घर्षपूर्ण दबाब अनिवार्य छ ।

आदरणीय जनसमुदाय !

नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणका निम्ति सङ्घर्षरत हाम्रो पार्टीबाट कोरोनाका कारण उच्च किसिमका सङ्घर्षका कार्यक्रमहरू स्थगित गरेको अवस्थामा समेत सरकारले हाम्रो पार्टीका जिम्मेवार नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई समेत गिरफ्तार गर्ने, मुद्दा लगाउने, शारीरिक र मानसिक यातना दिने कार्यलाई निरन्तरता दिइरहेको छ । बिरामी राजनीतिक बन्दीहरूको उचित उपचारमा बेवास्ता गरिरहेको छ । देशको संवेदनशील क्षणमा पार्टीद्वारा प्रस्तुत संयमलाई कमजोर नठान्न चेतावनी दिन चाहन्छौँ ।

यति बेला सरकारले राष्ट्र र जनसरोकारका पक्षमा आवाज उठाउने जुनसुकै राजनीतिक शक्ति, नागरिक अगुवा, व्यक्तित्व र जनसमुदाय सबैप्रति दमनको नीति अपनाइरहेको छ । दमनले प्रतिरोध र हिंसाले प्रतिहिंसा जन्माउँछ भन्ने कुरा आधारभूत ऐतिहासिक सत्य हो । सरकारको यस किसिमको रबैयाले आमजनसमुदाय फेरि सङ्घर्षमा उत्रिन बाध्य छन् ।

नेपाली राष्ट्रियताको रक्षा, जनतन्त्र र जनजीविकाको विषय कुनै एक व्यक्ति वा राजनीतिक दलको सरोकारको विषय नभई सम्पूर्ण देशभक्त, प्रगतिशील नागरिकहरूको साझा दायित्व हो । तसर्थ यस महत्वपूर्ण अभियानमा आआफ्नो स्थानबाट साथ, सहयोग र सहभागिताका लागि सम्पूर्ण राजनीतिक शक्ति, देशभक्त, श्रमिक, किसान, व्यवसायी, बौद्धिक व्यक्तित्वहरू र आमसमुदायमा हार्दिक अपिल गर्दछौँ ।

नाराहरूः
आम नागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर ।
कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर ।
भ्रष्टाचारीलाई कारबाही गर ।
भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर ।
कालापानीबाट भारतीय सेना फिर्ता जा ।
नेपाली सार्वभौमिकताको सम्मान गर ।

नेपाल कम्युनिस्ट पार्टी
केन्द्रीय समिति

नयाँ अर्थमन्त्री पौडेलका के–के छन् चुनौती ?

२०७२ मा संविधान जारी भएपछि भारतीय नाकाबन्दीका दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो र खड्ग ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले । विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था दशक यताकै सबैभन्दा बढी थलिएको परिस्थितिमा राम्रो छवि बनाएर निस्किए पौडेल ।

ओलीकै सरकारमा ५ वर्षपछि पौडेलले पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । तर, महामारीले अर्थतन्त्र धराशायी भएको पहिलेझैंकै चुनौतीपूर्ण कालखण्डमा । कोभिड– १९ ले दुई दशक यताकै खराब अर्थव्यवस्था सम्हाल्नुपर्ने जिम्मेवारी पौडेलको काँधमा आइलागेको छ । शैक्षिक योग्यता, आर्थिक क्षेत्रको विज्ञताजस्ता विषयलाई देखाउँदै उतिबेला धेरैले उनीमाथि अर्थ मन्त्रालय हाँक्न नसक्ने आशंका गरेका थिए । परिणाम ठीक उल्टो आयो । भूकम्पपछि ०.२ प्रतिशतमा झरेको आर्थिक वृद्धिदरलाई उनले ७.७४ प्रतिशतमा पुर्‍याएका थिए ।

पौडेल राजनीतिक समीकरण मिलाउन निकै सिपालु नेताका रूपमा चिनिन्छन् । रूपन्देहीमा तत्कालीन एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई हराएपछि उनी चर्चामा आएका थिए । नेकपामा महासचिवजस्तो उच्च पदमा रहेका पौडेललाई राजनीतिक सहजीकरणमा खासै समस्या पर्दैन । यसअघि संकटकै समयमा अर्थमन्त्री भइसकेको अनुभव र सिकाइले पनि उनलाई साथ दिनेछ ।

पूर्ववर्ती अर्थमन्त्रीहरूले गरेका गल्ती सच्याउनु नै नवनियुक्त अर्थमन्त्रीको चुनौती रहेको पूर्वअर्थमन्त्री डा. रामशरण महत बताउँछन् । उनले भने– ‘मितव्ययिताको नारा दिएको सरकारले फजुल खर्च रोक्न सकिरहेको छैन, बजेट खर्च निराशाजनक छ, पौडेलजीले यसलाई सुधारेर मुलुकको अर्थतन्त्रलाई सहीरूपमा लैजानुपर्छ ।’

जथाभावी भइरहेको प्रशासनिक खर्च कटौतीमा अर्थमन्त्री निर्मम हुनु जरुरी रहेको महतको भनाइ छ । आर्थिक संकटका बेला सार्वजिक खर्च पुनरावलोकन आयोगले दिएका सुझाव अक्षरशः पालना गर्न अर्थमन्त्री हिचकिचाउनु हुँदैन । ‘स्थानीय तहले गर्ने कतिपय काममा संघीय सरकारबाट हस्तक्षेप हुँदा शक्तिसन्तुलनमा असर परेको छ, यसलाई पनि अर्थमन्त्रीले मिलाउन सक्नुपर्छ’– डा. महतले भने ।

अहिले औद्योगिक, व्यापारिक र सेवा क्षेत्र पूर्णरूपमा संकटग्रस्त छ । कोरोना संक्रमणको अन्योलले निजी क्षेत्रको मनोबल पूर्णरूपमा कमजोर भएको छ । लकडाउन र निषेधाज्ञा खुले पनि निजी क्षेत्रको संकटलाई त्राण दिन निकै कठिन छ । लामो समयको आर्थिक क्रियाकलापको संकुचनले बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्थामा निजी क्षेत्र छन् । उनीहरूले राहत प्याकेज माग गरेका छन् ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको ‘अरूको कुरै नसुन्ने’ प्रवृत्तिले असन्तुष्ट निजी क्षेत्रमा भने पौडेलको आगमनले उत्साह थपेको छ । अर्थमन्त्री पौडेल निजी क्षेत्रप्रति निकै उदार रहेको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् । उनी भन्छन्– ‘यस्तो संकटका बेला अर्थमन्त्री हुनुभएको छ, उहाँसँग धेरै ठूलो अपेक्षा त गर्न सकिएन तर पहिले पनि अर्थमन्त्री भइसक्नु भएकाले उहाँको निजी क्षेत्रसँगको व्यवहार राम्रो छ, व्यवसायीको कुरा सुन्नुहुन्छ ।’

कोभिडले कमजोर बन्दै गएको निजी क्षेत्रको मनोबल बढाउनु नवनियुक्त अर्थमन्त्रीको चुनौती रहेको उनको भनाइ छ । मुरारका भन्छन्– ‘खासगरी सानो पुँजीका साना तथा मझौला उद्योगी–व्यवसायी, जो नीतिगत सहजीकरणको माध्यमले पनि उकासिन गाह्रो छ, त्यस्तो समूहलाई तत्काल राहतको प्याकेज ल्याएर उतार्नुपर्ने चुनौती उहाँसामु छ ।’

नवनियुक्त अर्थमन्त्रीका विशेषता, दक्षता र वर्तमान अर्थतन्त्रका चुनौतीसम्बन्धी यो खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

गायक प्रेमराजा दम्पतीलाई नै कोरोना

परिवारसहित लामो समयदेखि अमेरिका बस्दै आएका गायक प्रेमराजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ । महतले आफ्नै फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

प्रेमराजाले हाल आफूहरु घरको कोठाभित्रै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । आफूहरु चिकित्सक समेत रहेका छोरा सरगमको स्वास्थ्य निरीक्षण र निगरानीमा रहेको उनले जनाएका छन् ।

अमेरिकाको बाल्टिमोरमा व्यवसाय सञ्चालन गर्दैआएका गायक महत अमेरिकाका लागि नेपाली महावाणिज्यदूत पनि हुन् । यस्तो छ, गायक महतले ‘फेसबुक’ मा लेखेको ‘स्ट्याटस’ जस्ताको तस्तै–

समुदायका सम्पूर्ण दिदीबहिनी–दाजुभाइ तथा इष्टमित्रहरूमा हार्दिक अपिल । यदि हामीले समयमै सतर्कता अपनाएनौं भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउनेवाला छैन । ध्यान राख्दाराख्दै दुर्भाग्यवश हामी श्रीमान्–श्रीमती पनि यसबाट बच्न सकेनौं । हामी अहिले आफ्नै घरका एक–एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं ।

यदि हाम्रो परिवारबाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि शर्म नमानीकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु । इमानदारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ । जय पशुपतिनाथ !

नेपालका चर्चित लोकगायक दम्पतीलाई विदेशमा कोरोनाले समाएको यो खबर अन्नपूर्णपोस्ट अनलाइनमा प्रकाशित छ ।

कोरोनाबाट ११७ नेपालीको विश्वभर मृत्यु, १२,८११ जना संक्रमित (कहाँ कति ? विवरणसहित)

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणले शनिबार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोनाका कारण यो साता थप २१ जना नेपालीले ज्यान गुमाएका छन् ।

संघका अनुसार युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा १८ जना नेपालीको निधन भएको छ । त्यस्तै, कोरोनाभाइरसका कारण संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेरसमूहमा सबैभन्दा धेरै (५३ प्रतिशत) को निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांकअनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेरसमूहका छन् । ४० वर्षभन्दा कम उमेरसमूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ, बाँकी ८ प्रतिशतको उमेरसमूह खुलेको छैन ।

संयोजक डा. सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोनाभाइरसबाट मुक्त भएको जानकारी सापकोटाले दिएका छन् । अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९ सय ११, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय ३०, साउदी अरबमा १ हजार ३ सय ६४, नेपालमा ५ सय ८५, युएईमा ५ सय, बहराइनमा ३ सय ११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङकंङमा २, पोल्याण्डमा २, रुसमा २, म्यानमारमा १, रोमानियामा १ र फ्रान्समा १ नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

राजधानीमा ७६७ सहित थप १३२५ मा कोरोना : ४११ को मृत्यु, ६४१२२ संक्रमित, ४६२३३ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६४१२२ पुगेको छ । यीमध्ये ४११ जनाको मृत्यु भैसकेको छ भने ४६,२३३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १७,४७८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी राजधानी उपत्यकामा ७६७ सहित देशभर थप १,३२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९,५८४ जनाको पीसीआर परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुष गरी १,३२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ९६६ जना डिस्चार्ज भएका छन् । यो २४ घन्टामा काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुष; ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिला गरी राजधानी उपत्यकामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यतिबेलाका सक्रिय संक्रमितमध्ये ९,०७१ जना संस्थागत आइसोलेसनमा र ८,४०७ जना होम आइसोलेसनमा रहेको प्रवक्ता प्राडा गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् ब्रिफिङको विवरण–

https://www.facebook.com/mohpnep/videos/366175971424205/

पहिलो किस्ता लिएर घर बनाउन नसक्ने भूकम्पपीडितलाई खुशीको खबर !

पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न शुक्रबार सम्झौता गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि धादिङका धुनीवेँसी, नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाका लाभग्राहीले बैंकको नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियतदरमा भूकम्पपीडितले घर कर्जा पाउने छन् ।

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले आर्थिक अभावले घर बनाउन नसकेकालाई सहजीकरण गर्ने र अन्यत्र घर भएका वा घर आवश्यक नभए पनि किस्ता लिएकालाई कारवाही प्रक्रिया अघि बढाइने बताए । पहिलो किस्ता पाएर पनि घर बनाउन शुरु नगर्नुका कारण आर्थिक अभावले नै गर्दा हुनसक्ने उहाँको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले विभिन्न कार्यक्रममार्फत लक्षित वर्गलाई सहुलियत कर्जा प्रवाह गरिरहेको बताए । सहुलियत कर्जाबाट धेरै महिला उद्यमी लाभान्वित भएका उहाँको बताए। सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता दाहालले यो सम्झौताले भूकम्पपछिको पुनःनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

साथै, प्रदेश नं २, प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाकोषको भुक्तानी बैंकमार्फत गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ ।